राप्रपा फुटाएर नयाँ राप्रपा बनाउँदैछन् पूर्वराजा ज्ञानेन्द्र  ?

५ बर्ष अगाडि

काठमाडौं– वर्ष २०७४ को अन्तिममा  झापामा  रहेर राप्रपाका दोस्रो तहका नेतासँग समेत अर्थपूर्ण भेट गरेर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय निर्मल निवासमा बसिरहेका छन् । निर्मल निवासमा पूजापाठ, अध्ययनका साथै  राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दै शाहले दिन बिताउँदै आएका छन् ।   
  तत्काल कुनै औपचारिक कार्यक्रम नभएका उनको दैनिकी  निवासमै योग ध्यानका साथै पूजापाठ, अध्ययनमा बित्ने गरेको पूर्वराजाका संवाद डा. सचिव फणि पाठकले बताए  । 
पूर्वराजाले वर्तमान राजनीतिक घटनाक्रमलाई पनि नियालिरहेको तर उनको राजनीतिमा आउने कुनै  योजना नरहको बताउँदै पाठकले  पछिल्लो समय पूर्वराजाले राजावादीहरुलाई समेटेर पार्टी खोल्नमा सहयोग  गरेको भन्ने हल्लाहरुको  कुनै सत्यता नरहेको बताए । 
‘देश विखण्डनको बाटोमा नजाओस्, राष्ट्रियता बलियो होस् र देशमा समृद्धि होस् भन्ने पूर्वराजाको जोड छ ’, पाठकले भने, ‘  पूर्वराजाको राजनीतिमा लाग्ने कुनै योजना छैन र राजनीतिक समर्थन पनि कसैलाई रहँदैन । ’
पूर्वराजाले  तीन ओटै राप्रपाका  नेताहरुलाई मिलाएर बुद्धिमान तामाङको नेतृत्वमा   नयाँ राप्रपा गठनको पहल गरिहरेको भन्नेसम्मका समाचार आइरहेको बेला पाठकले त्यसको कुनै सत्यता नरहेको समेत बताए । 
उनले भने, ‘कुनै पनि दलविशेषलाई मिलाउने या फुटाउन  पूर्वराजा लागिबक्सेको  छैन ।  न यसको कुनै परिकल्पना  नै उहाँबाट भएको छ ।  पूर्व श्री ५ लाई जोडेर किन गलत प्रचार भइरहेको छ हामी नै अचम्मित भएका छौं ।’
उनले झापामा  पूर्वराजाबाट सबै राजनीतिक दलका प्रतिनिधि र लब्धप्रतिष्ठित व्यक्तित्वहरुसँग भेटेको साँचो भएपनि  कुनै पार्टीलाई एकताबद्ध गराउने या फुटाउने उद्देश्य नभएको बताए । 
फागुन २० देखि चैत २५सम्म झापामा रहँदा पूर्वराजाले कमल थापा नेतृत्वको राप्रपाका बुद्धिमान तामाङ, भास्कर भद्रा र प्रल्हाद शाह ,  पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुन लावती , डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुँईटेल र डा. सुष्मा आचार्यलगायतलाई भेटेका थिए । 
पूर्वराजाले आफ्नो औपचारिक कार्यक्रमका साथै वक्तब्यहरुमा राष्ट्रियता बलियो हुनुपर्ने, आर्थिक समृद्धि हुनुपर्नेलगायतका धारणा राख्दै आएका छन् । यस्तै उनले  आफूले राजगद्दी छाडेपछि  राजनीतिक दलहरुदले जनताको चाहनाअनुसार काम नगरेको भन्दै असन्तुष्टि समेत जनाउँदै मात्रै आएका छैनन् राष्ट्रिय अस्तित्व क्षतविक्षत हुने अवस्थामा पुगेका समेत बताउँदै आएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया