मेस्सीले खेलाडी बेच्ने विषयमा क्लबलाई दिए यस्तो सुझाव !

४ बर्ष अगाडि

लगातार चौथो वर्ष पनि युरोपियन च्यामिपयन्स लिगबाट आउट भएपछि स्पेनिस बार्सिलोनामा अहिले ‘भूकम्प’ नै गएको छ । यसपटक सेमिफाइनलमा इंग्लिस टिम लिभरपुलसँग ४–० को लज्जास्पद हार व्यहोर्दै आउट भएपछि खेलाडी मण्डलमा व्यापक परिवर्तन गर्ने तयारी क्लबले गरेको छ ।

मिडिया रिपोर्टहरूअनुसार बार्सिलोनाले यो सिजनको अन्त्यसँगै ११ जना खेलाडी बेच्ने तयारी गरेको छ । उसले स्टार खेलाडी भित्र्याउन टिममा कम प्रयोग भएका र खराब प्रदर्शन गरिरहेका खेलाडी बेचेर पैसा बटुल्ने तयारी गरेको छ ।

बार्सिलोनाले बेच्ने खेलाडीको सूचीमा बेन्चमा रहँदै आएका र लोनमा आएका खेलाडीदेखि केही स्टार खेलाडीसमेत छन् । बार्सिलोनाले क्लब इतिहासकै सर्वाधिक महँगा खरिद खेलाडी फिलिपे कोउटिन्होलाई समेत बेच्ने तयारी गरेको छ ।

यसैक्रममा टिमका कप्तान लिओनल मेस्सीले टिमका ३ जना स्टार खेलाडीलाई प्राथमिकतासाथ बेच्न क्लबलाई सुझाव दिएका छन् । स्पेनिस ‘मार्सा’ र ‘मुन्डो डेपोर्टिभो’का अनुसार मेस्सीले एनफिल्डमा लिभरपुलसँग खराब प्रदर्शन गरेपछि केही खेलाडी बेच्न क्लबलाई सुझाव दिएका हुन् ।

मेस्सीले बेच्न सुझाव दिएका खेलाडीमा ब्राजिलियन फिलिपे कोउटिन्हो, फ्रेन्च डिफेन्डर सामुएल उम्टिटी र क्रोएसिन मिडफिल्डर इभान राकिटि करहेका छन् । कोउटिन्होले बार्सिलोनामा डेब्यु सिजन प्रभावकारी बनाए पनि यो सिजन खराब चलिरहेको छ ।

त्यस्तै, बार्सिलोनाको मिडफिल्डका महत्त्वपूर्ण हतियार राकिटिकको पछिल्लो समय लयमा प्रदर्शन छैन । र, आगामी समर सिजनमा क्लबले डच टिम आयाक्सका युवा मिडफिल्डर फ्रेन्की डे जोङ अनुबन्ध गरिसकेकाले बार्सिलोनामा क्रोएसियन खेलाडीको भविष्य संकटमा छ ।

यता, यो सिजन बार्सिलोनामा मैदानमा भन्दा बढी मैदानबाहिर रहेका डिफेन्डर उम्टिटीलाई पनि बेचेर युवा खेलाडी अनुबन्ध गर्नुपर्ने सुझाव मेस्सीले दिएका छन् ।

तर, मेस्सीले आफ्ना नजिकका साथी उरुग्वेन फरवार्ड लुइस स्वारेजलाई भने नबेच्न क्लबसँग अनुरोध गरेका छन् । स्वारेजले बार्सिलोनाबाटै करिअर अन्त्य गर्न चाहेको बताउँदै मेस्सीले स्वारेजलाई बार्सिलोनामै राख्नुपर्ने सुझाव क्लबलाई दिएको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया