सामुदायिक वनमा पार्क निर्माण

४ बर्ष अगाडि

घ्वाङखोला सामुदायिक वनमा उड्डयन पार्क निर्माण गरिएको छ । 

वालिङ नगरपालिका–८ र १० मा पर्ने घ्वाङखोला सामुदायिक वनमा डिभिजन वन कार्यालय स्याङ्जाको सहयोगमा पार्क निर्माण गरिएको हो । पार्क निर्माण भएसँगै वालिङ बजारवासीका लागि बजारको कोलाहलबाट शान्त ठाउँमा गएर केही समय आराम गर्ने र घुमघाम गरेर केही समय बिताउने स्थलका रुपमा सो वन विकास हुँदै गएको छ । 

डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले वातावरणको संरक्षणका साथै सामुदायिक वनलाई दिगो आम्दानीको स्रोतका रुपमा विकास गर्ने उद्देश्यले मिनी जू निर्माण गर्ने योजनामा कार्यालय रहेको बताउनुभयो । 

वालिङ नगरपालिका–१० का वडाध्यक्ष अनन्तराज गैह्रेले सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले यहाँ विभिन्न प्रकारका संरचनाहरु निर्माण गरिएको बताउनुभयो । नगरपालिकाभित्र बजार क्षेत्रको नजीकै घुमेर केही समय बिताउने ठाउँ नभएकाले बजारदेखि नजीकै रहेको सामुदायिक वनलाई पार्कसँगै पर्यटकीयस्थलका रुपमा विकास गर्न लागेको जानकारी दिनुभयो । 

सब डिभिजन वन कार्यालय वालिङका सहायक वन अधिकृत हेमलाल न्यौपानेले १३० हेक्टर जमीनमा फैलिएको घ्वाङखोला सामुदायिक वनमा शहरी वन प्रवद्र्धन तथा उड्डयन पार्क निर्माण गर्नका लागि कार्यालयले रु १५ लाख उपलब्ध गराएको जानकारी दिनुभयो । सो सामुदायिक वनमा निर्माण गरिएको पार्कमा भगवानका मूर्ति, बालबालिकाका लागि झुला, पुल, पोखरी, वनभोजस्थल लगायतका विभिन्न मनोरञ्जन साधनहरुसमेत निर्माण गरएको छ । 

पार्क निर्माण भएसँगै विभिन्न समयमा घुम्न जानेका साथै साथीसँगी मिलेर वनभोज खान जानेको समेत सो स्थानमा भीड लाग्ने गरेको छ । गर्मी बढेसँगै गर्मी छल्न र मनोरञ्जन लिन जानेको सङ्ख्यासमेत दिन प्रतिदिन बढ्दै गएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया