अर्थमन्त्रालयमा ज्वाई ससूराको यस्तो धन्दा, नेकपाका नेतालाई डा.खरेलले प्रहरी लगाएर गलहत्याउनु नपरोस् भन्दै थर्काउछन्

५ बर्ष अगाडि

काठमाडौँ – कसलाई के धन्दा घरज्वाईलाई खानकै धन्दा भन्ने नेपाली उखान यतिखेर अर्थमन्त्रालयमा चरितार्थ भएको छ ।

नेपाल राष्ट्र बैंकका निर्देशक पदका जागिरे भएपनि ससूरा मन्त्री भएपछि इन्द्रेको बाउ चन्द्रे आएपनि कसको के लाग्दो रहेछ र । डा. रामशरण खरेल नामका व्यक्ति नेपाल राष्ट्र बैंकका निर्देशक हुन् । तर उनी यतिखेर अर्थ मन्त्रालयमा मन्त्री भनेकै म हुँ । डा. युवराज खतिवडा भनेकै म हुँ भन्ने शैलीमा सत्तारुढ दलका नेता तथा कार्यकर्तालाई व्यवहार गरेर बसीरहेका छन् । राजनीतिमा टुप्पाबाट पलाएर डा खतिवडाको कुनै सोमत नभएको भन्दै नेकपा भित्र चर्को आलोचना छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले कुन प्रयोजनाका लागि उनलाई त्यहाँ राखी रहेका छन् । धेरै मान्छेले यो कुरा बुझ्न सकेका छैनन् । नेकपाको सरकार गठन भएको लामो समय भयो । तर जनताले देख्ने र महसुस गर्ने गरी कुनै काम हुन सकेको छैन । सरकारको काम गर्ने शैली विगतको त्रिशंकु सरकारको भन्दा फरक छैन । तर अर्थ मन्त्रालयमा बसेर राज्यको ढुकुटी चलाउने डा. खतिवडा नेतृत्वले न त राजश्व उठाउन सकेको छ । न त खर्च नै गर्न सकेको छ । केवल दिन कटाउने र भक्ता कटाउने भन्दा  अरु कुनै पनि काम हुन सकेको छैन ।

प्रसंग हो , आगामी आर्थिक वर्षको बजेट निर्माणको । सरकार नयाँ आर्थिक वर्षको बजेट निर्माणका लागि जुटेको छ । बजेट निर्माणको समयमा नेता तथा कार्यकर्ताले आफ्नो क्षेत्रमा बजेट पारिदिन मन्त्री तथा उनका सहयोगी समूहलाई आग्रह गर्नु अन्यथा हुँदैन । तर अर्थमन्त्रालयमा बसेर हालीमुहाली सधै गर्न पाइन्छ भन्ने जस्ता सोच राखेका डा खरेलले नेकपाका नेता तथा कार्यकर्तालाई नै सोतेलो व्यवहार गरेका छन् । उनले अर्थ मन्त्रालय विधिमा चल्छ, अर्थमन्त्री ज्यूले विधि बसाल्न लाग्नु भएको छ भन्दै मन्त्री भेटन खोज्ने नेता तथा कार्यकर्तालाई भेट्नै नदिने र निवेदन लेखेको भरमा योजना नमिल्ने भन्दै थर्काएर पठाउने गरेका छन् । उनले अर्थ मन्त्रालयमा पटक पटक आए प्रहरी लगाएर गलहत्याउने सम्मको धम्की दिने गरेका छन् । उनले अर्थ मन्त्रालयमा पटक पटक एउटै व्यक्ति देख्दा मलाई समेत नराम्रो लागेको भन्दै दूरुदराजका नेता तथा कार्यकर्ताको भावना माथि खेलबाड गर्ने गरेका छन् । उनले निवेदन लिएर अर्थमन्त्रीलाई अनुहार देखाउन मात्रै नआउन चेतावनीको शैलीमा प्रस्तुत हुने गरेका छन् ।

सधै बैठक र  व्यस्तको बोर्ड राखेर अर्थ मन्त्रालयको कार्यकक्षमा विदेशी पत्रिका मात्रै पढेर बसेका डा खतिवडाले पश्चिमा देशका भने जो आएपनि सहजै भेट गर्ने गरेका छन । उनले आफू प्रधानमन्त्रीप्रति मात्रै जिम्मेवार रहेको र नेता तथा कार्यकर्तालाई समय दिनुपर्छ, उनको कुरा सुन्नुपर्छ भन्ने समेत नलागेको भन्दै होच्याउने गरेका छन् ।  ओलीको आर्शिवादका कारण पटक पटक लाभको पदमा बसेका र विशेष गरी पश्चिमाहरुको कार्यकर्ता भन्दा माथि उठन नसकेका डा. खतिवडाले नेकपाको सरकारलाई करिब करिब असफल बनाइदिएका छन् ।

टुप्पाबाट पलाएकालाई कार्यकर्ताको दुःख केहो, जनताको दुःख के हो, जनताको आवश्यकता के हो भन्ने कुराको कुनै ख्याल हुँदैन । त्यस्तै भएको छ अर्थ मन्त्रालय यतिखेर आम मानिसका लागि । नाम फरक छ, जात फरक छ, तर डा रामशरण महत र डा युवराज खतिवडाको पार्टी फरक होला तर व्यवहार भने उस्तै रहेको छ । दर्शन एउटै छ पूँजीवाद, निजीकरण, उदारीकरण र दलालीकरण । डा महत र डा खतिवडामा केही फरक छैन । उनले मन्त्रालयमा राखेका भुइफुट्टाहरुले सरकारलाई त असफल पारे नै कम्युनिस्ट पार्टीलाई समेत असफल पारेर छाडिदिएका छन् । सरकार असफल पार्न सके एशियाली विकास बैंक वा विश्व बैंकको निर्देशक पदको जागिर सुरक्षित राखेका डा खतिवडालाई नेपाली जनता र राजनीतिसँग कुनै लेना देना छैन ।

राष्ट्रियसभामा जस्केलाबाट छिरेका डा. खतिवडाको कार्यकाल दुई वर्षको हो । एक वर्ष भन्दा बढी समय बितिसेकेका छ । बाँकी रहेको समय पनि उनलाई केही गर्नु छैन । नयाँ कार्यक्रम ल्याउनु छैन, भएको बजेट पनि खर्च गर्नु छैन । अर्थात् भए पनि के नभए पनि के भन्ने मानसिकताले काम गरेको छ । डा. खतिवडाको ज्वाई ससूरा कम्पनीले सरकार र पार्टी के कसरी असफल बनाउन सकिन्छ भन्ने ध्येय मात्रै राखेको जानकारहरुको भनाइ छ ।

बजेट माग्न आएका नेता कार्यकर्तालाई अपमान गर्ने, उनीहरुको कुरै नसुन्ने तथा कुनै पनि सकारात्मक व्यवहार नै नगर्ने प्रवृत्तिका धनी ज्वाई ससूराको व्यवहारका कारण धेरै मानिस आहत भएका छन् । भुक्तभोगीहरु भन्छन् जति दिन उनीहरुलाई अर्थ मन्त्रालयको सोचा सुम्पन्छौ, त्यत्ति नै दिन नेपाली जनताले थप दुःख हैरानी र परेसानी भन्दा अरु केही पनि भोग्नुपर्ने छैन् ।

सरकारका हरेक आर्थिक उपसूचक खराब छन् । अर्थतन्त्रको आधार बन्न सकेको छैन । नारामा समाजवाद भएपनि व्यवहारको त्यसको कुनै झल्को समेत भेट्टाउन सकिएको छैन । व्यवहार हेरौ भने चरम अराजक छ । कार्यशैली सामन्तवाद भन्दा फरक छैन । सरकार दुई तिहाईको भन्दै गफ लगाएको भरमा नेपाली जनताले केही पनि नपाउने अवस्था सिर्जना भएको छ । राजश्व उठेको छैन । चालु आवको नौ महिनासम्ममा विकास निर्माणको खर्च मात्रै ३० प्रतिशतको हाराहारीमा मात्रै रहेको छ ।

विकास खर्च नहुने, कुनै पनि आयोजनामा ध्यान नदिने तथा दिए पनि ओलीले भनेका मात्रै गर्ने गरेका डा खतिवडाले सरकारालाई तन्न्म बनाएर छाडिदिएका छन् । उनले दुई वर्ष पछि जागिर खान पाइने हो कि होइन भन्दै मन्त्रालयमा विशेष गरी पूर्व माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई त प्रतिबन्ध नै लगाएका छन् । उनले नेपाली जनताको हितमा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा रमाएकालाई मात्रै सेत उपलब्ध गराउने गरेका छन् । उनले कुनै पनि कामलाई जिम्मेवारीपूर्वक लिने र गर्ने गरेका छैनन् । शेयर बजार उनै खतिवडाले डुबाए । अर्थतन्त्र धरासायी बनाए तर ओली उनलाई नै बोकेर हिडेका छन् । जसका कारण नेपाली जनताको चाहना र आवश्यकत माथि उनले कुनै जिम्मेवारी नै लिनु नपर्ने जस्तो व्यवहार गरिएको छ ।

उता राष्ट्र बैंकका अन्य उच्च अधिकारीलाई समेत डा. खतिवडाका ज्वाई डा. खरेलले थर्काउने,धम्क्याउने गरेका छन् । नपाउनेले केरा पायो बोक्रै समेत चपायो भने जस्तै डा. खतिवडा र उनका ज्वाईको चर्तीकलाका कारण लामो समयपछि गठन भएको स्थिर सरकार समेत असफल हुने देखिएको छ । राजनीतिक विश्लेषकहरुका अनुसार सरकरालाई सफल बनाउने हो भने खतिवडाका ज्वाई ससुरालाई तत्काल बर्खास्त गर्नुपर्ने देखिएको छ । स्रोतका अनुसार नयाँ बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले आगामी आवको बजेटमा समेत चालु आर्थिक वर्षको भन्दा पनि खराब र एकदमै पत्रु बजेट बनाउने तयारी गरेको छ ।

नयाँ केही गर्नु छैन, भएको जे छ त्यही ल्याउने हो, राम्रो बजेट चाहिय आफै बनाउने र घरमा छोरा, छोरी, श्रीमती राखेर सुनाउने भन्दै अर्थमन्त्रीले खुलमखुल्ला नेकपाका नेता तथा कार्यकर्तालाई निराश बनाउन थालेका छन् । नेकपा भित्र उनलाई वर्खास्त गर्नुपर्ने माग पटक पटक उठेपनि कुनै सुनुवाई नभएपछि खतिवडाले बल पाएको बताइन्छ । उनले बानी नसुधारे अर्थमन्त्रालयमा नै पार्टीका नेता तथा कार्यकर्ताले आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरेका छन् । हेरौ अर्थमन्त्रीले आगामी आवका लागि कस्तो बजेट बनाउँलान्, सोही आधारमा मूल्यांकन गर्दा झन् उपयुक्त हुने केही अर्थतन्त्रका जानकारहरुको टिप्पणी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया