नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुन्छ : डा. भट्टराई

४ बर्ष अगाडि

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन् । उनले भने,‘बैठक राम्रो र सकारात्मक हुन्छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको सुनाए । यद्धपी उनले कतिपय विषयहरु समाधानउन्मुख रहेका पनि जिकिर गरे । 
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकोले दुई देशबीचको सम्बन्ध सुमधुर र सवल हुने राम्रो आधार तय भएको विश्वास दिलाए । उनले भने,‘हाम्रो दुई देशबीच अहिले सुमधुर सम्बन्ध छ, नेताहरुबीच पनि विश्वासको वातावरण बनेको छ । अहिले सघन कुराहरु हुन थालेका छन् । समग्रमा अहिले दुई देशबीच राम्रो आधार बनेको छ ।’
भारतसँग नेपालको ऐतिहाँसिक सम्बन्ध रहेको सुनाउँदै उनले आगामी दिनमा अझै सिर्जनात्मक र सकारात्मक दिशातर्फ डोर्याउनेगरि छलफल केन्द्रित हुने बताए । उनले भने,‘भारतसँग हाम्रो दुई तिहाईको व्यापार हुन्छ, शिक्षा, पर्यटन, धार्मिकलगायत सबै क्षेत्रमा सुमधुर सम्बन्ध छ । सिमा, डुबानलगायत १९५० को सन्धि र ईपिजीको प्रतिवेदनबारे पनि छलफल हुन्छ । यो महत्वपूर्ण फोरम हो । हामीबीच रहेका सबैखाले समस्याहरुलाई कुटनीतिक पहलमार्फत समाधान खोज्छौं ।’
उनले विगतका समस्याहरु समाधान गर्दै आजको युग र परिवेश सुहाउँदो विदेश सम्बन्ध बनाउनुपर्ने र विदेश सम्बन्धका आधारभुत कुराहरुमा अघि बढाएर अघि बढ्ने सुनाए । उनले भने,‘वर्तमान सरकार त्यसतर्फ उन्मुख भएको छ ।’ नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुने पनि उनले विश्वास दिलाए । भारतीय विदेशमन्त्री जयशंकर अनुभवी र कुटनीतिक करियरबाट आएकोले उनले सोहीअनुसार नेपाल–भारत सम्बन्धलाई सही र सकारात्मक दिशातर्फ डोर्याउनेपनि बताए । 
भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ई.पि.जी) महत्वपूर्ण प्रयास र पहलकदमी भएकोले प्रतिवेदनमा आफूहरुले दुई देशबीचका महत्वपूर्ण विषयहरु समावेश गरेकोले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए । ‘हामीले २ वर्ष लगाएर राम्रो प्रतिवेदन तयार पारेका छौं’ उनले भने,‘भारतबाट यो प्रतिवेदन बुझ्ने काम हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ उनकाअनुसार प्राविधिक कारणले गर्दा भारतीय पक्षले प्रतिवेदन बुझ्नमा ढिलाई गरेको हुनसक्छ । तर, प्रतिवेदन नै बुझ्दैनौं भनेर भारतीय पक्षले अहिलेसम्म नभनेको उनको दाबी छ । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईपिजीको प्रतिवेदन बुझ्नेमा आफू ढुक्क रहेको भट्टराईको भनाई छ । उनले भने,‘दुवै देशका प्रधानमन्त्रीले यो प्रतिवेदनलाई गम्भिर रुपमा लिनुभएको छ । यसमा फरक मत छैन् । त्यसैले प्रतिवेदन बुझ्दैनन कि भनेर आशंका नगरौं ।’

भारतको कश्मिरको बारेमा नेपालले किन आफ्नो धारणा सार्वजनिक नगरेको ? भनेर बाहिर चर्चा भएको छ नि भनेर सोधिएको प्रश्नमा उनले हरेक घट्नामा हरेक देशले टिप्पणी गर्नुपर्छ भन्ने नभएको स्पष्ट पारे । उनले थपे,‘सबै विषयमा टिप्पणी गर्नुपर्छ भन्ने छैन् ।’डा. भट्टराईले प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको जानकारी दिए । उनले भने,‘उहाँ फलो–अपको लागि सिंगापुर जाँदैहुनुहुन्छ । औषधीको मात्रा मिलाउनुपर्ने भएकोले जान लाग्नुभएको हो ।’ उनले फेरि मृगौला प्रत्यारोपण हुने हो कि भनेर गरिएको हल्लामा कुनै सत्यता नरहेको जिकिर गरे । उनले जाने मिति तय भएपनि उताबाट प्रधानमन्त्री कहिले फर्किने भन्ने मिति अहिलेसम्म तय नभएको सुनाए । 
कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेको भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्ने बताएका छन् । 
सिंहले भारतमा अहिले म्याण्डेट प्राप्त सरकार आएको र नेपाललाई असाध्यै माया गर्ने प्रधानमन्त्री मोदीले नेपाललाई विशेष महत्व दिएको सुनाए । ‘नेपाल–भारत सम्बन्धमा अब नयाँ गति कायम हुन्छ’–उनले थपे,‘वर्षौदेखि सम्झौता गरेर थन्किएका प्रोजेक्टहरुले अब गति लिन्छन् । ती सम्झौताहरु कार्यान्वयनमा जान्छन् । यो राम्रो कुरा हो ।’
सिंहले अहिले नेपाल–भारत द्धिपक्षीय सम्झौताहरु धमाधम कार्यान्वयनको दिशामा अघि बढिरहेको पनि सुनाए । उनले भने,‘हाईडा«ेपावर, हुलाकी राजमार्ग, आईसिपीलगायतका प्रोजेक्टहरु धमाधम अघि बढिरहेका छन् । यो एकदमै सुखद पक्ष हो ।’ संयुक्त आयोगको बैठक दुवै देशको लागि उचित फोरम भएको सुनाउँदै सबै पक्षमा खुलेर कुराकानी गर्नुपर्ने उनले सुझाए । सिंहले अहिले नेपाल–भारतबीच कुनैपनि समस्या नरहेको जिकिर गरे । 
कार्यक्रममा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएको र मोदी नेपालको असल मित्र भएकोले उनको मित्रतालाई नेपालले समात्न सक्नुपर्ने धारणा राखे । उनले भने,‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ ।’
भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउन लागेकोले उनको भ्रमणको बेला नेपालले भीख माग्न नहुने दिक्षितको सुझाव छ । उनले भने,‘आजसम्म भएका सम्झौताहरु के कति कारणले कार्यान्वयन भएनन् ? यी विषयमा गम्भिर समिक्षा हुनुपर्छ ।’ उनले संयुक्त बैठकमा हाईड्रोदेखि ईरिगेशनसम्मका कुरा अघि बढ्नुपर्ने पनि धारणा राखे । 
उनले बाढीले नेपाल र भारत दुवै देशका जनता पीडित बनेको सुनाउँदै यो समस्याको दिर्घकालिन समाधान खोज्नुपर्ने बताए । उनले भने,‘दुवै देशका जनतालाई हित हुने कुरा गर्नुपर्छ । खुल्ला सिमानाका समस्या छन् । कष्टममा नेपाली जनतालाई दुःख दिने काम भएका छन् । दशैं आउन थालेको छ । नेपालीहरुको बोर्डरमा सामान लुट्ने, पैसा लुट्ने काम भएका छन् । त्यसैले विहार, युपी, बंगालमा नेपालीहरुले दुःख नपाउन् ।’
दिक्षितले भारतले कश्मिरमा चालेको कदमबारे नेपालले कुरै नगर्ने भनेर परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले अभिव्यक्ति दिएको भन्दै त्यसमा आपत्ति जनाए । उनले भने,‘भारत नेपालको गाढा मित्र हो । हामी ओपन हुनुपर्छ । यस्तो मामिलामा कुरै गर्दैनौं भन्नु गलत हो ।’ 
पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिटलरको संज्ञा दिँदा त्यो गलत हो भनेर नेपालले भन्न सक्नुपर्नेथियो भन्ने उनको भनाई थियो । दुवै देश सार्कको सदस्य राष्ट्र भएकोले यो क्षेत्रमा शान्ति कायम गर्नु नेपालको पनि दायित्व रहेको दिक्षितले उल्लेख गरे । ‘तर, यस्तो विषयमा हामी बोल्दैनौं भनेर हाम्रो मन्त्रीले भन्नुभयो, हाम्रो मन्त्रीको जिब्रो पनि विचित्रको छ’–उनले गुनासो पोखे । 
भारतमा मोदी दोस्रो कार्यकालको लागि पाँच वर्षको प्रधानमन्त्रीको रुपमा आएकोले नेपालले भारतसँग ठूलो फाईदा लिनसक्ने उनको भनाई छ । उनले भने,‘भारतसँग हाम्रो हजारौं वर्षको मित्रता हो भनेर त हामीले भन्छौं तर यो सरकारले व्यवहारमा त्यस्तो देखाएन् ।’
भारतले अहिले ‘डिजिटल युग’मा ठूलो फड्को हानेको पनि उनले सुनाए । ‘भारतबाट नेपालले धेरै विषयमा फाईदा लिनसक्छ’–उनले थपे,‘चीनभन्दा पनि हाम्रो भारतसँग गाढा सम्बन्ध छ । हुन त हामीले चीनसँग पनि फाईदा लिने प्रशस्तै आधार र ठाउँ छन् । भारतसँग हाम्रो खुल्ला सिमा भएकाले अलिक बढि फाईदा लिन सक्छौं ।’ 
भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा नेपाल सरकारले दया गरेर केही पनि माग्न नहुने उनको धारणा छ । उनले भने,‘जयशंकर अत्यन्तै खारिएका र अनुभवी कुटनीतिज्ञ हुन । उहाँ आउनुभन्दा अघि हाम्रो परराष्ट्रमन्त्रीले कश्मिरको मामिलामा हामी बोल्दैनौं भनेर नचाहिने काम गर्नुभयो ।’ उनले भारतीय विदेशमन्त्रीलाई नेपालले राम्रो स्वागत गर्नुपर्ने पनि सुझाव दिए । 
फरक प्रसँगमा डा. दिक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा नेपाली जनताले यथेष्ट जानकारी पाउनुपर्ने धारणा राखे । उनले भने,‘केपी ओली दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री हो । उहाँ त सर्वेसर्वा हो । उहाँ विरामी भएर सिंगापुर जानुभयो । फेरि जाँदै हुनुहुन्छ । उहाँको स्वास्थ्यको बारेमा जनताले थाहा पाउनुपर्छ । उहाँ त पब्लिक टप मष्ट फिगर हो ।’
दिक्षितले ओलीजी नभए मुलुकमा अस्थिरता उत्पन्न हुनेपनि बताए । उनले भने,‘उहाँको स्वास्थ्यको बारेमा विज्ञप्ती निकाल्नुपर्दछ । जनताले जानकारी त पाउनुपर्यो नि । हुन त उहाँ औषधीको मात्रा मिलाउन फेरि जान लाग्नुभएको भन्ने कुरा आएको छ । अहिले ईन्टरनेटको जमाना छ । भाईबर छ । यसबारेमा जानकारी चाहियो । उहाँको स्वास्थ्य अवस्थाबारे विज्ञप्ती चाहियो । यो त हाम्रो हकको कुरा हो । उहाँको पनि सुचना दिनु दायित्व हो । उहाँको अगाडिको भविष्य के हो ? यसबारेमा जानकारी नदिनु उहाको टिमको गल्ती हो ।’
 

४ बर्ष अगाडि

प्रतिक्रिया