निजगढ विमानस्थल निर्माण प्रस्ताव :  यी हुन् इच्छुक कम्पनी

४ बर्ष अगाडि

काठमाडौँ - बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपालबाहेक पाँच कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना रहेको लगानी बोर्ड स्रोतले जनाएको छ ।

‘यो विमानस्थल बनाउन चाहिने न्यूनतम मापदण्डभित्र नेपाली कम्पनी परेन,’ बोर्ड स्रोतले भन्यो, ‘भारत, स्विट्जरल्यान्ड, फ्रान्सका एक/एक र चीनका २ कम्पनीहरू त्यो मापदण्डमा परे । त्यसकारण उनीहरूबीच नै प्रतिस्पर्धा गराइने सम्भावना छ ।’ प्रस्तावित कम्पनीहरूको मूल्यांकनको काम सकेर प्रतिस्पर्धा प्रक्रिया अघि बढाउन बोर्ड बैठकमा प्रस्ताव लैजाने तयारी भइरहेको छ ।

३ अर्ब अमेरिकी डलर (हालको विनिमय दरअनुसार ३ खर्ब ४० अर्ब रुपैयाँ) को लागत अनुमान गरिएको यो आयोजनामा प्रधानमन्त्रीले अध्यक्षता गर्ने बोर्ड बैठकबाट निर्णय भएपछि मात्रै प्रक्रिया अघि बढ्नेछ । तर सरकारी तथा राजनीतिक अधिकारीहरूबीच सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा नेपाल सरकार आफैंले बनाउने भन्ने विषयमा फरक मत देखिइरहेको छ । यसले विमानस्थल निर्माण प्रक्रिया, मोडालिटी र निर्णयमा ढिलाइ हुने अनुमान छ ।
२०७५ जेठ ३२ गते स्थापना भएको नेपाली कम्पनी म्याट्रिक्स इन्टरप्राइजेजले विमानस्थल निर्माण गर्ने चाहना राखेको छ । त्यस्तै चीनका दुई सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ, चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपको पनि प्रस्ताव छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीको केही प्रतिशत लगानी चाइना कन्स्ट्रक्सन इन्टरनेसनल कर्पोरेसनमा छ । यो चीन सरकारको स्वामित्व भएको कम्पनी हो । यो कम्पनीलाई अन्य सरकारी कम्पनीजस्तै चीनको सरकारी स्वामित्व निरीक्षण तथा प्रशासनिक आयोगले अनुगमन गर्छ । चाइना एयरपोर्ट पनि चीन सरकारको स्वामित्व रहेको कम्पनी हो । यसले विशेषगरी एयरपोर्ट निर्माण र उपकरण जडानका साथै सडक, पुल तथा सुरुङसम्बन्धी प्राविधिक काम गर्छ ।कान्तिपुर दैनिकमा खबर छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया