भूकम्पको चार वर्षपछि बन्दै मल्लकालीन कोटभैरव मन्दिर

४ बर्ष अगाडि

विश्वमै प्रसिद्ध नेपालको पर्यटकीय स्थल पोखराको दक्षिण भेग पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्ने भएको छ ।

भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर भत्काएर कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिको सक्रियतामा प्यागोडाशैलीमा नयाँ स्वरुपमा मन्दिर बनाउन थालिएको हो । मल्लकालीन समयदेखि अस्तित्वमा आएको मन्दिरको ऐतिहासिक एवं यहाँको सांस्कृतिक महत्वसमेतलाई उजागर गर्ने गरी रु ३५ लाख लागतमा प्राचीन कलायुक्त मन्दिर निर्माण गर्न लागिएको समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिनुभयो ।
    
उहाँका अनुसार २४ फिट उचाइको प्यागोडाशैलीको मन्दिरमा भक्तपुरका कलात्मक इँटाको प्रयोगका साथै झ्याल, ढोका कुँदेर राखिनेछ । तामाको पाताको छानाका साथै काठका कलात्मक झल्लरीबाट मन्दिरलाई सजाइने छ । मन्दिरको निर्माणका लागि पोखरा महानगरपालिका–३३ बाट रु १० लाख २० हजार सहयोग प्राप्त भएको र अन्य थप रकम भने चन्दा सहयोग आदिबाट सङ्कलन गरिने समितिको लक्ष्य छ ।
    
नेपालका बाइसे–चौबीसे राजाका पालादेखि नै पूजाआजा हुँदै आएको मन्दिरमा जग खन्ने क्रममा प्राचीन माटोको इँटा पाइएको समितिका सचिव कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । “जग खन्ने क्रममा ठूलाठूला ढुङ्गाका बीचमा इँटा राखेर त्यहाँ कालो माटोले टालेको पायौँ”, उहाँले भन्नुभयो, “मल्लकालीन समयमा काठमाडौँबाटै इँटा ल्याउने प्रचलन रहेका कारण यहाँ पाइएका इँटा उहीँबाट ल्याइएका हुन् कि भन्ने हामीलाई लागेको छ ।”
    
तत्कालीन समयदेखि नै मन्दिरको नियमित पूजाआजाका लागि गुठी जग्गा व्यवस्था गरिए पनि पछिल्ला समयमा बढ्दै गएको कृषिप्रतिको अनिच्छाका कारण ती जग्गा बाँझै छन् । मन्दिरमा विभिन्न जातजातिका लागि गुठी जग्गा छुट्याइएको थियो । गुठी जग्गामा खेती नगरिएका कारण समितिका लागि नियमित पूजाआजा खर्चिलो बन्दै गएको अध्यक्ष महतले बताउनुभयो ।
    
मन्दिरमा मगर पुजारीका साथै ब्रह्माणले पूजा गर्ने गर्दछन् । विशेष गरी कोटभैरव मन्दिरमा साउने सङ्क्रान्तिमा सामूहिक रुपमा लुतो फालिन्छ भने आश्विन शुक्ल पक्ष (बडादशैँ) र चैत्र शुक्ल पक्ष (चैते दशैँ) मा विशेष पूजा गरिन्छ । 

देशका अन्य शक्तिपीठमा जस्तै बडादशैँमा विधिवत् घटस्थापना गरी फूलपाती भित्र्याउने, महाअष्टमी कालरात्रि, महानवमीको विशेष पूजा गरी विजया दशमीका दिन सामूहिक टीका, प्रसाद लगाउने गरिन्छ ।
    
कोटभैरव मन्दिरको नाममा झण्डै १०० भन्दा बढी रोपनी गुठी जग्गा रहेको र त्यसको यकिन तथ्याङ्क निकाल्न समितिले पहल थालेको सचिव पौडेलको भनाइ छ । कोटभैरव मन्दिर धार्मिक तीर्थस्थलका साथै पर्यटकीयस्थल पनि हो । 

अत्यन्त रमणीय यस ठाउँबाट माछापुच्छ«्रे हिमालका साथै कास्की, तनहुँ, लमजुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायतका जिल्ला एकैसाथ अवलोकन गर्न सकिन्छ । यहाँ नजिकै रहेको हुडिकोटबाट त पोखराको फेवातालसहित सात तालको शहर उपमा पाएको लेखनाथलाई सजिलै हेर्न सकिन्छ ।

दर्शन गरेमा चिताएको पुग्ने जनविश्वाससमेतले पोखरासहित आसपासका जिल्लाबाट कोटभैरव पुगेका दर्शनार्थीले यहाँबाट देखिने मनोरम दृश्यको अनुपम स्वादमा रमाउने गर्दछन् । समुद्री सतहबाट एक हजार १६५ मिटरको उचाइमा रहेको यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ्खला तथा सेती नदी, लेखनाथका सात ताल, पोखराको फेवातालसहितका दृश्य एकसाथ नियाल्न सकिन्छ ।

पर्यटकीय आकर्षणको प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेपछि स्थानीय बरेली युवा क्लबको आयोजनामा २०६९ सालमा यस क्षेत्रको प्रवद्र्धन गर्न प्रथम हुँडिकोट महोत्सव गरिएको थियो । 

विगतमा यातायातको असुविधाका कारण यहाँ पुग्न कठिनाइ हुने गरेकामा अहिले पोखराको विरौटा र गगनगौँडा हुँदै छुट्टाछुट्टै सार्वजनिक बस सञ्चालन भएकाले पर्यटकलाई सजिलो भएको छ । पोखराबाट लगभग १७ किलोमिटर टाढा पर्ने यो ठाउँसम्म नै अहिले कालोपत्रे सडक भएकाले निजी सवारीसाधन हुनेका लागि त बरदान नै सावित भएको समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले बताउनुभयो ।

चौबीसै घण्टा शीतल हावा लागिरहने यो ठाउँ बर्खा होस् वा हिउँद जुनसुकै समयमा वरपरका क्षेत्रमा हुस्सु, कुइरो लाग्दासमेत सधैँ खुलेको हुन्छ । निर्माणाधीन मन्दिरले पूर्णता पाएसँगै यसले कोटभैरवको ऐतिहासिक एवं धार्मिक महत्वलाई अझै बढाउने र यो धार्मिक पर्यटनको आकर्षकस्थल बन्ने विश्वास लिइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया