इन्टरनेटले सेवाग्राहीलाई सास्ती

४ बर्ष अगाडि

जाजरकोट – मालपोत कार्यालय जाजरकोटले सञ्चालन गरेको अनलाइन सेवाबाट सेवाग्राहीलाई सास्ती हुने गरेको छ । मालपोतमा नियमित इन्टरनेटको सुविधा नहुँदा जग्गा कारोवार गर्न आएका सेवाग्राहीलाई सास्ती हुने गरेको हो । जाजरकोट मालपोत कार्यालयले सेवाग्राहीको काम छिटोछरितो गर्न गत असार पहिलो सातादेखि अनलाइन पद्धतिबाट जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण शुरु गरेको थियो । सेवा सुस्त बनेपछि सेवाग्राहीले पहिलेभन्दा झन सास्ती भोग्नुपरेको हो ।
  
अनलाइन सेवा सञ्चालन गर्नुअघि दैनिक ४०÷४५ हस्तलिखित लालपूर्जा बन्ने गरेकामा अनलाइन पद्धतिबाट चार÷पाँचभन्दा नबन्ने गरेको लेखापढी व्यवसायी लालबहादुर चलाउने बताउनुभयो । 

अनियमित अनलाइन सेवाका कारण मालपोतमा जग्गा दर्ता, नामसारी, कित्ताकाटलगायत गर्न ढिलाइ हुने गरेको उहाँको भनाइ छ । विद्युत् अभाव, इन्टरनेटको समस्या र अन्य प्राविधिक कारणले मालपोत कार्यालयमा सेवाग्राहीको काम ढिलो हुने गरेको छ । मालपोतमा काठमाडौँको ‘सुपिस–यु’ नामक संस्थाले जडान गरेको इन्टरनेट तीन सातादेखि बन्द हुँदा समस्या भएको खरिदार चन्द्रबहादुर खड्काले बताउनुभयो । 
  
सम्बन्धित कम्पनीको लापरवाही जनतालाई सास्ती भएको उहाँको भनाइ छ । रकम लिने इन्टरनेट नियमित नबनाउने कम्पनीका कारण जनतालाई सास्ती मात्र हैन, व्ययभार बढेको छ । अनलाइन सेवाले सम्पूर्ण अभिलेख सिंहदरबार केन्द्रित हुने, छिटोछरितो सेवा, आर्थिक हित कायम राख्ने, भू–अभिलेख तथा स्रस्ता व्यवस्थित हुने, जग्गाधनी तथा मोहीको हक संरक्षण हुने र भूमि व्यवस्थापन कार्यलाई सेवामुखी तथा सूचनामूलक बनाउने भने पनि त्यसो हुन नसकेको सेवाग्राहीको भनाइ छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया