एनसिसि बैंकभित्र भूसको आगो, निक्षेपकर्ताको निक्षेप डुब्ने जोखिम बढ्यो

४ बर्ष अगाडि


काठमाडौं – कुनै समय बैंकहरुमा राम्रो मानिएको एनसिसि बैंक करिब करिब डुब्ने अवस्थामा पुगेको छ । 

मुद्दा माथि मुद्दा मात्रै पर्ने र सञ्चालकहरुबीच रहेको चरम विवाद र बेमेलका कारण सर्वसाधारणको निक्षेप समेत डुब्ने अवस्थामा पुगेको बताइन्छ ।

बैंकको वित्तीय अवस्था समेत राम्रो रहेको छैन । नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी समेत पुग्न सकेको छैन । विवादका कारण बैंक चरम रुपमा मुद्दा मामिलामा फसेको छ । समस्या समाधानका लागि भएका पहलले पनि सार्थक परिणाम दिन सकेको छैन ।
विवादमा फसेर मुद्दा मात्रै झैल्दै आएको बैंकले दुई आर्थिक वर्षको साधारणसभा समेत गर्न सकेको छैन । सो बैंकले  दुई वर्षको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर दिन सकिने प्रस्ताव गरेको भएपनि त्यसको कुनै टुंगो लागेको छैन ।  आर्थिक वर्ष ०७२÷०७३ सम्मको १९ औं वार्षिक साधारणसभा गरेको एनसीसीले मुद्दाले गर्दा २० र २१ औं साधारणसभा गर्न नसकी थला परेर बसेको छ ।

दुई वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्तावसहित लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि केन्द्रीय बैंकमा  बुझाइएको बताइन्छ । बैंकका अध्यक्ष  उपेन्द्रकेशरी न्यौपानेकै कारण पनि बैंक समस्यामा परेको दावी गरिन्छ । उनलाई सो बारेमा बुझ्दा उनले आफू बैठकमा भएकाले बोल्न नसक्ने बताए । उनले भने दिनमा सयौ फोन आउँछन, कसलाई के भनुँ । बैंकको बारेमा मलाई फोन नगर्नु भन्दै उनले फोन राखे । त्यसो त उपेन्द्रकेशरीलाई नेपाल राष्ट्र बैंकका गर्भनर चिरिञ्जवी नेपालले जोगाएर राखेका छन् । निक्षेपकर्ताको निक्षेप डुब्ने अवस्थामा पु¥याएका न्यौपानेले राम्रो गरेको भन्दै गर्भरनले सबै निक्षेपकर्तालाई डुबाउने मनसायमा समेत साथ दिएको स्रोतको दावी छ ।

बैंकमा एनबी समूहको  मुद्दा किनारा लागेपछि लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्ने राष्ट्र बैकले बैंकलाई जानकारी गराएको बताइन्छ । राष्ट्र बैंकले अडिट रिपोर्ट स्वीकृत नगरेसम्म साधारणसभा गर्न नपाइने भएकाले लगानीकर्ताले लाभांश नपाउने अवस्था समेत नरहेको बताइन्छ ।

एनसिसिले  आर्थिक वर्ष ०७३÷०७४ मा १५ प्रतिशत र गत आर्थिक वर्ष ०७४÷०७५ मा ६ प्रतिशत बोनस सेयर दिने उक्त  रिपोर्टमा उल्लेख छ । यद्यपि बैंकले सो विषयलाई हालसम्म सार्वजनिक समेत गरेको छैन । सो रिपोर्ट सार्वजनिक भए बैंकभित्रै बबण्डर हुने अवस्था आएको बैंकका एक सञ्चालकले जानकारी दिए । सो रिपोर्टमा बैंक भित्र देखिएको आर्थिक अपराधको समेत फेहरिस्त रहेको ती सञ्चालकको भनाइ छ । सार्वजनिक गर्नु त परैको कुरा सञ्चालक समितिले समेत उक्त प्रतिवेदन पारित गरेको छैन । राष्ट्र बैंकले  स्वीकृति दिएपछि मात्र बोनश वितरण गर्न पाउने अवस्था रहेको छ ।  लफडामा परेका सिभिल बैंक र कुमारी बैंकले  यही वैशाख २७ र २८ गते २ वर्षको साधारणसभा एकै पटक गर्ने तयारी गरेको छन् ।

तोकिएको समयमा साधारणसभा नगर्ने र न्यूनतम ८ अर्ब रुपैयाँ पुँजी नपु¥याउनेमा एनसीसी मात्र देखिएको छ । कूल ४० प्रतिशत हकप्रद सेयर निष्कासनपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड रुपैयाँ पुगेको थियो । बैंकले दुई आर्थिक वर्षको बोनस वितरणपछि पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।  एनसीसीविरुद्ध लगानीकर्ता एनबी समूहका  अझै ८ ओटा मुद्दा उच्च अदालत पाटन र सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छन् । संस्थापक र सञ्चालकबीच किचलो भएपछि नियामक राष्ट्र बैंकले  हस्तक्षेप गरेर व्यवस्थापन आफ्नो हातमा लिएको थियो । 

एनसीसीमा धेरै स्वामित्व भएको एनबी समूह र निर्मल प्रधान समूहबीचको विवाद उत्कर्षमा पुगेपछि राष्ट्र बैङ्कले २०७० साल माघ २१ गते सञ्चालक समिति भंग गर्दै हालका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको नेतृत्वमा तीन जना सञ्चालक नियुक्त गरेर पठाएको थियो । समितिले ३ वर्षपछि २०७३ पुस १८ गते व्यवस्थापन हस्तान्तरण गरेको हो । सोही अवस्थामा नै फेरी बैंक पनि पुगेको छ । यतिखेर पनि विवादको जरो सोही अवस्थामा पुगेको छ ।

राष्ट्र बैंकले एनसीसीसँग इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बंैक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकलाई प्राप्ति गराएको थियो । हकप्रद सेयर खरिद नरेपछि एनबी समूहको एनसीसीमा हिस्सा साढे ८ प्रतिशतमा सीमित भएको छ । तर पनि लफडा भने उस्तै रहेको छ ।  एपेक्स डेभलपमेन्ट बैंकको व्यवस्थापनले गरेको कमसल धितोमा अनियमित कर्जा प्रवाहको १ अर्ब ५० करोड रुपैयाँ नउठेपछि एनसीसीले सो रकम समेत गुमाउनुपर्ने अवस्थामा पुगेको थियो । आर्थिक वर्ष ०७३÷०७४ मा १ अर्ब ३२ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो । यस्तै २०७४÷०७५ मा घटेर १ अर्ब ७ करोड रुपैयाँमा झरेको थियो । कारण त्यही विवाद थियो । 

बैंकका साहुजीहरुको चर्को विवाद तथा लफडाका कारण शेयरलगानीकर्ता समेत  नखाउ भने दिनभरीको शिकार, खाँउ भने कान्छा बाबुको अनुहारको अवस्थामा पुगेका थिए । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अन्य बैंकले अर्ब माथि नाफा गर्दा  एनसीसीले मात्रै ६४ करोड ३९ लाख रुपैयाँ खुदनाफा गरेको छ । यो भन्दा बिजोक अवस्था के होला त ? भन्दै प्रश्न गर्नेहरु समेत बढेका छन् । नेपाल राष्ट्र बैंकले समेत बैंकलाई नै समस्यामा पार्नेलाई च्यापेर बसेका कारण समस्या झनै बल्झिएको जानकारहरुको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया