मन्दिरको जग्गा व्यक्तिका नाममा दर्ता

४ बर्ष अगाडि

नेपालगन्ज- यहाँस्थित प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरमा श्रद्धालुले जग्गा दान गर्ने परम्परा थियो । धन हुनेले सुनचाँदीका मूर्ति र नगद चढाउँथे । चल सम्पत्ति नहुनेहरूले जग्गा दान गर्ने चलन थियो । बाँके मालपोत कार्यालयको अभिलेखमा ०२५ सालसम्म मन्दिरका नाममा ९९ बिघा ५ कट्ठा १४ धुर जग्गा देखिन्छ ।

साविकका कर्मोहना इन्द्रपुर गाविस र अहिले नेपालगन्ज उपमहानगरपालिकासित जोडिएका जानकी र खजुरा गाउँपालिकामा उक्त जग्गा थियो ।

दानबाट मन्दिरका नाममा आएको जग्गा विभिन्न व्यक्तिलाई कमाउन (खेतीपाती गर्न) दिने र त्यसबाट उठ्ने मालपोत कर र उत्पादनले नित्य पूजा गर्ने चलन थियो । 
मन्दिरमा सन्तमहन्त आए आवास तथा हन्डी दिने र पूजाआजा कार्य चलाई शेष बचत भए महन्तका सन्तान दरसन्तानले उपभोग गर्ने व्यवस्था थियो । तर अहिले दानबाट प्राप्त जग्गा व्यक्तिका नाममा दर्ता रहेको पाइएको छ । बागेश्वरी मन्दिर राजगुठीमा दर्तामा छ । 
राजगुठीको सम्पत्ति सरकारी हुने कानुनी प्रावधान छ । विभिन्न मितिमा भक्तजनले मन्दिरलाई दान गरेको जग्गा व्यक्तिको नाममा पाइएपछि कानुनी रूपमा खोजी थालिएको थियो । 
स्थानीय केही अधिवक्ताले उच्च अदालतको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरेका थिए । त्यसको पाँच वर्षपछि व्यक्तिका नाममा दर्ता भइसकेका जग्गाको खोजी हुन थालेको छ । 
इन्द्रपुर क्षेत्रका सबैजसो जग्गा बिक्री भइसकेको खोजीमा संलग्न एक अधिवक्ताले बताए । कतिपय जग्गामा घर बनिसकेका छन् । उक्त जग्गा सुरुमा मन्दिरका मूल महन्त हरिहरनाथ योगी र चन्दननाथ योगीका नाममा दर्ता भएको हो । त्यसपछि बिक्री गर्दै जाँदा विभिन्न व्यक्तिका नाममा दर्ता भइसकेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया