मिडियाको दायित्व र मर्यादा

४ बर्ष अगाडि

काठमाडौँ – लोकतान्त्रिक शासन व्यवस्थामा प्रेसलाई राज्यको चौथोे अंग मानिन्छ । राज्यका अन्य तीनवटा अंगहरुलाई मिडियाले नियमन गर्न सक्छ । तिनीहरुका कामहरुमा निगरानी गर्न सक्छ र जनतालाई सुसुचित गर्न सक्छ । यस मानेमा मिडिया लोकतन्त्रको पहरेदार होे । त्यसैले पत्रकारहरु अत्यन्त जिम्मेवार र संयमित बन्न आवश्यक हुन्छ ।
 
तर केही समय यता कतिपय नेपाली संचार माध्यमहरुले पत्रकारिताको सीमा नाघ्न थालेको  अनुभुति हुन थालेको छ । सबै संचार माध्यम र पत्रकारहरुले देशको कानुन  मान्नुपर्दछ । 
सामाजिक मर्यादा र शिष्टता पनि मान्नै पर्दछ । 

पत्रकारहरु विशिष्ट श्रेणीका नागरिक हुन भन्ने भ्रम केही पत्रकारहरुले अहिले पनि पालेको देखिन्छ । एभिन्युज टेलिभिजनको वीरगञ्ज व्युरोमा भएको घटनालाई एउटा त्यस्तै दृष्टान्तको रुपमा लिन सकिन्छ । त्यस क्रममा भएका दुवै घटना निन्दनीय छन् । एउटा पत्रकारले आफैले बोलाएको अतिथिलाई त्यस किसिमको व्यहार गर्नु दुखद हो । अन्तर्वार्ताकारले शिष्टतापुर्वक तिनै प्रश्न सोध्न सक्थ्यो । आफै आवेशमा आएर असभ्य र पाखण्डी व्यवहार देखाएर सबै मिडियालाई  बनाउने काम गरे । यसको समीक्षा सम्बद्ध पक्षले गर्नै पर्दछ । 

पत्रकार महांसंघले आप्ना सदस्यहरुलाई आचार संहिता पालना गर्नेतर्फ कदम चाल्न जरुरी छ । केही ठुला संचार माध्यमहरुले पालेको अहम् र इगोले समग्र संचार क्षेत्रलाई नै बदनाम गराउन सक्छ । सामाजिक उत्तरदायित्व र मर्यादबाट कोही पनि उम्कन सक्दैन । 

यो घटनाले सिर्जना गरेको अर्को घटना पनि लोकतन्त्र र कानुनी राजमा सुहाउने कुरा होइन । सत्तामा बहाल रहेको एउटा जिम्मेवार राजनीतिक दलले मुढे बल प्रदर्शन गर्न उपयुक्त होइन । आफुलाई चित्त नबुझे कारबाही गर्ने बाटो हाम्रो संविधानले देखाएकै छ । 

बहुला कुकुरले टोक्यो भने त्यसको बदला कुकुरलाई टोक्नै पर्दछ भन्ने सोचाइ ठिक मान्न सकिन्न । समाजवादी पार्टीका कार्यकर्ताहरुबाट भएको तोडफोडको घटनाले पनि दलहरुको  अहम र उद्धण्डतालाई प्रदर्शित गरेको छ । यसलाई कुनै पनि राजनीतिक दलले बढावा दिनु हुदैन । 

लोकतन्त्रमा मिडिया र राजनीतिक दलको सम्बन्ध समुधुर हुन जरुरी छ । अन्यथा लोकतान्त्रिक अभ्यास नै अवरुद्ध हुन सक्छ । त्यसैले सबैले संयमता अपनाउन जरुरी छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया