प्रिमियर लिगमा उपाधि छिनोफानो आज : सिटीलाई सहज, लिभरपुललाई भाग्य भरोसा !

४ बर्ष अगाडि

इंग्लिस प्रिमियर लिग फुटबलमा आज उपाधि छिनोफानो हुँदैछ । जारी सिजनको अन्तिम खेलबाट लिग च्याम्पियन टिमको टुंगो लाग्न लागेको हो । आज लिग लिडर म्यानचेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलले आ–आफ्नो खेल खेलेपछि च्याम्पियन टिमको टुंगो लाग्नेछ ।

लिगको अन्तिम खेलमा सिटीले आज ब्राइटनसँग अवे मैदानमा खेल्दैछ । त्यसैगरी, दोस्रो स्थानको लिभरपुलले आफ्नो खेल उल्भ्ससँग आफ्नो घरमा खेल्दैछ ।

लिगको अन्तिम खेल बाँकी छँदा सिटी ३७ खेलपछि ९५ अंक बनाएर शीर्ष स्थानमा छ भने लिभरपुल समान खेलबाट ९४ अंक बनाएर दोस्रो स्थानमा छ । दुवै टिमले अन्तिम खेल खेल्नुअघि मात्रै १ अंकको फरक छ ।

आज सिटी आफ्नो खेल जितेर दोस्रो वर्ष लगातार लिगको उपाधि उचाल्ने दाउामा छ । यता, लिभरपुललाई भने आफ्नो खेल जितेर मात्रै पुग्दैन, उसलाई भाग्यले साथ दिनुपर्छ । अर्थात्, उसले उपाधि जित्न आफ्नो खेल जितेर सिटीले आफ्नो खेलमा हार्नुपर्छ कि त बराबरीमा रोकिनुपर्छ ।

यदि आज सिटीले ब्राइटनलाई अवे मैदानमा हारए सिटीको खातामा ३८ खेलबाट ९८ अंक हुनेछ । यता, लिभरपुलले पनि आफ्नो खेलमा उल्भ्सलाई हराए उसको खातामा ९७ अंक हुनेछ । र, सिटीले १ अंकले लिभरपुललाई पछि पार्दै उपाधि जित्नेछ ।

तर, यदि आज सिटी पराजित भयो वा बराबरीमा रोकियो र यता लिभरपुलले आफ्नो खेल जित्यो भने लिभरपुलले अन्तिम खेलबाट सिटीलाई पछि पार्दै उपाधि जित्नेछ ।

तसर्थ, आज सिटी र लिभरपुल दुवै चर्को दबाबमा छन् । सिटीका लागि आफ्नो खेल जिते मात्रै पनि उपाधि जित्न पर्याप्त हुने हुँदा ऊ केही सहज अवस्थामा छ । तर, लिभरपुलले पनि आफ्नो खेल जितेर पनि सिटीको हारको प्रतीक्षा गर्नुपर्छ ।

तसर्थ आज सिटी आफ्नो काम गरेर उपाधि जित्ने दाउमा छ भने लिभरपुल भाग्यको आशामा छ । ताकि, उसले आफ्नो खेल जितोस् र सिटी ब्राइटनसँग हारोस् ।

लिगमा आजै अन्य ९ खेल हुँदैछन् । आज हुने लिगका कूल १० खेल एकै समय राति ७ः४५ बजेबाट हुनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया