असामयिक मृत्युको सम्भावना बढाउँछ गुलियो पेयपदार्थले

४ बर्ष अगाडि

 एउटा नयाँ अनुसन्धानले गुलियो पेयपदार्थका कारण असामयिक निधन हुने सम्भावना बढाउने देखाएको छ।

हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थले गत महिना प्रकाशित गरेको अनुसन्धानमा मानिसहरूले जति धेरै गुलियो पेयपदार्थ पिउँछन्  कारण जे भए पनि उनीहरूमा असामयिक निधन हुने खतरा उति नै धेरै बढ्ने देखिएको छ।

सो अनुसन्धानका लागि ३० वर्ष उमेरभन्दा माथिका ३७ हजार पुरुष र ८० हजार महिलाबाट तथ्याङ्क सङ्कलन गरिएको थियो।

महिनामा एक पटकभन्दा कम पिउनेभन्दा महिनामा एकदेखि चार पटक पिउनेहरूमा खतरा एक प्रतिशतले बढ्ने, हप्ताको दुईदेखि छ पटक पिउनेहरूमा खतरा छ प्रतिशत बढ्ने, दिनमा एक वा दुई पटक पिउनेहरूमा १४ प्रतिशत खतरा बढ्ने र दैनिक दुईभन्दा बढी पटक पिउनेहरूमा २१ प्रतिशत खतरा बढ्ने देखिन्छ, प्रमुख अनुसन्धानकर्ता वसन्ती मलिकले भनिन्।

विश्वव्यापी खपत
अनुसन्धानले गुलियो पेयपदार्थ र मुटुसम्बन्धी समस्याबाट हुने असामयिक निधनका बीच गहिरो सम्बन्ध एवम् क्यान्सरबाट मृत्यु हुने सम्भावना रहेको देखाएको छ।

संसारभरि गुलियो पेयपदार्थको खपत बढिरहेको छ। सन् २०१८ मा संसारभरि औसतमा एक व्यक्तिले वार्षिक ९१।९ लिटर गुलियो पेयपदार्थ पिउने युरोमोनिटर इन्टर्न्याश्नलले बताएको छ।

बीबीसी

४ बर्ष अगाडि

प्रतिक्रिया