सिण्डिकेट अन्त्यपछि बढी भाडा लिने माथि कारवाहीको तयारी, सादा पोशाकमा प्रहरी परिचालन

५ बर्ष अगाडि

काठमाडौं । सिण्डिकेट अन्त्य गर्न आक्रामक रुपमा प्रस्तुत भएको सरकारले अब भाडाको विषयमा समेत प्रभावकारी कदम चाल्ने भएको छ ।

मनलाग्दी भाडा लिएर यात्रुलार्ई ठगी भइरहेको, छोटो दुरीमा समेत बढी भाडा लिएको तथा मनमौजी तवरले भाडा उठाउने गरेको भन्ने सूचना गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा परेपछि सरकारले सो सम्बन्धमा पनि विशेष हस्तक्षेप गर्ने तयारी गरेको छ ।

राजधानी काठमाडौंको न्यूनतम सवारी भाडा १३ रुपैयाँ भएपनि अधिकाशं सवारी साधनले खुद्रा नभएको भन्दै न्यूनतम भाडा वापत १५ रुपैयाँ लिदै आएका छन् ।

सिण्डिकेटको विरुद्ध सरकारले योजनाबद्ध रुपमा हस्तक्षेप गरेपछि देश भरबाटै यातायातसँग सम्बन्धित समितिका धेरै जसो पदाधिकारीलाई सरकारले नियन्त्रणमा लिइसकेको छ ।

गृह मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, यातायात व्यवस्था विभागलगायतका सम्वद्ध पक्षसँग छलफलको तयारी गरिएको छ । यातायात व्यवसायीले खुद्रा पैसा नभएको भन्दै दैनिक करोड माथि ठगी गरिरहेको उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ ।

‘सिण्डिकेट अन्त्य भयो, यातायात व्यवसायीले आजदेखि सहज रुपमा आफ्ना सवारी साधन चलाएका छन्, चलाउन नमान्ने माथि सरकारलेअ झै हस्तक्षेप गर्ने योजना समेत बनाएको छ । अब भाडाको विषयमा समेत सरकारले हस्तक्षेप गरेर न्यूनतम भाडा लागू गर्ने योजनामा छ’ गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

बढी भाडा असुल उपर गर्ने माथि कारवाही गर्न प्रहरीले सादा पोशाकमा आजैदेखि प्रहरी परिचालन गरेको छ । सादा पोशाकमा परिचालन गरिएका प्रहरीले दिने जानकारीका आधारमा सरकारले एकै पटक कारवाही गर्ने तयारी गरेको छ । विशेष गरी काठमाडौं उपत्यका र ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनले मनलाग्दी भाडा असुलेको बढी गुनासो आएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले न्यूनतम भाडा लागू नगर्ने व्यवसायीमाथि निगरानी सुरु भएको जानकारी दिएका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया