पाकिस्तानी रुपियाँको मूल्य घटेको घट्यै

४ बर्ष अगाडि

पाकिस्तानी रुपियाँको मूल्यमा लगातार कमी आएको छ । आर्थिक समाचार पोर्टल ब्लुमबर्गले पाकिस्तानी रुपियाँ एसियामा निकै कमजोर भएको उल्लेख गरेको छ ।

गत वर्ष पाकिस्तानी रुपियाँको मूल्यमा २० प्रतिशतसम्म घटेर एसियाका १३ वटा महत्त्वपूर्ण मुद्रामध्ये सबैभन्दा कमजोर मुद्रा बनेको हो । पाकिस्तानी मुद्राको तुलनामा अफगानिस्तान, बंगलादेश र नेपालको मुद्रा स्थिर छ । एक डलर बराबर अफगानिस्तानको मूल्य ७९, भारतीय रुपैयाँ ७०, बंगलादेशी टका ८४ र नेपाली रुपैयाँ ११२ रुपैया छ ।

पाकिस्तानी मूल्यमा आएको कमीका कारण सेयर बजारसमेत प्रभावित बनेको छ । शुक्रबार पाकिस्तानी सेयर बजारमा ८ सय अंकले घटेको छ । यो पछिल्लो डेढ दशककै सबैभन्दा ठूलो कमी हो ।

व्यापक उथलपुथलका कारण अन्तरबैंक कारोबारमा पनि हलचल आयो । जसका कारण १ डलर बराबर १४९ पाकिस्तानी रुपियाँसम्म पुगेको छ । एक्सचेन्ज कम्पनिज एसाेसिएसन अफ पाकिस्तानका अनुसार खुला बजारमा एक डलरको १५१ रुपियाँसम्म पुगेको छ ।

दुई दिनमा पाकिस्तानी रुपियाँमा ५ प्रतिशत अवमूल्यन भएको छ । पछिल्लो १७ वर्षमा सेयर बजारमा यो सबैभन्दा खराब साता साबित भयो । सेयर बजारमा हलचल भएपछि पाकिस्तानी प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा. हाफिज शेख सेयर कारोबारीसँग छलफलका लागि बिहीबार कराँची पुगेका थिए ।

उनले व्यापारीहरुलाई अहिलेको उथलपुथल रोक्न एउटा बजार सहयता कोष बनाउन अपिल गरेका छन् । पाकिस्तानी बजारमा सन् २००८ पछि पहिलो पटक यति ठूलो हलचल पैदा भएको हो ।

यो हलचलबीच सोमबार पाकिस्तानी केन्द्रीय बैंकले आफ्नो मौद्रिक नीति घोषणा गर्ने भएको छ । नियमित कार्यतालिकाअनुसार ३० मेमा मौद्रिक नीति सार्वजनिक हुने भए पनि १० दिनअघि नै घोषणा गर्न लागिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया