राम्रो स्वास्थ्यका लागि हाँस्न पनि जरुरी, यस्ता छन् पाँच ठूला फाइदा

४ बर्ष अगाडि

हरेक वर्ष मे को पहिलो आइतबार ‘वर्ल्ड लाफ्टर डे’ मनाइन्छ । वार्ल्ड लाफ्टर डे को सुरुवात भारतको मुम्बई शहरबाट भएको थियो । यो दिनलाई सबैभन्दा पहिले मे १०, १९९८ मा डा. मदन कटारियाले मनाएका थिए । यो दिनलाई मनाउनुको उद्देश्य मानिसहरुलाई हाँस्नुका फाइदाबारे जानकारी दिनु र संसारभरी खुसी फैलाउनु हो । यो वर्ष वर्ल्ड लाफ्टर डे ५ मेमा परेको छ । आउनुहोस्, आजको मौका पारेर हाँस्नुका पाँच फाइदाबारे जानकारी लिऔंः

१. शरीर र दिमागलाई आराम दिन्छः

हाँस्दा तनाव कम हुन्छ । साथै करिब ४५ मिनेटका लागि मासंपेशी रिल्याक्स हुन्छ जसका कारण तपाईं आफूलाई फ्रेश महसुस गर्नुहुन्छ ।

२. मिठो निद्रा लाग्छः

राती सुत्नु अघि खुलेर मज्जाले हाँस्दा बेचैनी र तनाव दुबै कम हुन्छ । दिमाग शान्त भएको महसुस हुन्छ जसले एक थकानपूर्ण दिनपछि मिठो निद्रा लाग्छ ।

३. प्रतिरोधी क्षमता बलियो हुन्छः

हाँस्दा एन्टीबडी बन्ने कोशिकाको संख्या बढ्ने गर्छ । साथै टी–कोशिकाको प्रभावकारिता बढ्ने गर्छ । यसले रुघा–खोकीजस्ता विभिन्न समस्याबाट जोगाउँछ । यस्तै, रोग प्रतिरोधी क्षमता बलियो हुुँदा विभिन्न प्रकारको एलर्जी र संक्रमणबाट पनि सुरक्षित हुन सकिन्छ ।

४. लामो समयसम्म जवान बनाउनमा सहयोगीः

स्वास्थ्य विशेषज्ञका अनुसार मज्जाले हाँस्दा अनुहारको सबैभन्दा उत्कृष्ट व्यायाम हुन्छ । हास्ने बेला अनुहारका करिब १५ मांसपेशीले एकै पटक काम गर्छन् जसका कारण अनुहारको चमक बढ्ने गर्छ । हाँस्दा अनुहारको मांसपेशीमा रक्तसंचार पनि निकै राम्रो तरिकाले हुन्छ । यसले तपाईंको अनुहार चम्किलो बनाउनुका साथै तपाईंलाई जवान र आकर्षक देखाउँछ ।

५. स्वस्थ मुटुका लागिः

मज्जाले हाँस्दा हाम्रो शरीरको रक्तसंचार नियन्त्रणमा रहन्छ । वास्तवमा, जब हामी हाँस्छौं हाम्रो शरीरले धेरै मात्रामा अक्सिजन पाउँछ जसले धड्कनलाई ठिक गर्न मद्दत गर्छ ।  यसले हृदयघात र मुटुसम्बन्धि विभिन्न रोगबाट बचाउँछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया