राजश्व उठाउन ओली सरकार असफल, के प्रभाव पर्ला अर्थतन्त्रमा ?

४ बर्ष अगाडि

काठमाडौ – गत आर्थिक वर्षमा लिएको लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल भएको छ ।  असार ३१ गते मंगलबारसम्म सरकारले रु ८ खर्ब ३५ अर्ब हारहारीमा मात्र राजश्व संकलन गरेको छ ।

गत वर्ष सरकारले रु ९ खर्ब ४५ अर्बको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य अनुसार रु १ खर्ब ३५ अर्ब उठाउन सरकार असफल भएको हो । आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क लक्ष्यअनुसार असुली नभएपछि यसको असर समग्र राजश्व परिचालनमा परेको हो । अर्थ मन्त्रालयका अनुसार रु  ८ खर्ब ३५ अर्ब हारहारीमा मात्र राजश्व संकलन भएको छ ।

लक्ष्यअनुसार नउठ्ने भएपछि ६ महिनाको मध्यवाधि मूल्याँकनमा राजश्व लक्ष्य घटाएर रु ९ खर्ब १७ अर्ब मा झारिएको थियो । यो लक्ष्य पनि पुरा नहुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा रु ८ खर्ब ६० अर्ब संशोधित अनुमान सार्वजनिक गरेका थिए ।

पछिल्लो लक्ष्य पनि भेट्टाउन सरकार असफल भएको हो । पछिल्लो अनुमान भन्दा २५ अर्ब रुपैयाँ कम राजश्व संकलन भएको छ । गत वर्षको अवस्थालाई हेर्दा यो वर्ष पनि रु ९ खर्ब ८० अर्ब राजश्व परिचालको लक्ष्य पुरा हुने संभावना कम देखिएको छ ।  

गत आर्थिक वर्षमा रु १ खर्ब ९० अर्ब आयकर उठेको छ । गत वर्ष रु २ खर्ब ९ अर्ब ६८ करोड आयकर उठाउने लक्ष्य राखिएको थियो । राजश्व लक्ष्य पुरा नहुनुमा आयकरको भुमिका महत्वपुर्ण देखिएको छ ।

यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) असुली समेत कम भएको छ । सरकारले रु २ खर्ब ५० अर्ब भ्याट असुलीको लक्ष्य राखेकोमा रु २ खर्ब ४० अर्ब मात्रै उठेको छ ।

सरकारले मोवाइल सेवा प्रदायक एनसेल प्रालिबाट झण्डै रु ४० अर्ब लाभकर असुल गर्न सकेन । यस्तै दुरसञ्चार सेवा प्रदायकबाट पनि साढे ४ अर्ब भन्दा बढी वक्यौता असुल भएन । एनसेलको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ ।

यस्तै सरकारले पुँजीगत खर्च गर्न नसक्दा राजश्वको थप स्रोत सिर्जना हुन सकेन । सरकारले लक्ष्यअनुसार खर्च गरेको भए आयकर, भ्याटलगायत राजश्व उठ्ने थियो । यसले पनि राजश्व संकलनमा असर गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा रु ७ खर्ब ३० अर्ब राजश्व संकलन लक्ष्य लिएकोमा रु ७ खर्ब २८ अर्ब मात्र असुली भएको थियो । वेरुजु असुलीलाई पनि राजश्वमा राखेर अर्थ मन्त्रालयले रु ७ खर्ब ३२ अर्ब असुली भएको देखाएको थियो ।  राजश्व संकलन २० देखि २२ प्रतिशत हारहारीम बढ्ने गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया