पटक पटक म्याद सार्दै आएको 'अपर नौगाड दोस्रो जलविद्युत्' उत्पादनको अन्तिम चरणमा

४ बर्ष अगाडि

काठमाडौं –  नौगाड गाउँपालिकामा निर्माणाधीन 'अपर नौगाड दोस्रो जलविद्युत् आयोजना' उत्पादनको अन्तिम तयारीमा पुगेको छ । 

आठ मेगावाट क्षमताको अपर नौगाडमा डेढ महीनाभित्रै विद्युत् उत्पादनको तयारी भएको छ । गत साउनमा आएको बाढीका कारण झण्डै दुई महीना ढिलो भएको हो ।

‘अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको अपर नौगाड जलविद्युत् दोस्रोको काम अन्तिम चरणमा पुग्दैछ,’ आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले भने, ‘पेनस्टकको अधिकांश काम पूरा भएको छ, पावरहाउसभित्र मेसिन जडान र सर्जट्यांक निर्माणकार्य भइरहेको छ ।’

उनका अनुसार पहिलो टेस्टिङ एक यो महीनाभित्र हुन्छ, उनले भने, ‘दुवै सञ्चालन गर्न दुई महीना समय लाग्छ ।’ २०७५ साउनमा नौगाड खोलामा आएको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । आयोजनाका अनुसार बाढीका कारण झण्डै रु १० करोड बराबरको क्षति भएको छ ।

नौगाड गाउँपालिकाको वडा नं ६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको पावरहाउसमा खसालिनेछ । पाइपलाइन (पेनस्टक)को लम्बाइ ५ किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु भएको अपर नौगाड जलविद्युत् आयोजनाको लागत रु एक अर्ब ४४ करोड रहेको छ ।

अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिकाको वडा नं १ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि नौ किलोमिटर लामो ३३ केभिए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।

अपि पावर कम्पनी लिमिटेडले यसअघि नगरपालिकाको वडा नं २ मा ८ दशमल ५ मेगावाट क्षमताको नौगाड प्रथम जलविद्युत् आयोजनाको निर्माण गरेको छ । नौगाड प्रथम जलविद्युत् आयोजना १८ महीनामै निर्माण सम्पन्न भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया