यी  ५ वटा मर्चेन्ट बैंक धरापमा, अब के हुन्छ ?

६ बर्ष अगाडि

काठमाडौं – बुटबल पावर कम्पनीका कारण थप निस्काशन(एफपीओ)को प्रत्याभूत(अन्डर राइट) गरेकै कारण  विभिन्न पाँच मर्चेन्ट बैंक समस्यामा परेका छन् ।  
एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गबाट प्रत्याभूति गराएका थिए ।
सर्वसाधारणका लागि निष्काशन गर्न लागेको शेयरहरु निर्देशिकामा तोकिए बमोजिम प्रत्याभूति गराएको बुटवल पावर कम्पनीबाट प्रवद्र्धित यस परियोजनामा लगानी गर्न बुटवल पावर कम्पनीले धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न लागेको शेयरहरु निर्देशिकामा तोकिए बमोजिम गर्ने भन्ने व्यवस्था छ ।
अर्थात बीपीसीले जारी गरेको सेयर ५० प्रतिशतभन्दा बढी बिक्री भयो र सबै बिक्री भएन भने बाँकी रहेको सबै सेयर किनिदिन्छौं भनेर एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआइबिएल क्यापिटल, ग्लोबल आइएमइ क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले प्रत्याभूत गरे ।
सबै एफपिओ बिक्री होला भनेर गरिएको प्रत्याभूतले काम गरेन । गत माघ १५ गतेदेखि सर्बसाधारणको लागि ४० लाख ८१ हजार कित्ता सेयर थप निस्कासन (एफपिओ) बिक्री खुल्ला गर्यो । तर रु एक अर्ब २० करोडको मात्रै एफपिओ बिक्री भयो ।
सो सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयामा ४०१ रुपैयाँ प्रिमियम मूल्य थपेर ५०१ मा बिक्री गर्ने अनुमति नेपाल धितोपत्र बोर्ड(सेवोन)ले दियो ।
बीपीसीले बिक्री खुल्ला गरेको ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्रीबाट कम्पनीले रु २ अर्ब ४ करोड ४५ लाख ८१ हजार प्राप्त गर्ने गरी उक्त अनुमति दिइएको थियो ।
कुनै पनि कम्पनीले सार्बजनिक निस्कासन गर्दा सुरुमा ४ दिनको लागि बिक्री खुल्ला गर्ने गरिन्छ । त्यो ४ दिनमा बिक्रीको लागि खुल्ला गरिएका सेयर बिक्री भएनन् भने समय थप गर्दै १ महिनाभित्रमा बिक्री गरिसक्न पाइने व्यवस्था छ ।
कम्पनीले सार्बजनिक निस्कासन (आइपिओ वा एफपिओ) जारी गर्दा त्यस्तो सेयरको प्रत्याभूति (अन्डरराइट) गराउनु पर्छ । कम्पनीले जारी गरेको सार्बजनिक निस्कासनको ५० प्रतिशतभन्दा बढी सेयर बिक्री भएमा बाँकी रहेको सेयर बिक्री भएन भने अन्डरराइट गर्ने कम्पनीले किन्नुपर्छ ।
यो कानुनी प्रबन्ध हो । बीपीपीको ५३ प्रतिशत सेयर माघ २४ गतेसम्ममा नै बिक्री भएको छ । त्यसकारण बाँकी रहेको सेयर बिक्री भएन भने अन्डरराइट गर्ने कम्पनीले किन्नै पर्ने हुन्छ । त्यस्तो प्रावधान भएका कारण पाँच शेयर बिक्री प्रबन्धक(क्यापिटल) समस्यामा परेका छन् र उनीहरु नराम्ररी समस्यामा पर्ने देखिएको छ ।
बीपीसीको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार माघ २४ गतेसम्ममा जम्मा रु १ अर्ब २० करोड बराबरको एफपिओ बिक्री भएको छ ।
यो भनेको कूल रकमको करिब ५३ प्रतिशत हो । माघ २६ गते नै सेयर बिक्री प्रबन्धकले सार्बजनिक सुचना प्रकाशित गरेर अब संस्थागत लगानीकर्ताले पनि सेयर किन्न पाउने जानकारी गराएको छ ।
यी ५ वटै क्यापिटलको चुक्ता पुँजी रु १० करोड हाराहारीमा छ । अर्थात ५ वटै कम्पनीको गरी जम्मा रु ५० करोड जति मात्रै चुक्ता पुँजी हुन्छ । बीपीसीको अहिलेसम्म रु ८० करोड रुपैयाँभन्दा बढीको एफपिओ बिक्री भएको छैन । यदि अब त्यो एफपिओ बिक्री भएन भने अन्डरराइट गर्ने ५ वटा कम्पनीले ती सबै सेयर किनेर बीपीसीलाई पैसा दिनु पर्नेहुन्छ ।
रु ५० करोड चुक्ता पुँजी भएका कम्पनीले रु ८० करोड को सेयर कसरी किन्ने भन्ने प्रश्न खडा भएको छ ।  बीपीसीको एफपिओ किन्दा नै यी ५ वटै क्यापिटलको चुक्ता पुँजी सबै सकियो भने यी कम्पनीले अरु कम्पनीको अन्डरराइट गर्न वा बिक्री प्रबन्धक बस्न पाउछन् कि पाउँदैनन् प्रश्न संगीन बनेर खडा भएको छ ।
यी ५ वटै कम्पनी सम्बन्धित बैंकका शतप्रतिशत लगानीमा खुलेका सहायक कम्पनी हुन् । अर्थात यी क्यापिटल सर्बसाधारणको परोक्ष लगानीमा खुलेका कम्पनी हुन् ।
एनएमबी बैंकको एनएमबी क्यापिटल, लक्ष्मी बैंकको लक्ष्मी क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंकको एनआइबिएल क्यापिटल, ग्लोबल आइएमइ बैंकको ग्लोबल आइएमइ क्यापिटल र नबिल बैंकको नबिल इन्भेष्टमेन्ट बैंकिङ हो । यी बैंकमा सर्बसाधारणको लगानी छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया