नेपाल वायुसेवामा जीएसएको कमिशन धन्दा चक्कर

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल वायुसेवा निगमले वाइडबडी खरीदका लागि लिएको ऋणको ब्याजसमेत तिर्न नसकिरहेको बेला केही हवाईमाफियाहरु भने जापानको टिकट बिक्रीको एजेन्सी(जीएसए) लिन शक्तिकेन्द्रबाट दबाब दिइरहेको खबर छ । आगामी जुलाई १ बाट निगमले जापानको ओशाकामा उडान सुरु गर्न लागेको छ ।

जापानमा उडान सुरु हुने भएपछि जीएसएका लागि विभिन्न शक्तिकेन्द्रमा धाउने क्रम सुरु भएको स्रोत बताउछ । जीएसएका लागि निगमले मागेको आवेदनमा कोही पनि छानिन सकेका थिएनन् । 

प्रक्रिया नै पूरा नगरेका कारण कुनै पनि एजेन्ट छानिन नसकेपछि निगमका प्रमुखलाई नै जीएसए छान्ने अधिकार विनियमले दिएको छ । त्यही अधिकार प्रयोग गरी महाप्रबन्धक सुगतरत्न कंसाकारले जीएसए छनोट गर्नै लाग्दा निगममा मदन खरेल अध्यक्ष भएर आए ।  उनी आएको केही दिनपछि जापानको जीएसए नियुक्तिको कुरा उठ्यो ।

 जीएसएका लागि एनआरएनका अध्यक्ष देवमान हिराचनले नेकपाका विभिन्न नेतामार्फत् मात्र होइन, अध्यक्ष पुष्पकमल दाहालमार्फत् समेत भनसुन गराउँदैआएका छन् । निगमले भने जापानमा जीएसए नराखी कर्मचारी राखेर टिकट बिक्री गर्ने तयारी गरेको छ । जीएसएका लागि बार्षिक ४ करोड रुपैयाँ  कमिसन दिनुपर्ने हुन्छ । कर्मचारी राख्दा बार्षिक १ देखि १ करोड ५० लाख रुपैया“ लागत लाग्ने अनुमान निगमले गरेको छ । 

वाइडबडीको ऋणको ब्याजसमेत तिर्न मुस्किल भएको निगमलाई कर्मचारी राख्दा झन्डै ३ करोड रुपैयाँ  फाइदा हुने देखिन्छ । कर्मचारी राख्दा मितब्ययी हुने देखिए पनि हवाई माफियाहरु जीएसए दिनैपर्ने कोकोहोलो मच्चाउँदैछन् । त्यसका लागि बढी लाग्नेमा देवमान हिराचन देखिएको निगम स्रोत  बताउछ ।

उनी जीएसएबापत प्राप्त हुने मुनाफाको आधा रकम नै घुस बुझाएर भए पनि लिन अहोरात्र बीचौलिया लिएर नेताहरुकोमा धाइरहेको स्रोत बताउछ । उनी आफू निगमको उडान नहु“दा पनि प्रतिनिधि भएको दलील पेश गर्दै जीएसए लिन दौडधुपमा छन् । नेकपाका बरिष्ठ नेताहरुको नाम लिंदै अर्को हुल पनि जापानको जीएसएका लागि निगममा धाइरहेको छ । 

यसअघि सुगतरत्न कंसाकारले संचालक समितिको निर्णयविना नै कोरियामा जीएसए नियुक्त गरेको बिषय पनि उठेको छ । निगमको विनियममा जीएसए नियुक्तिका लागि संचालक समितिबाट निर्णय गराउनुपर्ने ब्यवस्था छ । तर कंसाकारले सुटुक्क कोरियाको लागि जीएसए नियुक्त गरेका थिए । कोरियाको जीएसए नियुक्तिमा ५५ लाख घुस कारोबार भएको कुरा संचालक समितिकै सदस्यहरुले खोल्न थालेका छन् ।साघुँसाप्ताहिकमा खबर छ । 

विनियम विपरीत घुस लिएर कोरियाको जीएसए नियुक्त गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो राखेको स्रोत बताउछ । कोरियामा निगमको उडान नभए पनि एमडी कंसाकारले जीएसए नियुक्त गरेका थिए । उडान नै नभएको कोरियामा जीएसए किन नियुक्त गरियो, त्यसलाई भने बुझिनसक्नु बिषयका रुपमा निगमका कर्मचारीहरुले लिएका छन् ।    

४ बर्ष अगाडि

प्रतिक्रिया