बालबालिकाले खाने कुल क्यालोरीको एक चौथाई हिस्सा बजारको खानाबाट !

४ बर्ष अगाडि

काठमाडौँ – नेपालमा दुई वर्ष मुनिका बालबालिकाले खाने कुल क्यालोरीको एक चौथाई हिस्सा बजारको खानाबाट पाइरहेको अध्ययनले देखाएको छ ।  
अनुसन्धानदाताले यस्तो खानपानले बालबालिकामा होचोपन अथवा कुपोषण गराइरहेको देखाएको छ ।

अध्ययनमा नेपालमा पौष्टिक खानालाई बढ्दो रुपमा बिस्कुट, क्रिस्प्स, चाउचाउ र गुलियो पेय पदार्थले विस्तापित गरिरहेको देखिएको छ । अनुसन्धानदाताले बच्चा राम्रोसँग हुर्कनको लागि खानामा भिटामिन, मिनरल र अन्य महत्वपूर्ण पौष्टिक हुनुपर्ने बताएका छन् । 

‘जर्नल अफ न्युट्रिसन’मा प्रकाशित भएको उक्त अनुसन्धानले बजारमा उपलब्ध जंक खानाले मोटोपन मात्र गराउने नभएर बच्चाको वृद्धिसँग पनि भूमिका खेल्ने देखाएको छ ।  
अध्ययनमा काठमाण्डौं उपत्यकाका १२ देखि २३ महिनाबीचका ७४५ बालबालिकालाई समाबेश गरिएको छ । 

यो अध्ययन निम्न आय भएको मुलुकमा साना बालबालिकालाई स्न्याक खानाले कस्तो असर गर्छ भनेर खोज गरिएको पहिलोमध्य अध्ययन हो । 
अनुसन्धान अन्तराष्ट्रिय स्वास्थ संगठन हेलन केलर इन्टरनेसनलका अनुसन्धानदाताले गरेका हुन् । अध्ययनमा सहभागी सबै बालबालिकाले जंक खाना खाएको पाइएको थियो, मात्र धेरथोरैमा भिन्नता थियो । 
बालबालिकाले उपभोग गर्ने कुल क्यालोरीमा आधा क्यालोरी उच्च मात्राको चिनी, नुन र फ्याटयुक्त स्न्याक्सबाट लिइरहेका बालबालिका त्यही उमेर समूहका सामान्य बालबालिकाभन्दा होचा पाइएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया