भारतीय आलुमा अत्यधिक विषादी भेटियो

४ बर्ष अगाडि

भैरहवा — सुनौली–भैरहवा नाका हुँदै भारतबाट आयात गरिएको एक ट्रक आलुमा अत्यधिक विषादी भेटिएको छ । भारतबाट आयात गरिएका तरकारी तथा फलफूलको विषादी जाँच गरेर मात्रै भन्सार पास गर्न थालिएपछि यस नाकाबाट नेपाल भित्रिन लागेको तरकारीमध्ये अत्यधिक विषादी भेटिएको यो पहिलोपटक हो ।

यो नाकाबाट आयात गरिएको आलुको नमुना परीक्षण गर्दा खान नमिल्ने गरी विषादी प्रयोग भएको पाइएको छ । बुटवलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा परीक्षण गर्दा आलुमा कार्बामेट र अर्गानोफस्फेट नामक घातक विषादीको उच्च प्रयोग भएको पाइएको हो ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि अहिले बुटवलको थोक हाटबजारमा रहेको प्रयोगशालामा सीमाबाट भित्रिन लागेका तरकारी तथा फलफूल विषादी परीक्षणका लागि पठाउन थालिएको छ । भैरहवा भन्सार कार्यालयको तथ्याकंअनुसार भन्सारको २५५७८ नम्बरको चलानीबाट असार २७ गते पठाइएको परीक्षण प्रमाणमा विषादीको प्रयोग उच्च भएको पाइएको छ ।

परीक्षण रिपोर्टमा अर्गानोफस्फेटको मात्रा ४०।२०५ र कार्बामेट ४४।१८० पाइएको हो । यूपी ५६ टी ६६०६ नम्बरको भारतीय ट्रकबाट ढुवानी गरिएको उक्त आलु प्रिन्सा ट्रेडिङ रूपन्देहीले आयात गरेको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय बेलहियाका प्रमुख बाली संरक्षण अधिकृत विष्णुप्रसाद काफ्लेले ती दुवैको मात्रा ३५ भन्दा माथि हुन नहुने बताए । कान्तिपुरमा खबर छ । 

‘परीक्षणका क्रममा सामान्यभन्दा विषादी धेरै प्रयोग गरेको पाइयो,’ काफ्लेले भने, ‘आलुसहितको उक्त ट्रक तीन दिनसम्म भन्सारमै राखेर आइतबार पुनः विषादी परीक्षणपश्चात् बल्ल छाडिएको छ ।’ उक्त ट्रकको आलुको नमुना पुनः आइतबार परीक्षण गर्दा विषादीको मात्रा घटेर अर्गानोफस्फेट ३१.४२३ र कार्बामेट १६.९४८ मा झरेको थियो ।

३५ प्रतिशतसम्म अर्गानोफस्फेट र कार्बामेट विषादी प्रयोग गरिएको तरकारी तथा फलफूल उपभोग गर्न सकिने, ३५ देखि ४५ प्रतिशतसम्म विषादी मिसिएको कृषि उपज २–३ दिन भन्सार विन्दुमै राखेर पुनः परीक्षण गरी विषादीको मात्रा घटेपछि आयातको अनुमति दिन सकिने र ४५ भन्दा माथि रहेमा तत्काल नष्ट गर्नुपर्ने मापदण्ड छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया