यस्तो अवस्थामा अर्जेन्टिना पुग्न सक्छ क्वार्टरफाइनलमा

४ बर्ष अगाडि

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा लिओनल मेस्सीको टिम अर्जेन्टिनालाई प्रमुख उपाधि दाबेदारमध्येको एक टिम मानिएको थियो । तर, प्रतियोगिताको पहिलो खेलमै कोलम्बियासँग २–० ले पराजित भएपछि अर्जेन्टिनालाई ठूलो झट्का लाग्यो ।

त्यसपछि बाँकी दुई खेल जितेर सजिलै अर्को चरण जाने दाउमा रहेको उसले आज दोस्रो खेलमा पनि स्पष्ट जित निकाल्न सकेन । हारनजिक पुगेको उसले पेनाल्टी गोलको मदतमा १–१ कठिन को बराबरी खेल्दै खातामा १ अंक जोड्यो ।

ज्यादै महत्त्वपूर्ण मानिएको यस खेलमा पराग्वेसँग बराबरीमा रोकिएपछि अर्जेन्टिनाको नकआउट चरण पुग्ने बाटो थप कठिन बनेको छ । अर्जेन्टिनाका लागि अबको बाटो सम्भव छ तर कठिन छ ।

अर्जेन्टिनाले आज राति समूह चरणको आफ्नो अन्तिम खेल कतारसँग खेल्दैछ । अर्को खेलमा कोलम्बिया र पराग्वे खेल्नेछन् । दुवै खेल राति एकै समय १२ः४५ बजेबाट सुरु हुनेछ ।

यस्तो छ हालको अंक तालिका :

यसरी हेर्दा अर्जेन्टिना अब दुई फरक–फरक अवस्थामा समूह चरणबाट अर्को चरण जान सक्छ । यसबारे चर्चा गरौं ।

पहिलो– कतारमाथि स्पष्ट जित र पराग्वेको हार वा बराबरी

अर्जेन्टिनाले सोमबार बिहान समूह चरणको अन्तिम खेल पाहुना टोली कतारसँग खेल्दैछ । यदि सो खेलमा अर्जेन्टिनाले स्पष्ट गोलअन्तरमा जित निकाल्न सक्यो र सोही दिन हुने अर्को खेलमा पराग्वे कोलम्बियासँग पराजित भयो वा बराबरीमा रोकियो भने अर्जेन्टिना समूहको उपविजेता बनेर अर्को चरण जान्छ ।

त्यो अवस्थामा अर्जेन्टिनाको खातामा ४ अंक हुँदा पराग्वे हारे कोलम्बियाको खातामा ९ र बराबरीमा रोकिए ७ हुन्छ भने पराग्वे हारे उसको खातामा २ र बराबरीमा रोकिए ३ अंक मात्रै हुन्छ ।

तर, यदि कोलम्बिया र पराग्वेबीचको खेलमा पराग्वेले पष्ट जितेको खण्डमा भने अर्जेन्टिनाले कतारलाई हराए पनि पराग्वे ५ अंकसहित उपविजेता बनेर अर्को चरण जान्छ । त्यो बेला अर्जेन्टिनाले ‘उत्कृष्ट दुई’को नतिजा पर्खिनुपर्छ ।

के हो ‘उत्कृष्ट दुई’ ?
कोपामा भएका १२ टिमलाई ४–४ टिम गरी ३ समूहमा राखिएको छ । जसमा समूह चरणका खेलपछि समूह ‘ए’, समूह ‘बी’ र समूह ‘सी’बाट शीर्ष दुईमा रहेका टिम सोझै अन्तिम आठमा पुग्छन् । अर्थात् ६ टिम क्वार्टरफाइनल जान्छन् ।

बाँकी २ टिमलाई भने उत्कृष्ट दुईको विधिबाट लगिन्छ । यो भनेको, ३ वटै समूहको तेस्रो स्थानमा रहेका ३ टिममध्येबाट शीर्ष दुईमा पर्ने टिमलाई क्वार्टरफाइनलमा प्रवेश दिइन्छ । यदि ती ३ टिमबीच अंक बराबरी भए गोलअन्तरमा अगाडि रहने टिम अर्को चरण जान्छ । तसर्थ, उत्कृष्ट दुईमा पर्न पनि राम्रो गोलअन्तर आवश्यक हुन्छ ।

बेस्ट–२ मा पर्न अर्जेन्टिनाले कतारलाई हराउनैपर्ने
यदि अर्जेन्टिना शीर्ष दुईमा रहेर नकआउट चरण जान सकेन भने उत्कृष्ट दुईमा रहन पनि उसलाई सजिलो छैन । त्यसका लागि उसले कतारमाथि स्पष्ट जित निकाल्नैपर्छ । यदि उसले कतारलाई हराएको अवस्थामा उसको खातामा ४ अंक हुन्छ । र, यो उत्कृष्ट दुईमा पर्न सजिलो अवस्था हो ।

तर, यदि अर्जेन्टिना अन्तिम खेलमा कतारसँग पराजित भयो वा बराबरीमा रोकियो भने ऊ समूह चरणबाटै आउट हुनेछ । र, कतारका लागि अर्को चरणको ढोका खुल्नेछ । अर्थात्, अर्जेन्टिनाले अरू टिको भर नपर्न कतारलाई हराउनैपर्छ ।

अन्तिम खेल दुवैका लागि ‘गर वा मर’ बराबर !
अन्तिम खेल कतार र अर्जेन्टिना दुवैका लागि एकै अवस्था हो । यी दुवै टिम आफ्नो खेल जितेर अर्को चरण जान चाहन्छन् । अर्को खेलमा पराग्वे हारेको खण्डमा र यी दुईमधयेको विजेता टिम सोझै अर्को चरण जान्छ । तसर्थ, यो खेलको ३ अंक कति महत्त्वपूर्ण छ भन्ने कुरा कतार र अर्जेन्टिना दुवैलाई राम्रोसँग थाहा छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया