‘बेटी बचाऔँ बेटी पढाऔँ’तर्फ आकर्षण

४ बर्ष अगाडि

पर्सा – सात वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बित्थ्यो तर प्रदेश नं २ सरकारले ‘बेटी बचाऔँ  बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ । अन्य विद्यार्थीजस्तै उनीपनि छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित श्रीदेवीस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भइन् ।

प्रदेश नं २ को सरकारको यो महत्वपूर्ण  योजना ८ वटै जिल्लामा लागू गर्नाका साथै टाढाटाढा रहेका छात्रालाई विद्यालयमा  आकर्षित गर्न साइकल वितरण गर्न थालेपछि यो अभियानमाथि झन सुनमा सुगन्ध थपिएको अभिभावकहरुको ठम्याइ  छ ।  छोरी पढाउँदा विवाहमा धेरै दाइजो दिनुपर्ने भनी छोरीलाई चुलोचौकामा सीमित राख्ने गरेका अभिभावक यो अभियान सञ्चालनमा आएपछि अहिले छोरीलाई पढाइतर्फ हौस्याउन थालेका छन् । 

वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्द्रलाल कर्णले भन्नुभयो,“साइकल वितरण हँुदा विद्यालयभन्दा टाढा रहेका छात्राको अध्ययनतर्फ आकर्षण बढ्नाका साथै  उनीहरुलाई विद्यालय आउन पनि सजिलो भएको छ । सोही अभियानलाई निरन्तरता दिन अहिले पुनःछात्राहरुलाई साइकल वितरण कार्यक्रम शुरु गरिएको छ । यसै क्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाका ४०  छात्रा र  बारास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (मदर्शा) का ९२ छात्रालाई साइकल वितरण गर्नुभयो । यसैगरी विश्रामपुर गाउँपालिकाले रु सात लाख मूल्य बराबरको साइकल कक्षा ८ र ९ का ९५  छात्रालाई वितरण गरेको उद्योगपति अजय प्रजापतिले राससलाई बताउनुभयो । 

प्रदेश नं– २ मा रहेको १३६ स्थानीय तहले यो अभियानलाई सार्थक पार्न प्रत्येक दिन साइकल वितरण कार्यक्रम गर्न थालेपछि विद्यालयभन्दा बाहिर रहेका छोरीहरुको विद्यालयप्रति आकर्षण बढ्दै गएकोे अभिभावक विजय पण्डितले बताउनुभयो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया