घर कर्जामा लगेको ९५ करोड असुल नभएपछि सञ्चयकोष तनावमा

५ बर्ष अगाडि
काठमाडौ । कर्मचारी सञ्चय कोषले नियमितरुपमा बुझाउनुपर्ने सावाब्याज समयमा बुझाउन सञ्चयकर्तालाई आग्रह गरेको छ ।
 
घर सापटी, सरल कर्जा, शैक्षिक ऋण, घरमर्मत सापटीका लागि सञ्चयकोषले दिएको ऋणको साँवाब्याज समयमा नबुझाउँदा कोषको वार्षिक नाफामा समेत असर परेको भन्दै त्यस्तो आग्रह गरेको हो ।
 
प्रत्येक सञ्चयकर्ताको घर हुनुपर्छ भन्ने आशयका साथ ऋण प्रवाह गरिएको र त्यसको भरपूर उपयोग गरुन् भन्ने कोषको मनसाय भएको कोषका शाखा प्रमुख अर्जुनप्रसाद उपाध्ययले जानकारी दिए ।  
 
सञ्चयकर्तालाई सम्बन्धित कार्यालयमा गएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै उनले  तोकिएको समयमा साँवाब्याज नबुझाउने सञ्चयकर्ता उपर कानूनी प्रक्रियाअनुसार कोष अगाडि बढ्ने बताए । 
 
सञ्चयकर्ताले कर्मचारी सञ्चयकोषको घर सापटीको ‘मेल आइडी’ मा भौचर स्क्यान गरेर पठाउन सकिनेछ । कोषका अनुसार कतिपय सञ्चयकर्ताको ठेगाना परिवर्तन भएको, फोन नम्वर परिवर्तन भएको र जागिर छोडी अन्यत्र गएकाले असुलीमा समस्या परेको छ ।
 
कोषले घर सापटीमा रु २० अर्ब लगानी गरेको छ भने रु ९५ करोड असुल हुन नसकेको शाखा प्रमुख उपाध्यायले जानकारी दिए ।  उनका अनुसार रु ९५ करोड मध्येबाट यस वर्ष रु २९ करोड असुली गर्न कोष सफल भएको छ ।
५ बर्ष अगाडि

प्रतिक्रिया