(Thursday, 22 August, 2019)
By: आजको अर्थ
साउन २८, २०७६

  काठमाडौँ – सेयर बजारका अधिकांश लगानीकर्तालाई सेयरको मूल्य घट्दा हुने घाटाको बढी चिन्ता हुने गर्छ। हुनु स्वभाविक पनि हो। तर आफूले कारोबार गरी रहेको ब्रोकर, इकाइ किनेको म्युचुअल फण्ड, आफूले बिमा गरेको विमा कम्पनी, पैसा जम्मा गरेको बैंक वा फाइनान्स कम्पनी टाट पल्टे वा डुवे के हुन्छरु भन्ने बारे कमैले सोचेका हुन सक्छन्।

अधिकांशमा यी संस्था कहिल्यै टाट पल्टदैनन् भन्ने एक प्रकारको सोचाइ विकसित भएको हुन सक्छ। कम्पनी टाट नपल्टुन्जेल त्यस तर्फ कसैले सोच्न भ्याएकै हुँदैनन्। तर कम्पनी वा यस्ता सँस्था कुनै पनि बेला टाट पल्टन सक्छन् वा डुब्न सक्छन जसका कारण हाम्रो पैसामा ठूलो जोखिम सिर्जना हुन्छ र लगानी डुब्न पनि सक्छ। जस्तो नेपाल विकास बैंक, सम्झना फाइनान्स डुवेका केही उदाहरण हुन्।

हाम्रो पैसा वा लगानीको मध्यस्थता गर्ने संस्थाको कारण लगानीमा हुने जोखिमका बारेमा पनि हामी चिन्तित हुनु आवश्यक छ। यसबारेमा लगानीकर्ता मात्र नभई यसका नियामक अझ बढी चिन्तित हुनुपर्छ। किनकि नियामकको कमजोर नियमनका कारण धेरै सर्वसाधारणको अर्वौ जोखिममा पर्न जान्छ।

तर नेपालमा नियामकमा यस बारेमा चिन्ता देखिँदैन। न सेयर बजारको नियामक धितोपत्र बोर्ड चिन्तित देखिन्छ न बिमा कम्पनीको नियामक विमा समिति नै।

बैंक टाट पल्टेमा
नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका वाणिज्य बैक, बिकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तमा हामीले राखेकोे दुई लाख रुपैयाँ (निक्षेप) सम्मको बिमा हुन्छ। निक्षेप तथा कर्जा सुरक्षण कोषले त्यसको बिमा गर्छ जसका लागि हामीले कुनै शुल्क बुझाउनु पर्दैन, बैंकले आफै तिर्छन।तर सहकारीमा राखेको पैसाको कुनै बिमा हुँदैन। सहकारी डुबेको खन्डमा हाम्रो सवै पैसा डुब्न सक्छ।

तर विकसित देश जस्तो क्यानडामा सहकारीमा रहेको निक्षेपको पनि बिमा गरिन्छ र त्यस्तो बिमा गर्न हरेक प्रान्तमा ‘क्रेडिट युनियन डिपोजिट इन्स्युरेन्स कर्पोरेसन’ स्थापना गरिएको छ । कतिपय प्रान्तमा सबै निक्षेपको विमा हुने व्यवस्था छ भने कतिपयमा बढीमा एक लाख डलर सम्मको बिमा हुन्छ।

नेपालमा बैंक टाट पल्टे वा डुबेर निक्षेप फिर्ता गर्न नसकेको खण्डमा दुई लाख रुपैयाँ सम्म निक्षेप तथा कर्जा सुरक्षण कोषले तिर्ने ग्यारेन्टी गर्छ । एउटा बैंकमा एक व्यक्तिको जतिवटा खाता भए पनि दुई लाख रुपैयाँ सम्म बिमा गरिएको हुन्छ।

संस्थाले राखेको पैसाको बिमा हुँदैन। जस्तो कुनै एक बैंकमा बचत तथा मुद्दति खातामा तपाईको ५ लाख रुपैयाँ जम्मा छ। उक्त बैंक डुबेमा दुई लाख रुपैयाँ पाउने निश्चित हुन्छ तर बाँकी तीनलाख फिर्ता पाइन्छ नै भन्ने हुँदैन। डुब्न पनि सक्छ। तर सोहि पैसा बाँडेर तीन वटा बैंक जस्तो एउटामा दुई लाख, अर्कोमा दुई लाख र बाँकी एकलाख तेस्रो बैंकमा राखे सबै पैसा सुरक्षित हुन्छ।

यसैले पनि बैकमा पैसा राख्दा बैंकको व्यावस्थपन लगायत वित्तीय अवस्था बुझ्न आवश्यक हुन्छ। हरेकजसो देशमा बैंक तथा वित्तीय संस्थामा निक्षेपकर्ताले राखेको पैसाको बिमा गरिएको हुन्छ तर बिमा हुने रकम भने फरक फरक हुन सक्छ। नेपालमा अधिकतम दुई लाख रुपैयाँ छ भने क्यानडामा एक लाख डलर र अमेरिकामा दुई लाख ५० हजार डलर सम्मको बिमा हुन्छ।
 
बिमा कम्पनी टाट पल्टेमा
अर्कोतर्फ विमा कम्पनी डुबे के हुन्छरु हामीले जीवन बिमा गरेको हुन सक्छौँ। गाडिको बिमा गरेको हुन सक्छौँ। घरको बिमा गरेको हुन सक्छौँ। तर हाम्रो बिमा गर्ने कम्पनी नै डुबेमा हाम्रो पैसाको सुरक्षा कसरी हुन्छरु

नेपालमा बिमा कम्पनी डुवे वा टाट पल्टेको खण्डमा बिमितको पैसाको सुरक्षाको कुनै व्यवस्था छैन। पैसा पाउन पनि सकिन्छ नपाउन पनि सकिन्छ। तर विकसित देशमा बिमा कम्पनी टाट पल्टेको अवस्थामा उसको दायित्वको सुरक्षा गर्ने संस्था स्थापना गरिएको हुन्छ।

जस्तो क्यानडामा जीवन बिमा कम्पनी टाट पल्टेमा विमाङ्कीय रकमको ८५ प्रतिशत रकमको ग्यारेन्टी गरिएको हुन्छ। जस्तो कसैले पाँच लाख डलरको बिमा गरेको छ र उक्त बिमा कम्पनी टाट पल्टियो भने पाँच लाखको ८५ प्रतिशत अर्थात ४ लाख २५ हजार रकमको ‘एस्युरेस’ भन्ने संस्थाले ग्यारेन्टी गर्छ।

त्यस्तै निर्जीवन बिमा तर्फ ‘प्रोपर्टी तथा क्याजुल्टी इन्स्युरेन्स कम्पेन्सेसन कर्पोरेसन’ले बढीमा तीनलाख डलर सम्मको ग्यारेन्टी गर्छ।

म्युचुअल फण्ड टाट पल्टेमा
अहिले म्युचुअल फण्ड खोल्नेको होड नै चलेको छ। हरेक जसो बैंक आफ्ना सहायक कम्पनी मार्फत म्युचुअल फण्ड सँचालन गर्ने होडमा छन् जसमा सर्वसाधारणको अर्बौ रुपैयाँको लगानी छ । तर यी म्युचुअल फण्ड संचालन गर्ने कम्पनी टाट पल्टेमा म्युचअल फण्डमा लगानी गर्नेको पैसा के हुन्छ भन्ने कुनै स्पष्ट व्यवस्था छैन।

लगानीकर्तामा बजारको जोखिम त छ नै। यी सँस्था डुब्दाको अर्को जोखिम पनि छ। म्युचुअल फण्ड टाट पल्टेका कारण उत्पन्न जोखिमको बिमा हुन आवश्यक छ । तर नेपालमा हालसम्म त्यस्तो कुनै व्यवस्था छैन।

कसैले बजारमा कारोबार गर्दा हुने नोक्सानको बिमा हुन सक्दैन। तर म्युचुअल फण्ड सँचालन गर्ने संस्था टाट पल्टेका कारण त्यसमार्फत लगानी गर्ने लगानीकर्तामा उत्पन्न जोखिमको बिमा गर्न सकिन्छ। जस्तो कसैले दुई लाखको म्युचुअल फण्ड किनेको छ तर आज उक्त म्युचुअल फण्ड टाट पल्टियो भने लगानीकर्ताको दुई लाखमा किनेको म्युचुअल फण्डको आजको कुल बजार मूल्यको बिमा हुन सक्छ।

जस्तो क्यानडामा ‘म्युचुअल फण्ड डिलर एसोसिएसन इन्भेष्टर्स प्रोटेक्सन फण्ड’ ले दशलाख डलर सम्मको बिमा गर्छ। जस्तो कुनै म्युचुअल फण्ड टाट पल्टेमा त्यसका लगानीकर्ताको दशलाख डलर सम्मको बिमा हुन्छ।

यसको अर्थ म्युचअल फण्ड टाट पल्टिएको समयमा कसैको लगानीको कुल बजार मूल्य १२ लाख डलर रहेछ भने उसले दशलाख डलर सम्म पैसा पाउँछ। तर कसैको ५ लाख डलर बजार मूल्य बराबरको लगानी रहेछ भने उसले पुरै रकम पाउँछ।

सेयर ब्रोकर टाट पल्टेमा
तपाईंले सेयर कारोबार गरिरहेको ब्रोकर टाट पल्टे ब्रोकर सँग भएको तपाईको पैसा तथा सेयर के हुन्छरु त्यसको सुरक्षाका बारेमा हामीले कहिल्यै सोचेका छौँरु धेरैले सोचेर पनि उत्तर नपाएको हुन सक्छ । ब्रोकर टाट पल्टेका कारण त्यसबाट उत्पन्न जोखिमको नेपालमा कुनै प्रकारको बिमा छैन। हाम्रो सवै पैसा वा सेयर डुब्न पनि सक्छ।

धितोपत्र ऐन २०६३ मा ब्रोकरले आफ्नो व्यवसायको बिमा गर्नुपर्ने व्यवस्था गरिएपनि त्यसको स्पष्ट व्यवस्था धितोपत्र बोर्डले गर्न सकेको छैन र हाल सम्म कुनै पनि ब्रोकरले आफ्नो व्यवसायको बिमा गरेका पनि छैनन्। तर अन्य देशमा लगानीकर्ता संरक्षण कोष मार्फत यस प्रकारको बिमा गरिन्छ। लगानीकर्ताले कारोबार गरेर हुने घाटाको क्षतिपुर्ति गर्ने भन्दा पनि ब्रोकर टाट पल्टेका कारण लगानीकर्तालाई हुने नोक्सानीको क्षतिपुर्ति गर्न यस्तो कोष बनाइएको हुन्छ।

जसमा हरेक ब्रोकर कम्पनी सदस्य हुन्छन् र निश्चित शुल्क बुझाउँछन । नेपालमा पनि लगानीकर्ता संरक्षण कोषको कुरा निकै उठ्यो तर अझ सम्म बन्न सकेको छैन । ब्रोकरबाट पैसा पनि उठाइयोे तर नेपाल स्टक एक्सचेन्जले त्यसको कुनै व्यवस्थापन गर्न सकेन र बेपत्ता बनायो। नेप्सेको अहिलेको व्यवस्थापनले उक्त कोषका बारेमा कुनै जवाफ दिएको छैन।

जसको वास्तविकता बाहिर आउन आवश्यक छ। जस्तो क्यानडामा ब्रोकर कम्पनी टाट पल्टे त्यसमार्फत लगानी गरेका लगानीकर्ताको दशलाख डलर सम्मको नोक्सान ‘क्यानेडियन इन्भेष्टर्स प्रोटेक्सन फण्ड’ले वेहोर्छ वा तिर्छ। जस्तो कुनै ब्रोकर कम्पनीमा कसैको एक लाख डलर नगद र १२ लाख डलर बजार मूल्य बराबरको पोर्टफोलियो थियो तर उक्त ब्रोकर कम्पनी टाट पल्टियो भने लगानीकर्ताले नगद र सेयरको कुल मूल्य सबै गरेर दश लाख डलर बराबर पैसा ‘क्यानेडियन इन्भेष्टर्स प्रोटेक्सन फण्ड’ बाट तत्काल प्राप्त गर्छ।
 
अब के गर्नेर ?
नेपालमा बैंकमा राखेको पैसाको केही भए पनि बिमा हुने व्यवस्था छ तर बिमा र सेयर कारोबार गर्ने सँस्था टाट पल्टेमा त्यसबाट लगानीकर्तामा उत्पन्न जोखिमको बिमा हुने व्यवस्था छैन। बिमा समिति र नेपाल धितोपत्र बोर्डले यसबारेमा बेलैमा सोच्न आवश्यक छ।

जस्तो यिनको बिमाका लागि अलग्गै सँस्था स्थापना गर्नु भन्दा पनि बैंकमा रहेको निक्षेपको बिमा गरि रहेको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत नै बिमा गर्ने व्यवस्था गरे चाँडो र कम लागतयुक्त हुन सक्छ। यसका लागि धितोपत्र बोर्डले अग्रसरता लिनु पर्छ।

ब्रोकर, म्युचुअलफण्ड, पोर्टफोलियो म्यानेजमेन्ट कम्पनी, मर्चेन्ट बैंक यी सबै सँस्था निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्य भइ टाट पल्टेको अवस्थामा यसका लगानीकर्तामा उत्पन्न जोखिमको न्युनिकरण गर्न सकिने व्यवस्था गर्न सकिए नेपालको सेयर बजार पनि केही सुरक्षित हुन सक्थ्यो ।–  रबिन्द्र भट्टराई



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत