सशस्त्रका आइजीपीलाई बिचौलिया प्रिय,कमिशन नदिनेलाई स्पष्टीकरणको बर्षा

४ बर्ष अगाडि

काठमाडौं – सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले आफूलाई कमिसन नदिने गरेपछि, तालिम केन्द्रका प्रमुख र सीमा सुरक्षा कार्यालयका प्रमुखलाई हदै दुःख दिने गरेका छन् । घटना केही दिनअघिको हो, उनी विनासूचना बिचौलिया सुवास राईसहितको टोली लिएर ककनी तालिम केन्द्रमा गएका थिए । स्रोतका अनुसार, ककनी तालिम केन्द्रका प्रमुख एसएसपी गणेश ठाडामगर तालिम लिइरहेकाहरूलाई लिएर फिल्डमा गएको बेलामा आइजीपी खनाल पुगेछन् । तालिम केन्द्र पुग्दा एसएसपी मगर नभएपछि उनले मेस निरीक्षण गरे । निरीक्षणका क्रममा उनले ‘यस्तो फोहोर किन गरेको’ भन्दै हप्कीदप्की गरे । र, फर्किएका थिए । 

आइजीपी आउने सूचना पाएको भए एसएसपी मगर पक्कै पनि तालिमेहरूलाई लिएर बाहिर निस्कँदैनथे होलान् । हल्चोक मुख्यालयमा फर्किनासाथ उनले एसएसपी ठाडामगरलाई लगातार स्पष्टीकरण सोध्न थाले । तीन पटक स्पष्टीकरण सोधेर नसिहत दिने तयारी नै गरिसकेका थिए । तर, एसपी मगरलाई अनाहकमा प्रतिशोधको भावनाले स्पष्टीकरण सोधिएको कुरा गृहमन्त्री रामबहादुर थापासमक्ष पुग्यो । गृहमन्त्री थापा र सचिव प्रेमकुमार राईले आइजीपी खनाललाई एसएसपी मगर तालिम केन्द्रकै काममा बाहिर गएको बेला निरीक्षणमा गई सामान्य त्रुटि देखाएर स्पष्टीकरण नसोध्न निर्देशन दिएपछि उनी नसिहत पाउनबाट जोगिएको स्रोतले बताएको छ । 


किन सोधियो स्पष्टीकरण ?

सशस्त्रका आइजीपी खनालले पद सम्हालेपछि सशस्त्रका सरुवा बढुवादेखि मिसनमा खटाउँदा पनि मेरिटका आधारमा नपठाएकोमा चरम असन्तुष्टी छ । प्राविधिकहरूको पदरिक्त भएको महिनौंसम्म पनि बढुवा नगरी उनले वृत्तिविकासमै असर पारेको कुरा त बाहिरिसकेको छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिज भानु देउवाका ज्वाई दीपेन्द्र कुँवरलाई मेरिटमा १ सय २ नम्बरमा भए पनि मिसनमा पठाए । तर मेरिटमा २ नम्बरमा परेकालाई नपठाई १ सय २ मा पठाएर मात्र नपुगी कुँवरलाई कनिष्ट भए पनि एसपी बढुवा गरे । जुन बढुवाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परी बढुवा रोक्न आदेश भइसकेको छ ।

सशस्त्रमा एकपछि अर्को गरी विभेद र पक्षपात गर्दैआएका उनले गण, सिसुका र तालिम केन्द्रबाट मासिक रुपमा कमिसन नदिने इन्चार्जलाई दुःख दिने गरेका छन् । त्यसकै निरन्तरता हो, ककनी तालिम केन्द्रका प्रमुख एसएसपी ठाडामगरमाथि सोधिएको स्पष्टीकरण । ककनी तालिम केन्द्रमा तालिमेहरूलाई बिदा छाड्दा रासनबापत अलि अलि हुने फाइदाको हिस्सा आशा गरेका आइजीपी खनालले त्यो नपाएपछि विनासूचना निरीक्षणमा गए । र, स्पष्टीकरण सोधिहाले । 

अर्को कारण, आइजीपी खनालका बिचौलिया सुवास राईले ककनी तालिम केन्द्रमा एसएसपी मगरका बिरुद्ध उनलाई उकासेको स्रोत बताउछ । स्रोतका अनुसार, सुवास राईले साथीभाइसहित पटकपटक ककनीमा जाने र सुत्न तारागाउँको होटल र खाने बस्ने ह्वीस्कीसहित तालिम केन्द्रमा गर्न दबाब दिने गरेका थिए । त्यो ब्यवस्था नगरेपछि राई पनि एसएसपी मगरसँग रुष्ट थिए । त्यही भएर तिनै बिचौलिया राईलाई लिएर ककनी तालिममा गएका आइजीपी खनालले फर्किनासाथ स्पष्टीकरण सोधेका थिए । साँघु साप्ताहिकले खबर छापेको छ । 

बिचौलियाको घेरामा आइजीपी

सशस्त्र प्रहरी बलमा बिचौलियाहरूको बिगबिगी छ । सशस्त्रमा बिचौलियाले आइजीपीलाई चलाउने गरेका छन् । संगठन प्रमुखले बिचौलियाहरूलाई च्यापेको देखेर सशस्त्रका उच्च अधिकारी नै लज्जित हुने गरेका छन् । आइजीपी शैलेन्द्र खनालको सचिवालयदेखि निवाससम्म बिचौलियाहरूको हालीमुहाली छ । त्यसमध्येका एक हुन्, सुवास राई । उनी ब्रिटिश आर्मीका पूर्व सहायक हवल्दार हुन् । सुशील कोइराला नेपाली कांग्रेसको सभापति भएको बेला उनी पार्टी कार्यालयमा कर्मचारी थिए ।

सशस्त्रका पूर्वआइजीपी दुर्जकुमार राईका गाउँले भतिजा पर्ने हुन् । राईलाई सुशील कोइरालासँग भेट गराएबापत उनी आइजीपी भएपछि सशस्त्रका सरुवा बढुवा र ठेक्कापट्टा मिलाउने गर्न थाले । दुर्ज राईका पालामा शैलेन्द्र खनाल छायाँ आइजीपी जस्तै थिए । राईले उनलाई पनि सुशील कोइरालादेखि विभिन्न नेताकोमा लगेर मन जितेका थिए । त्यही भएर खनाल आइजीपी भएपछि उनको आउजाउ सशस्त्र मुख्यालमा बाक्लै छ । उनी खनालसँग एउटै गाडीमा घुमफिर समेत गर्ने गर्दछन् । राईले अहिले पनि सशस्त्रका गाडी प्रयोग गर्ने गरेको स्रोत बताउछ । सरुवा बढुवादेखि ठेक्कामा पनि उनको चासो रहने गरेको छ । लेखाबाट उनले बिलमात्र दिएर पनि एक दुई लाख भुक्तानी लिने गरेको आरोप छ ।   

बिचौलियाको प्रभाव यति छ कि आइजीपी खनालले उनीहरूलाई सवारी चालक र घरमा काम गर्न फलोअर्स समेत खटाएको स्रोतले बताएको छ । स्रोतका अनुसार नरेश भट्ट र सुरज अधिकारी नामका बिचौलियालाई आइजीपी खनालले सशस्त्र प्रहरी बलका चालक दिएका छन् । 
सशस्त्रको तलव खाने चालकमात्र होइन, भट्टको घरमा काम गर्न फलोअर्स पनि पठाएको कुरा सार्वजनिक रुपमा संचारमाध्यममै आएको छ ।

भट्ट र अधिकारी प्रायः आइजीपी खनालको निवासदेखि सचिवालयमै देखिने गरेका छन् । अधिकारी आफूलाई वाइसीएलको नेताका रुपमा चिनाउने गर्दछन् । स्रोत भन्छ, ऊर्जामन्त्री बर्षमान पुनदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहालको समेत नाम लिंदै उनी सशस्त्रमा हैकम जमाउनेमा पर्दछन् । उनले एसपी, एसएसपीसम्मलाई निर्देशन नै दिएर हैरान पार्न थालेका छन् । अधिकारीले सशस्त्रमा सरुवा बढुवामा गृह मन्त्री थापाका छोरा प्रतीकको नाम लिएर चलखेल गर्दैआएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया