(Thursday, 22 August, 2019)
By: आजको अर्थ
असार २, २०७६

एजेन्सी–एक दिन काम विशेषले शहर नजिकैको एउटा गाउँ गएको थिएँ । चिया पसलमा चिया पिउन एकैछिन के रोकिएको थिएँ ।
त्यहाँ मैले २०–२२ वर्ष जस्ती देखिने एक गर्भवती महिलालाई देखें । गर्भवती महिला बाटोमा भेटिनु खासै नौलो कुरा होइन । तर उनको अनुहारमा नीलडाम देखिनु भनेको अलिक नौलो कुरा नै थियो । म उनीसँग कुरा गर्न थालेँ । उनको भनाइअनुसार पेटमा बच्चा ८ महिना पुगिसकेछ र अनुहारमा रहेको नीलडाम श्रीमानको कुटाइबाट भएको रहेछ । उनको श्रीमान सधैं रक्सी पिएर उनलाई कुट्ने गर्दा रहेछन्।

एकदिन त आप्mनो पुरुषार्थ श्रीमतीको पेटमा लात बजारेर पनि देखाएका रहेछन् । मैले उनीसँग थप कुराहरु गर्न थालें । ‘हजुर यो मेरो दोस्रो बच्चा हो, यसअघि पनि बच्चा तुहिएर खेर गएको थियो । घरमा पोषिला खानेकुरा केही छैनन् । मैले आजसम्म स्वास्थ्य संस्था जाने र औषधि खाने गरेकै छैन ।’ यी कुराले मलाई मर्माहत बनायो । यो घटनाले मलाई यो लेख लेख्न पे्ररित गर्‍यो ।

गर्भावस्था स्वास्थ्यको एक विशेष अवस्था हो, जुन बेला गर्भवती महिलालाई अरु बेलाभन्दा एकदमै स्याहारको खाँचो पर्छ । यो अवस्थामा हुने हेल्चेक्राइँले आमा र बच्चा दुवैको ज्यान जोखिममा पार्ने गर्छ । स्वस्थ शिशु जन्माउनका लागि गर्भवती अवस्थामा स्वस्थ्य रहनु, सुरक्षित बानी– व्यवहार अपनाउनु, स्वस्थ आहार–बिहार गर्नु र परिवारको हर–हमेशा स्याहार चाहिने गर्छ ।

गर्भावस्थाको पहिचान

नियमित शारीरिक सम्पर्क हुने महिलाको नियमित महिनाबारी रोकिने, बिहान–बिहान वाक्–वाक् लाग्ने, बान्ता हुने, छिटो छिटो पिसाब लाग्ने, स्तनको आकार बढ्दै जाने, अमिलो–पीरो बढी खान मन लाग्ने लक्षण गर्भ रहेका लक्षण हुन् । पिसाब तथा रगतमा गर्भावस्था जाँच गरेर गर्भ रहेको प्रमाणित गर्न सकिन्छ । पछिल्ला दिनमा अल्ट्रासाउण्डको
मद्दत पनि लिन सकिन्छ ।

नियमित परीक्षण

एउटी महिलाले गर्भ रहेदेखि बच्चा नपाएसम्म कम्तिमा ४ पटक नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउनु पर्छ । जाँच गराउँदा गर्भवती महिलाको स्वास्थ्यको अवस्था र पाठेघरमा हुर्कंदै गरेको शिशुको अवस्थाबारे जानकारी प्राप्त हुन्छ । कम्तीमा चारपटक गर्भावस्थाको जाँच गराउनै पर्छ । पहिलोपटक गर्भवती भएको शंका लाग्नेबित्तिकै, दोस्रोपटक गर्भवती भएको ५ देखि ७ महिनामा, तेस्रोपटक गर्भवती भएको ८ महिनामा र अन्तिमपटक गर्भवती भएको ९ महिनाभित्र स्वास्थ्य परीक्षण गराउनै पर्छ।

नियमित परीक्षणसँगै फोलिक एसिड नामक औषधिको सेवन गर्ने, धनुष्टङ्कारविरुद्ध लगाइने टिटानस टक्सोइडको सुई लगाउने, आइरन, क्याल्सियमलगायतका औषधि नियमितरुपमा खाने गर्नुपर्छ । आइरन, क्याल्सियम औषधि सुत्केरी भएको ६ हप्तासम्म नियमित सेवन गर्नुपर्छ । गर्भवती भएको ३ महिना पूरा भएपछि एक चोटी जुकाको औषधि पनि प्रयोग गर्नुपर्छ ।

आवश्यकताअनुसार अल्ट्रासाउण्ड परीक्षण गरेमा पाठेघरमा बढ्दै गएको शिशुको अवस्था, वृद्धि विकास, पाठेघरमा रहने पानीको अवस्था आदिबारे थाहा दिने गर्छ । आवश्यकताअनुसार रगतको ग्रुप, हेमोग्लोविन, रगतमा चिनीको मात्रा, पिसाबको परीक्षण, उच्च रक्तचापको जाँच आदि पनि गरिन्छ ।

जन्म अवधि

अन्तिम महिनाबारी भएको पहिलो दिनबाट ९ महिना ७ दिन जोडेर साधारणतया बच्चा जन्मने दिन अड्कल गर्न सकिन्छ । नेइगेली सूत्र अनुसार ४ प्रतिशत जन्म त्यही दिनमा, ५० प्रतिशत जन्म भए हप्ता अगाडि वा पछाडि, ८० प्रतिशत २ हप्ता अगाडि वा पछाडि, १० प्रतिशत जन्म ४२ औं हप्तामा र ४ प्रतिशत जन्म ४३ औं हप्ता हुने आकलन गर्न सकिन्छ । बच्चा जन्मदाको न्यूनतम तौल २ दशमलव ५ केजी हो । साधारणतया शिशुको जन्म तौल २ दशमलव ५ केजीभन्दा बढी नै हुन्छ ।

गर्भावस्थामा हुनसक्ने खतरा

गर्भावस्थामा साधारण शारीरिक तथा मानसिक परिवर्तन हुनु स्वाभाविक नै हो । साधारण गर्भमा महिलाको तौल ११ किलोग्रामले बढ्ने हुन्छ । गर्भावस्थामा हुने  खतराका केही लक्षणहरुमा आँखा तिर्मिराएर धमिलो देख्ने भएमा वा हात र मुख सुन्निएमा, टाउको साह्रै दुखेमा, कडासित तल्लो पेट दुखेमा, हातखुट्टा अह्ररो भई काप छुटेमा वा मूर्छा परेमा,  योनीबाट अलिकति पनि रगत बगेमा आदि हुन् ।

बच्चा जन्माउने बेलामा देखा पर्नसक्ने खतराका लक्षणहरुमा ८ घण्टाभन्दा लामो सुत्केरी व्यथा लाग्ने, पहिले हातखुट्टा वा नाल निस्कने, हातखुट्टा अह्ररो भई काँप छुट्ने वा मूर्छा पर्ने, बच्चा जन्माउनुअघि अथवा बच्चा जन्मिसकेपछि पनि धेरै रगत बग्ने आदि हुन् । सुत्केरी अवस्थामा देखिने खतराका लक्षणहरुमा ज्वरो आउने, योनीबाट गन्हाउने पानी बग्ने वा तल्लो पेट९पाठेघर० दुख्ने, धेरै रगत बग्ने, टाउको साह्रै दुख्ने, हातखुट्टा अह्ररो भई मूर्छा पर्ने आदि हुन् । यस्ता खतराका चिन्हहरु देखिनेबित्तिकै स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउनै पर्छ ।

गर्भावस्थामा गर्नुपर्ने केही तयारी

स्वास्थ्य संस्थामा गई न्यूनतम ४ वा सोभन्दा बढी पटक जँचाउनै पर्दछ । जुकाको औषधि खाने, टिटी लगाउने तथा आइरन र क्याल्सियम चक्की खाने गर्नुपर्छ । गर्भावस्थामा नियमितरुपमा पोषिला खानेकुरा खानुपर्छ भने चुरोट, जाँडरक्सी तथा जथाभावी औषधिको सेवन गर्नु हुँदैन । मुख, हातखुट्टा, नङ, गुप्ताङ्गलगायत सम्पूर्ण शरीर सरसफाइ गर्नुपर्छ ।  गर्भावस्थामा महिलाले बढी आराम गर्नुपर्छ । गर्भावस्थामा गह्रौं सामान बोक्नु हुँदैन । गर्भावस्थामा सकारात्म  सोच नितान्त आवश्यक छ । आपूmलाई पायक पर्ने स्वास्थ्य संस्थाको छनोट र पैसाको जोहो गर्न पनि बिर्सनु हुँदैन ।  



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत