हामी रिल्याक्समा छैनौं, अग्निपरीक्षामा छौंः प्रचण्ड

५ बर्ष अगाडि

काठमाडौं, १५ जेठ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूहरु अहिले पनि अग्निपरीक्षामा भएको बताएका छन् । 
गणेशमान सिंहको स्मृति र गणतन्त्रको स्थापनाका अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रचण्डले राजनीतिक स्थिरता भए पनि व्यापार घाटा हेर्दा देश दर्दानाक अवस्थामा रहेको बताए ।
‘हामी राजनीतिक स्थिरताको नयाँ ठाउँमा आएका छौं’ प्रचण्डले भने, ‘तर हाम्रो व्यापार घाटा हेर्दा अवस्था निकै भयावह छ । आर्थिक विकास र समृद्धिको नयाँ संघर्षमा हामीले जित्नुछ । हामी रिल्याक्समा छैनौं, अग्निपरीक्षामा छौं । यो परीक्षामा हामी पास हुनैपर्छ ।’
गणतन्त्रका निम्ति नेपालीले निकै ठूलो संघर्ष गरेको प्रचण्डले स्मरण गरे । उनले भने, ‘भूमिगत अवस्थामा म दाङमा थिए, देउवाजी प्रधानमन्त्री हुुनुहुन्थ्यो, त्यो बेला मेरो उहाँसँग फोनमा कुरा भएको थियो । तात्कालीन एमालेका नेताहरुसँग पनि हामीले पटकपटक छलफल गरेपछि सहमतिको वातावरण बन्यो, गणतन्त्र सानो मेहेनतले आएको होइन ।’
‘गणतन्त्र ल्याउन रोल्पामा वार्ता भयो, मैले पनि धेरै नेताहरुसँग कुरा गरे’ प्रचण्डले भने, ‘गीरिजाबाबूसँग धेरैपटक कुराकानी भयो, चक्र बास्तोला, कृष्ण सिटौला लगायतका नेताहरुले भूमिका खेल्नुभयो । एमालेका पनि नेताहरुले राम्रो भूमिका खेल्नुभयो । हामी मिल्यौं । गणतन्त्र आयो । गीरिजाप्रसाद कोइरालाको टावरिङ पर्सानालिटी नभएको भए गणतन्त्र आउन अझै समय लाग्थ्यो ।’
प्रचण्डले सरकारमा बहुमत भए पनि राष्ट्रिय मुद्धामा कम्युनिष्ट र कांग्रेस मिल्नुपर्ने बताए । उनले भने, ‘जति–जति बेला कम्युनिष्ट र कांग्रेस मिलेका छौं, त्यो बेला देशले जितेको छ । पहिलो संविधान सभामा हामी मिल्न सकेनौं, देशले दुख पायो । भूकम्पपछि हामी मिल्यौं र संविधान बन्यो । २०४६ सालको आन्दोलन, २०६३ को जनआन्दोलन र गणतन्त्र पनि हामी मिलेका कारण सम्भव भएको हो । राष्ट्रिय मुद्धा र हितमा हामी फेरि पनि मिल्नुको विकल्प छैन ।’
‘देशलाई एकतावद्ध गर्न मैले धेरै मेहेनत गरेको छु, मधेशमा समस्या थियो’ प्रचण्डले भने, ‘मैले सबैसँग सहकार्य गर्ने नीति लिएँ, देशमा चुनाव भयो । अहिले सबैले संविधानको अपनत्व लिने अवस्था आएको छ, यो साना दुखले भएको होइन ।’
‘कम्युनिष्ट मिल्दा अधिनायकवाद आउँछ कि भन्ने चिन्ता नलिनुस्, हामी अधिनायकवाद ल्याउन मिलेका होइनौं’ प्रचण्डले भने, ‘विचार मिल्नेहरु मिल्न सम्भव हुन्छ । विचार नमिल्नेसँग सहकार्य गर्छौं, हाम्रो कसैलाई पनि निषेध गर्ने नीति छैन । विश्व परिस्थितिले हामीले चाहेर पनि कांग्रेसलाई निषेध गर्न सक्दैनौं, गर्नु पनि हुँदैन ।’
‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गीरिजा र प्रचण्डलाई विश्वस्तरमा स्थापित गर्ने किन जाँगर चल्दैन ?’ प्रचण्डले भने, ‘हाम्रोजस्तो शान्ति सम्झौता यूरोप, ल्याटिन अमेरिका वा अमेरिकामा भएको भए त्यसको चर्चा दिनदिनै हुन्थ्यो । तर, हामी गरीब र सानो मूलुक भएकाले भएन ।’

५ बर्ष अगाडि

प्रतिक्रिया