गाउँपालिका अध्यक्षका तीनभाई छोरालाई सरकारी मोटरसाईकल

४ बर्ष अगाडि

सप्तरीको राजगढ गाउंपालिका अध्यक्ष परमानन्द यादवले आफ्ना तीनभाई छोराका लागि सरकारी मोटरसाईकल दिएका छन् ।  
गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा किनेका मोटरसाईकल मध्ये तीनवटा मोटरसाईकल अध्यक्ष यादवले आफ्ना तीनभाई छोराहरुलाई दिएका हुन् । 
रु २ लाख ५९ हजार ९ सय मूल्याको १५० सीसीको अभेञ्जर, रु २ लाख ५९ हजार ८ सयको १६० सीसीको होण्डा हर्नेट र रु २ लाख ८ हजार १ सय २९ पर्ने १२५ सीसीको होण्डा साइन मोटरसाईकल छोराहरुलाई दिएको गाउँपालिका स्रोतले बताएको छ । 

उनीहरुले ती मोटरसाईकलमा निजि नम्बरप्लेट राखेर चलाएको स्रोतको दावी छ । गाउँपालिकाले १२ होण्डा साईन, एउटा हर्नेट र एउटा एभेञ्जर किनेको थियो । छोराहरुलाई रोजाइ अनुसार एभेञ्जर र हर्नेट किनिदिएको गाउँपालिका अध्यक्ष यादवले आफन्तहरुलाई बताएका थिए । तीन वटा मोटरसाइकलको मूल्य रु ९ लाख ९७ हजार ८ सय २९ रहेको छ। 
गाउँपालिकाले मोटरसाइकल खरिद प्रकृयामा पनि कानून मिचेको छ । अर्थ मन्त्रालयको पूर्वस्वीकृती बेगर रु ३० लाख १७ हजार २ सय ५६ का १४ वटा किनीएका १२ वटा मोटरसाइकल विना प्रतिस्पर्धा किनेका हुन् । 
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९ र ११ अनुसार सरकारी कार्यालयले मालसमानको स्पेसिफकिेशनको अधिनमा रही लागत अनुमान तयार गरेर मात्र सामान किन्न पाउँछन् । नियमावली अनुसार रु ५ लाख सम्म भए सोभैm खरिद गर्न पाउन, रु २० लाख सम्म भए शिलबन्दी दरभाउ पत्र र रु २० लाख भन्दा माथीको सामान भए बोलपत्रको माध्यमवाट खरिद गर्नु पर्ने व्यवस्था छ । 
तर गाउँपालिकाले लागत अनुमान तयार नगरी ७ दिने सूचना प्रकाशन गरी मूल्य प्रतिस्पर्धा नगराई क्याटलग विधिद्धारा १२ वटा होण्डा साइन किनेको थियो । त्यसैगरी अध्यक्षका छोराको रुचि अन्य मोटरसाइकलमा भएपछि एभेञ्जर र हार्नेट भने अलग अलग हाते कोटेशनमा खरिद गरिएको थियो । 

अन्तरिक श्रोत प्रयाप्त नभएको उक्त गाउँपालिकामा मनपरी मोटरसाइकल खरिद गर्ने र अध्यक्षका छोराहरुलाई वितरण गर्ने कार्य गरेपनि कसैले कार्वाही गर्न सकेको छैन । 
गाउँपालिकाका सूचन तथा संचार प्रविधि अधिकृत चन्द्र किशोर यादवले भने ति मोटरसाइकलहरु गाउँपालिकाले फिर्ता ल्याएको दावी गरे । उनले फिर्ता ल्याएको र प्लेट सरकारीकरण गरिएको भनेका मोटरसाइकलको नम्बर भने भन्न सकेनन् । “हाम्रोमा कर्मचारी अभाव छ”, उनले भने “नम्बरका लागि पछि सम्पर्क गर्नुहोला ।” 
अध्यक्षका छोराहरुले चलाउने मोटरसाईकलमा पेट्रोल खर्च समेत गाउँपालिकाले व्यहोर्ने गरेको छ । तीन वटा मोटरसाइकलमा एक वर्षमा ६ लाख ६६ हजार ८ सय रुपैयाँको पेट्रोल हालिएको छ । 
अध्यक्ष यादव आफू भने स्कारपियो चढ्छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया