चुहाडीमा आन्तरिक पर्यटकको आकर्षण

४ बर्ष अगाडि

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित चुहाडी क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । उक्त गाउँपालिकाको वडा नं २ सत्तपत्तीमा रहेको सो क्षेत्रमा चुहाडी पोखरी र कुंवारवर्ती माईको थान छ । 
    
विगतमा ओझेलमा परेको यो स्थल पछिल्लो समय प्रचारप्रसारका साथै पूर्वाधार विकासले आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको हो । चुहाडी यस्तो पोखरी हो, जहाँको पानी नमिसाइ त्यहाँका बासिन्दाको खाना पाक्दैन तर त्यहाँकोे माछा खाएमा भने मानिसको मृत्यु हुन्छ भन्ने मान्यता रहेको छ । 
    
स्थानीय थारु समुदायले उक्त पोखरीको पानी बिहान साँझ मिसाएर मात्र खाना पकाउने गरेका छन् । उक्त स्थलको महत्वबारे प्रचारप्रसार हुँदै गएपछि अहिले आन्तरिक पर्यटकको गन्तव्यकैरुपमा स्थापित भएको कुंवारवर्ती माइस्थान संरक्षण समितिका उपाध्यक्ष ओमनारायण थारु बताउनुहुन्छ । 
    
सो क्षेत्रलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नेगरी गाउँपालिकाले गुरुयोजना बनाएर विकास गरिरहेको छ । पर्यटन विभागले पनि यहाँ लगानी गरेको छ । पोखरीस्थलसहित त्यहाँ हरियाली मनोरम वातावरण, जङ्गल, फराकिलो मैदान र वनभोजका लािग ट्रस्टसमेत बनाइएकाले यहाँ प्रायःदिनदिनै वनभोज, विवाह, व्रतबन्ध, विभिन्न सङ्घसंस्थाका भेला, सम्मेलनजस्ता कार्यक्रम हुने गरेको वडाध्यक्ष कृष्णलाल मुखियाको भनाइ छ । 

स्थानीय थारु अगुवाका अनुसार प्राचीन समयमा त्यहाँ सात घरका साथै सत्त अर्थात् शक्ति पनि रहेकाले त्यस स्थानको नाम सत्तपत्ती रहन गएको हो । स्थानीयवासीले दैनिक बिहान साँझ सो पोखरीको एक बोतल पानी मिसाएर खाना पकाउने गर्दछन् । विगतमा गाउँका थारुले यो परम्परालाई निरन्तरता दिँदै आएकामा अहिले पोखरीको नजिक बस्ने थारु समुदायले मात्र यो परम्परालाई निरन्तरता दिइरहेका छन् । 
    
उक्त पोखरीमा रङ्गीविरङ्गी माछा पाइन्छ तर तिनलाई खाए मृत्यु हुने मान्यताले माछालाई खाने त के छुने हिम्मतसम्म स्थानीयवासीले गर्न सक्दैनन् । करीब १५ बिघा क्षेत्रफलमा फैलिएको चुहाडीको संरक्षण र विकासका लागि स्थानीय सरकारले चासो दिएकोे गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे बताउनुहुन्छ ।

“चुहाडी क्षेत्रलाई उत्कृष्ट पर्यटकीयस्थल बनाउन हामीले गुरुयोजना बनाएका छौँ, त्यसका लागि रु चार करोड ५२ लाखको लागतमा विस्तृत परियोजना प्रतिवेदन९डिपीआर० तयार गरी प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेश गरेका छौँ, प्रदेशबाट सहयोग हुने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

४ बर्ष अगाडि

प्रतिक्रिया