सन्दीपको जादु

४ बर्ष अगाडि

काठमाडौँ –  इन्डियन प्रिमियर लिग (आइपिएल)को दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जाबबीचको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो जादुमय बलिङ प्रदर्शन देखाए । 

नयाँ दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा उनले आक्रमक ब्याटिङमा उत्रिएका पन्जाबका तीन शक्तिशाली ब्याट्सम्यानलाई आउट गर्दै जादुमयी प्रदर्शन गरेका हुन् ।

को को भए आउट ?

लोकेश राहुलको विकेट
दिल्लीका लागि दोस्रो ओभर बलिङ गरेका लामिछानेले चौथोँ बलमा ओपनर लोकेश राहुलको विकेट लिए । १२ रन बनाएका राहुलले उनको यो ओभरको पहिलो बलमा नै छक्का हानेका थिए । यसको बद्ला लिँदै लामिछानेले चौथोँ बलमा राहुललाई विकेट किपर रिसभ पन्तबाट स्टम्पिङ गराएका थिए ।

क्रिश गेलको विकेट,जुन रोचक रह्यो

सन्दीपको दोस्रो ओभर भने खराब रह्यो । वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिश गेलले उनको ओभरमा चार चौका प्रहार गरे । गेलको विकेट लिन भने सन्दीप नै बलिङमा आउनु पर्‍यो । विष्फोटक ब्याटिङका लागि चिनिएका गेलले २५ बलमा नै अर्धशतक पूरा गरे भने ३७ बलमा ६९ रन बनाए ।

खेलको तेह्रौं ओभरमा सन्दीप फेरि बलिङमा आए । यस पटक पहिलो बलमा गेलले उनलाई छक्का प्रहार गरे । यसपछि दोस्रो बलमा सन्दीपले सम्झन योग्य विकेटमा गेललाई आउट गरे । जुन रोचक रह्यो । सन्दीपको बलमा अर्को छक्का हान्न खोजेका गेल त्यो बल कोलिन इन्ग्रामको हातमा आइपुग्यो । तर बाउन्ड्री नजिकै रहेका इन्ग्राम सम्हालिन सकेनन् । बल हावामा फालिदिए र आफू बाउन्ड्री बाहिर ढल्न पुगे । इन्ग्रामले फालेको बललाई अक्सर पटेलले क्याच गरेपछी गेल आउट भएका थिए ।

साम कुरानको विकेट 
ओभरको अन्तिम बलमा साम कुरानलाई आफैं क्याच गरेर सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिएका थिए । 


अन्तिम बलमा मन्दीप सिंह धरापमा

पन्ध्रौं ओभरमा अन्तिम बलिङ गरेका लामिछानेको बलबाट मन्दीप सिंह धरापमा परेका थिए । लामिछानेको बलमा ठुलो सट खेल्न खोजेका सिंहको क्याच कासिगो रबदाले उम्काए । लामिछाने चौथोँ विकेटको अवसरबाट बञ्चित रहे । लामिछानेले आफ्नो चार ओभर बलिङ गर्दा ४० रन खर्चिएर ३ विकेट लिएका हुन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया