कसले मच्चायो सुई आतंक ?

४ बर्ष अगाडि

काठमाडौँ — अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन् । प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राति ९ देखि १० बजेको अवधिमा भएको देखिन्छ ।

पाँचैवटा घटनामा पैदल हिँडिरहेका बेला मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले सुईजस्तै तिखो वस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ । सुईजस्तै वस्तुले घोचिएका भनिएका युवतीमध्ये तीन जना स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पुगेका छन् ।

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेसम्म केले घोचिएको हो भन्ने निष्कर्ष ननिस्किएको बताए । प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले सुईले नै घोचेको भन्ने चिकित्सकीय पुष्टि भइनसकेको बताए । ‘तिखो वस्तुले घोचेको देखिए पनि सुई भन्ने पुष्टि भइसकेको छैन,’ उनले भने । प्रहरीका अनुसार मोटरसाइकलमा आएर सुईले घोच्नेबित्तिकै भाग्न त्यति सजिलो देखिँदैन । घोचिहाले पनि बाहिर लामो धर्कोजस्तो दाग हुन्छ । ‘तिखो वस्तुले घोचेको भए पनि सुई नै हो भन्न सकिने स्पष्ट आधार देखिँदैन,’ बोगटीले भने । कान्तिपुरमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया