शेयर बजारमा अवैध पैसाको ओइरो, नेप्सेका सिइओको भ्रष्टाचार हेर्ने कसले ?

४ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समयमा नेपालको शेयर बजारमा भारतको अवैध पेसा लगानी भएको विषय थाहा पाउने निकायले थाहा पाएकै छन् । अर्थ मन्त्रालय जानकार छ । नेपाल धितोपत्र बोर्ड समेत जानकार छ । 

नेपाल स्टक एक्सचेञ्जलाई जानकारी नहुने कुरै भएन । धितोपत्र दलाल त पैसा पाए भैहाल्यो, उनीहरलाई सो को बारेमा केही भन्नु छैन, मात्रै कारोवार गर्न पाए भइहाल्यो । भारतमा निर्वाचन जारी छ । उताको पैसा यता ल्याएर बजार प्रभावित पार्ने चलखेल राम्रैसँग भएको छ । केही कम्पनीको शेयरमा भएको अस्वभाविक वृद्धिले पनि कालो पैसाको चलखेल भयो भन्ने कुरा प्रष्ट देखिन्छ । तर जानकारहरु भने यस विषयमा थाहा पाएर पनि थाहा नपाए जस्तै गरी चुपचाप बसीरहेको छ । उनीहरुलाई अर्थतन्त्रलाई नै प्रभावमा पार्ने गरी आएको अवैध पैसाको बारेमा केही बोलचाल नै गर्ने अवस्थामा छैनन् । 

बजार नराम्ररी प्रभावित भइरहेको बेला  शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको  भ्रष्टाचार काण्डले पनि शेयर बजार राम्रै गरी तातेको छ । नेप्सेमा भ्रष्टाचार भएको तथ्य अरु कोही कसैले होइन त्यसैको नियमक निकाय  नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनले देखाएको छ । बोर्डको अध्ययन अनुसार काँग्रेसी कार्यकर्ता साउदले सरकारी स्रोतको चरम दुरुपयोग गरेर नेप्सेलाई काम नै नलाग्ने प्रविधिक उपकरण र सफ्टवेयर खरीद गरेको पाइएको छ । बोर्डले साउदलाई कारवाही गर्न सक्ने सहितको सुझाव दिएपनि अर्थमन्त्रालयले किन साउदलाई जोगाएर राखेको हो, बुझन सकिएको छैन । 

नेप्सेले गत मंसिर २० गते शेयर कारोबारलाई अनलाइन प्रणाली शुरु गर्दा टालटुल पारेर सुर गरिएको थियो । उक्त प्रणाली कमसल खालको भएको भन्दै गत पुस ९ गते अख्तियारमा उजुरी परेपछि अख्तियार दुरुपयोग आयोगको आग्रहमा नेपाल धितोपत्र बोर्डले छानबिन समिति बनाएको थियो । सो छानबिन समितिले नेप्सेको सफ्टवेयरमा समस्या रहेको देखाएको थियो । सो सफ्टवेयर खरीदमा साउदको भूमिका संखास्पद देखिएको र भ्रष्टाचार गरेको पाइएको बोर्डको अध्ययनले देखाएको छ । आफूलाई अब इन्द्रको बाउ चन्दै आएपनि हटाउन नसक्ने भन्दै सायद नेप्सेमा रहेका केही काँग्रेसी कार्यकर्तालाई च्यापेर सरकारी स्रोत माथि ब्रम्हलुट गर्ने योजनामा लागेको अर्थ मन्त्रालयमा चर्चा हुने गरेको छ । नेप्सेमा भन्दा बाहिरै अन्य काम गर्ने र दिनमा एक पटक आएर हाजिर गरेर हिड्ने साउदको व्यवहारका कारण नेप्सेमा दैनिक जसो नै समस्या थपिदै गएको छ । कोही पनि कर्मचारीले इमान्दार भएर काम नगर्ने तथा सरकारी काम कहिले जाला घामको शैलीमा प्रस्तुत हुने गरेको पाइएको छ । 

अर्थ मन्त्रालयमा सायदको चर्तीकलाको बारेमा चर्चा हुने गरेको भएपनि अर्थमन्त्री डा युवराज खतिवडा भने शेरबहादुर देउवाको मान्छेलाई चलाउन सकिदैन भन्दै सायदको हर्कतलाई सुनपानी लगाइदिने योजनामा लागेको बताइन्छ । अख्तियारले बोर्डलाई छानबिन गर्न पठाएको पत्रमा भनिएको छ– ‘नेपाल स्टक एक्स्चेन्जले अनलाइन प्रणाली खरिद गर्दा रु १८ करोड खर्च गरी कमसल सफ्टवेयर खरिद गरेको तथा डिस्प्ले बोर्डको लागि समेत रु ३५ लाख खर्च गरे पनि सञ्चालनमा आउन नसकेको भन्ने समेतको उजुरीका सम्बन्धमा के कसो भएको हो छानबिन गरी यथार्थ विवरणसहित राय प्रतिक्रिया आयोगको अनुसन्धान महाशाखा नं २ मा पठाउन हुन निर्णयाअनुसार अनुरोध छ ।’ 

अख्तियारको उक्त पत्रपछि बोर्डले साउदको भ्रष्टाचारको विषयमा छानबनि गर्न तीन सदस्यीय छानबिन समिति बनाएको थियो । पुस २३ गते गठित छानबिन समितिमा बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा कामु कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरे र नेप्सेका सूचना प्रविधि उपशाखाका सहायक निर्देशक यमनाथ अर्याल सदस्य रहेका थिए । छानबनि समितिले साउदले अनियमितता गरेको प्रष्ट भएको उल्लेख गरी कारवाहीका लागि अख्तियार र त्यसको बोधार्थ अर्थ मन्त्रालयलाई समेत पठाएको थियो । अख्तियारमा पठाइएको उक्त प्रतिवेदन पनि गुपचुप राखिएको र अर्थ मन्त्रालयले समेत चासो नदेखाएका कारण सरकारी स्रोतको रकम डुब्ने अवस्थामा पुगेको छ । 

उक्त छानबिन समितिले अध्ययन गरी प्रतिवेदन अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । उक्त प्रतिवेदन बुझाएको पनि महिनौ बितिसकेको छ तर अख्तियार र अर्थ मन्त्रालयले हालसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् । जसका कारण साउद आफूलाई कही कतै पनि कारवाही नहुने र कारवाही गर्ने तागत कोही कसैसँग नभएको भन्दै आफ्ना निकटस्थलाई सुनाउँदै हिडेका छन् । मेरो पछाडि सिंगो काँग्रेस छ, अर्थमन्त्रालयले मलाई केही गर्न सक्दैन, अदालत गएर पो आएको हो त भन्दै उनी ध्वाँस दिएर हिड्ने गरेको नेप्सेका एक काँग्रेसी कार्यकर्ताले बताए । नेप्सेमा अधिकाशं कर्मचारी डा रामशरण महतको पालामा नियुक्ति भएका काँग्रेसी कार्यकर्ता छन् । 

जानकार स्रोतका अनुसार छानबिन  प्रतिवेदनमा नेप्सेको अनलाइन सफ्टवेयर खरिदमा भ्रष्टाचार गरेको निष्कर्ष निकाएको छ । उक्त प्रतिवेदनले नेप्सेको अनलाइन सफ्टवेयर खरिदका क्रममा सार्वजनिक खरिद ऐनको पालना नभएको समेत उल्लेख गरिएको पाइएको छ । यता नेप्सेले भने अनलाइन सफ्टवेयर खरिदमा सबै प्रक्रिया प¥ुयाएर खरिद गरेको दाबी गर्ने गरेको छ ।  अनलाइन सफ्टवेयर निर्माण गर्ने कम्पनी वाईकोले हालसम्म रु ११ करोड ५० लाख भुक्तानी लगिसकेको छ । तर, अनलाइन प्रणालीमा अझै धेरै काम हुन बाँकी भएकाले वाईकोले काम समेत गर्न छाडेको छ । 

साउदलाई देउवा सरकारले निर्वाचनको आचारसंहिता लागिसकेपछि अन्तिम समयमा  नेप्सेमा नियुक्त गरेको थियो । नेकपा नेतृत्वको सरकार आएपछि उनलाई हटाए पनि सर्वाेच्च अदालतमा मुद्दा हाले र अदालतले सरकारको बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उनी पुनः नेप्सेमा फर्किएका थिए । जसका कारण उनलाई गलत धन्दा गर्न कोही कसैले पनि रोक्न नसकेको बताइन्छ । 

उता  पछिल्लो दिनमा शेयर बजारमा कालो धन भित्रिएको छ । सेयर बजारमा आफ्नो स्वार्थ पुरा गर्न र नयाँ लगानीकर्तालाई फसाउने खेल पनि सुरु भएको छ । त्यसका लागि  के–केसम्म गर्छन भन्ने पनि पछिल्लो दिनमा देखिन थालेको छ ।  त्यसै क्रममा शिवम् सिमेन्टको शेयरमा भएको अस्वाभाविक वृद्धि तथा ओरियन्टल होटलको सेयरलाई हेरे पुग्ने देखिएको छ ।  

अनेकन प्रलोभन देखाएर शिवम् सिमेन्टको शेयरमा चलखेल सुरु गरिएको छ । जसका कारण हरेक दिन जसो शिवम् सिमेन्टको शेयरमा सर्किट ब्रेक लाग्ने गरेको छ ।  यस्तै ओरियन्ट होटलको शेयर लगानीकर्ताहरुले होटलले चाँडै नै लगानीकर्तालाई हकप्रद सेयर दिन्छ भन्दै हल्ला चलाएर सेयर मूल्य बढाएका छन् ।  होटलको शाखा उपत्यका बाहिर विस्तार गर्ने र त्यसका लागि बजेट आवश्यक पर्ने भएकोले हकप्रद सेयर जारी गर्ने चर्चा चलाइएको छ । स्रोतका अनुसार अहिले बजारमा चलेको हल्ला जस्तो उपत्यका बाहिर जाने कुनै पनि योजना नै बनेको छैन । 

अझै एक–दुई वर्ष उपत्यका बाहिर जान नसक्ने भएकाले हकप्रदबाट पैसा उठाउनु आवश्यक नभएको होटल स्रोतको भनाई छ । हाल  होटलको स्तरोन्नतीमा लागेको र  त्यसको लागि ऋण लिने प्रक्रिया अगाडि बढाएको बताएपनि चलखेल गरेर शेयरको मूल्य बढाइएको छ । तर कारवाही गर्ने निकाय चुपचाप बसेर चलखेल गर्न मौका दिइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया