श्रीमतीको हत्या गर्ने श्रीमान् सहित ३ जना पक्राउ

४ बर्ष अगाडि

कास्की – आफ्नै श्रीमतीको हत्या गरी जङगलमा फाल्ने घटनाका मुख्य योजनाकार अर्थात निज महिलाका श्रीमान् सहित थप ३ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले कानूनी कठघेरामा उभ्याउन सफल भएको छ । 

मकवानपुर घर भई हाल पोखरा महानगरपालिका-१० रामबजारमा मोवाइल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले आफ्नै धर्म पत्नी २८ वर्षिय लक्ष्मी नेपालीलाई यही असार १ गते भारतबाट सुपारी किलर झिकाई  हत्या गर्न लगाएका हुन् ।

घटनाको विषयमा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको कास्की प्रहरी साथै गण्डकी प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान समूहले भने उनको हरेक क्रियाकलाप माथी शंका गरी निग्रानी गरीरहेको थियो, अनुसन्धानको क्रममा यही असार १ गते पोखरा महानगरपालिका-२२ पुम्दिभुम्दी स्थित ठुल्ढुङ्गाको जङ्गलमा खुट्टाको औषधीको लागि जडिवुटि खोज्न भनि आफ्नी श्रीमतीलाई उक्त जङगलमा लगी सुपारी किलरहरुलाई जिम्मा लगाएको भनि उनका श्रीमान् रमेश नेपालीले प्रहरी समक्ष बयान दिएका छन्  । 

श्रीमतीको हत्यापछि भने उनी आफ्नी श्रीमतीलाई खोजीदिन भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिनुका साथै वारम्बार प्रहरी कार्यालयमा धाउने र मिडियाहरुसंग समेत सहयोगका लागि हार गुहार गरेका थिए । अन्तत: उनलाईनै नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएपछि भने उनलेनै श्रीमतीको हत्या गर्न लगाएको खुल्न आएको हो ।  घटना भएको २५ दिनपछी दोषी पत्ता लागेपछी तत्कालै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको कमाण्डमा घटना स्थलमा खटिएको प्रहरी टोलीले घटनास्थलमा २५ दिन अघि हत्या गरिएकी लक्ष्मीको अस्थिपञ्जर मात्रै फेला पारेको थियो ।

घटनाका विषयमा थप अनुसन्धान गर्दैजाँदा उक्त घटनामा संलग्न अन्य ३ जना समेत कानूनी दायरामा आएका छन् ।

हत्याका लागि भारतबाट सुपारी किलर व्यवस्था गरीदिने भोजपुर जिल्लाको भोजपर नगरपालिका-५ बैङकरोड घर भई हाल पोखराको महेन्द्रपुलमा मोबाईल पसल गरि बस्ने ३२ वर्षिय संजय शर्मा, सर्लाही ईश्वरपुर नगरपालिका-३ तिनघरीया घर भई हाल पोखराको पृथ्वीचोकमा मोबाईल पसल गरी बस्ने २६ वर्षिय चित रञ्जन कुमार साह र घटनाको षडयन्त्रमा संलग्न गोरखाको गण्डकी गाउँपालिका-७ घ्यालचोककी १९ वर्षिया अनु परियारलाई समेत कास्की प्रहरीले पक्राउ गरी यहि श्रावण १ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

हत्यामा धारिलो हतियार प्रयोग भएको र हत्यामा संलग्न रहेका अन्य ३ जनालाई समेत कास्की प्रहरीले खोजि गरिरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया