के तपाईंलाई थाहा छ, तपाईंको खल्तीमा सुनको खानी छ ?

४ बर्ष अगाडि

तपाईंलाई यदि हामीले तपाईंको खल्ती सुनको खानी हो भन्यौं भने पत्याउनुहुन्छ ?

हुँदैन नि ? तर यो शत प्रतिशत साँचो हो ।

सुनको यो खानी हो तपाईंको मोबाइल । मोबाइल मात्र होइन, ती सबै इलेक्ट्रोनिक सामानमा यति सुन हुन्छ कि जुन खानीमा निकै मुश्किलका साथ भेटिन्छ ।

कुनै खानीबाट तीनदेखि चार ग्राम सुन निकाल्नका लागि करिब एक टन विशेष धातु भएका खनिज छान्नु पर्छ । यस्तै, मोबाइल फोन, ट्याबलेट र ल्यापटपजस्ता एक टन इलेक्ट्रोनिक फोहोरबाट करिब तीन सय ५० ग्राम सुन निकाल्न सकिन्छ ।

मानव बस्तीमा भएका यी अन्जान सुन–चाँदीका खानीको दोहन टोकियोमा सन् २०२० मा हुने ओलम्पिक खेलका लागि हुने भएको छ ।

टोकियो सन् २०२० ओलम्पिकका आयोजकले खेलका मेडल अर्थात तक्मा ‘अर्बन माइनिङ’ मार्फत पाइएको धातुबाट तयार गरिने घोषणा गरेको छ । उक्त ओलम्पिकमा करिब पाँच हजार मेडल दिइनेछ ।

यसका लागि आयोजक समिती इलेक्ट्रोनिक फोहोरबाट मूल्यवान धातु निकालेर सुन, चाँदी र पित्तलका पदक तयार गर्नमा जुटेको छ । अर्थात्, संसारको सबैभन्दा प्रतिष्ठित खेलको मेडल फोहोरबाट तयार हुनेछ ।

फोहोरमा मूल्यवान् धातुः
प्रयोगपछि फ्याँकिने इलेक्ट्रोनिक सामानको फोहोर यतिबेला संसारमा तीब्र गतिमा बढिरहेको छ । यो निकै खतरनाक र विषालु फोहोर हो । तर, यी विद्युतीय फोहोरमा मूल्यवान धातुको खानी पनि हुन्छ ।

यही खानीबाट टोकियो सन् २०२० ओलम्पिकको मेडल बनाइनेछ । आयोजक समितीले जापानी जनतासँग काम नलाग्ने विद्युतीय सामान दान गरेर सहयोग गर्न अपिल गरेको छ ।

यो प्रोजेक्ट गत वर्षको अप्रिलबाट सुरु भएको थियो । आयोजकले अहिलेसम्म पाएको विद्युतीय फोहोरबाट १६.५ किलो सुन र एक हजार आठ सय किलो चाँदी निकालेको छ । जबकी आवश्यक पर्ने दुई हजार सात सय किलो पित्तल त उहिले नै जम्मा गरिसकिएको छ । टोकियो ओलम्पिक आयोजक समितिका प्रवक्ता मासा टकायाले आवश्यक पर्ने कूल सुनको ५४.५ प्रतिशत र ४३.९ प्रतिशत हाँसिल गरिसकिएको जानकारी दिएका छन् ।

संसारमा बढिरहेको विद्युतीय फोहोरलाई नियन्त्रण गर्न यो रोचक अभियानले निकै सहयोग गर्ने बताइएको छ । यतिबेला संसारका हरेक देशलाई विद्युतीय उपकरणको यस्तो लत लागेको छ कि हाम्रो धर्ती फोहोरले दिनप्रतिदिन ढाकिँदै छ ।

बढिरहेको छ इ–फोहोरः
संयुक्त राष्ट्रको आँकडा अनुसार सन् २०१६ सम्म संसारमा करिब साढे चार करोड टन विद्युतीय फोहोर पैदा भएको थियो । यो फोहोर हरेक वर्ष तीन–चार प्रतिशतको दरले बढिरहेको छ ।

यदि तपाईं यी विद्युतीय फोहोरलाई १८ पाङ्ग्रा भएका ४० टनको ट्रकमा भर्नु हुन्छ भने यसले १२.३ करोड ट्रक भरिनेछ । र यी ट्रकलाई लाइनमा राख्ने हो भने पेरिसदेखि सिंगापुरसम्मका दुई लेन सडक पनि भरिनेछ । सन् २०२१ सम्म संसारमा विद्युतीय फोहोर ५.२ करोड टन पुग्ने आशंका छ ।

संयुक्त राष्ट्रको एक रिपोर्ट अनुसार २० प्रतिशत काम नलाग्ने विद्युतीय उपकरण मात्र रिसाइकल गरिन्छ, अन्यलाई मानिसहरुले घरमै राखेर बिर्सन्छन् अथवा, यत्तिकै फ्याँकिदिन्छन् ।

यो मूर्खतामात्र होइन, निकै खतरनाक बानी हो । किनभने विद्युतीय फोहोरले हाम्रो माटो र पानीलाई विषालु बनाइदिन्छ ।

तर यी फोहोरलाई अब मूल्यवान् धातुको खानीको रुपमा पनि हेरिएको छ, र जापानले यसलाई उदाहरणको रुपमा पेश गरेको छ ।

संयुक्त राष्ट्रमा विद्युतीय फोहोरका विशेषज्ञ रियूडिगर क्यूहर भन्छन्, ‘जापानसँग प्राकृतिक स्रोत साधनको अत्यधिक कमी छ । यस्तोमा उनीहरुसँग विद्युतीय फोहोरबाट मूल्यवान् धातु निकाल्ने एक सुनौलो मौका छ ।’

ब्रिटिश कोलम्बिया युनिभर्सिटीकी मारिया होलुस्को भन्छिन्, ‘विद्युतीय फोहोरबाट धातु निकाल्नु थुप्रै पटक साँच्चैको खानीबाट सुन निकाल्नुभन्दा सय गुणा बढी फाइदाजनक हुन्छ । मारिया यसलाई ‘अर्बन–माइनिङ’ नाम दिन्छिन् ।

विद्युतीय फोहोरबाट सुन चाँदी र पेलेडियमजस्ता धातु निकाल्दा हामीले मूल्यवान् धातु त पाउँछौं नै यसले खानीको दोहोन पनि कम गराउँछ ।

मारियाका अनुसार यो व्यापारको निकै शानदार मौका हो, यसलाई गुमाउनु हुँदैन ।

हुन त ओलम्पिक मेडललाई पुनः प्रयोगमा ल्याउन मिल्ने सामानबाट बनाइन लागेको यो पहिलो घटना भने होइन । सन् २०१६ को रियो ओलम्पिकको क्रममा ३० प्रतिशत चाँदी जुन मेडल बनाउन प्रयोग भएका थिए, ती फ्याँकिएका ऐना र एक्स–रे प्लेटबाट निकालिएका थिए ।

रियो ओलम्पिकमा कास्यपदक बनाउन प्रयोग भएका ४० प्रतिशत तामा टकसालको फोहोर थियो । सन् २०१० मा भेन्कुवर विन्टर ओलम्पिक खेलको मेडल बनाउन १.५ प्रतिशत रिसाइकल गरिएका सामान प्रयोग भएका थिए । यी सामान बेल्जियमबाट आएका थिए ।

टोकियोमा के विशेष हुनेछ ?
टोकियोमा सन् २०२० मा हुने ओलम्पिक खेलको यो पहल दुई कुरामा विशेष छ । सुरुमा त यी सबै मेडल रिसाइकल गरिएका सामानबाट तयार हुनेछ । दोस्रो विशेष कुरा के छ भने आयोजक समितिलाई विद्युतीय फोहोर जापानी नागरिकले मात्रै दान गर्न सक्छन् ।

सन् २०१८ सम्म जापानका इलेक्ट्रोनिकको पसलले ४३.२ लाख बेकार मोबाइल फोन जम्मा गरेका थिए । यस्तै नगर निकाय संस्थाले ३४ हजार टन साना विद्युतीय उपकरण पाइसकेको थियो ।

एक जापानी वृद्ध महिलालाई एक प्रचार भिडियोमा देखाइएको छ जसमा उनी भनिरहेकी छिन्, ‘आफूले प्रयोग नगर्ने मैले पाँचवटा मोबाइल फोन दान गरेकी छु । यसरी ओलम्पिक खेलमा सहभागी हुन पाउँदा म निकै खुसी छु ।’

३५–४० वटा मोबाइल फोनबाट तपाईं एक ग्राम सुन निकाल्न सक्नुहुन्छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अनुसार ओलम्पिक खेलको सुनको मेडलमा कम्तिमा पनि ६ ग्राम सुन हुनुपर्छ ।

सुनको यस्तो खोजीबारे संसारभरी निकै चर्चा भइरहेको छ । यसका लागि थुप्रै मेडल बिजेताले पनि आफ्नो पुराना विद्युतीय उपकरण दान दिएका छन् ।

विद्युतीय फोहोर यति धेरै छन् कि त्यसको रिसाइकलका लागि अपार सम्भावना छन् । जापानमा अहिलेसम्म जम्मा गरिएका फोहोर देशको कूल विद्युतीय उपकरणको तीन प्रतिशत मात्रै हो ।

जापानमा करिब २० लाख टन विद्युतीय फोहोर भएको हुनसक्ने संयुक्त राष्ट्रले अनुमान लगाएको छ ।

विद्युतीय फोहोरबाट सुन चाँदी निकादेपछि बाँकी भाग के गर्ने, त्यसबारे अहिले योजना बनाइएको छैन । जापानमा जुन विद्युतीय फोहोर जम्मा गरिएका छन्, ओलम्पिक समितिले त्यसबाट सुन, चाँदी वा तामा मात्रै निकाल्नेछ । अरु फोहोर के गरिन्छ त्यसबारे कसैले केही बोलिरहेका पनि छैनन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया