ओखरखेती विस्तार गरिने

४ बर्ष अगाडि

जिल्लाका दुई नगरपालिका र दुई  गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, स्याउ जोनमार्फत स्याउ उत्पादन नहुने क्षेत्रमा ओखरखेती विस्तार गरिने भएको हो । स्याउ जोन कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद ओझाका अनुसार चालू आर्थिक वर्षदेखि महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ । 

उक्त स्थानीय तहमा स्याउखेती नहुने भएपछि ओखरखेती प्रवद्र्धन गरिन लागेको ओझाले जानकारी दिनुभयो । विगतदेखि सो क्षेत्रमा ओखरखेती हुँदै आएको छ । थप यस कार्यालयमार्फत जोनकै रूपमा ओखरखेती लगाइने भएको हो । साविकको कृषि शाखा कार्यालयमार्फत पनि विगतमा सो क्षेत्रमा ओखरखेती गरिएको थियो । ओखरमा आत्मनिर्भर बनाउन परियोजनामार्फत ओखरखेती विस्तार गरिन लागेको निमित्त कार्यालय प्रमुख ओझाले बताउनुभयो । 

यसअघि पनि मालिकार्जुन र शैल्यशिखर क्षेत्रमा राम्रो ओखर उत्पादन हुँदै आएको छ । यो क्षेत्रको ओखर डडेल्धुरा, डोटी तथा तराईका जिल्लामा निर्यात हुँदै आएको छ । भएकै क्षेत्रमा थप कृषि सामग्री, बोटबिरुवा उपकरण सहयोग गरेर खेती विस्तार गरिन लागेको कार्यालयले जनाएको छ । जोन कार्यक्रमका लागि ५०० हेक्टर क्षेत्रफलमा ओखरखेती गरिनेछ । यहाँको माटो र मौसम सुहाउँदो तरिकाले ओखरखेती गरिन लागेको हो ।
 
ओखर समुद्र सतहदेखि एक हजार २०० मिटरदेखि दुई ५०० मिटरसम्मको पहाडी भू–भागमा उत्तम मानिन्छ । यस क्षेत्रमा उन्नतजातको इङ्गलिस र पर्सियन जातिको ओखरखेती हुँदै आएको छ । ओखरखेती गर्नका लागि समथल जग्गादेखि २० डिग्री भिरालो जग्गासम्म गर्न सकिने कृषि विज्ञ बताउँछन् । यस्तै खेतबारीका डिल, खरबारी, सार्वजनिक जमीन, सामुदायिक वनमा ओखरखेती लगाउन सकिन्छ । 

ओखरखेतीका लागि पानीको निकास राम्रो भएको, पानी नजम्ने तर चिस्यान रहिरहने प्राङ्गारिक पदार्थ भएको दुमट माटो उपयुक्त हुन्छ । हालसम्म यहाँ स्थानीय हाडे ओखर र थिनेसल जातको ओखरखेती गरिँदै आएको छ । यसअघि स्याउ जोन कार्यक्रमअन्तर्गत अपिहिमाल, मार्मा, नौगाड, दुहुँ र व्यास गाउँपालिकामा गत वर्षदेखि स्याउखेती गरिएको छ । पाँच गाउँपालिकामा गत वर्षदेखि स्याउखेती शुरु गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया