कर्णाली राजमार्ग वरिपरी सौर्य बत्तीले बजार झिलिमिली

४ बर्ष अगाडि

सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ । एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती, बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहलपहल बढाएको छ ।  तिला गाउँपालिकाको रारालिही, कुडारी , तिलाकोट, जर्मी, एैरेनीलगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो । 

अहिले तीन दर्जनभन्दा बढी होटल व्यवसाय, डिलर, खुद्रा पसल, पोल्टी फार्म, फ्रेस हाउस, कपडाका पसल हार्डवेयरका व्यवसायी बढेका छन् । सङ्घीयताले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाए पनि ग्रामीण क्षेत्रका बजारमा भने विद्युतीय बत्तीको अभाब भएकाले चोरीका घटना बढ्ने गरेका कारण व्यापारीको मागअनुसार सडक बत्तीको व्यवस्था गरिएको गाउँपालिकाका वडाध्यक्ष डिल्ली रावलले बताउनुभयो । अहिले सडक बत्तीले ग्रामीण क्षेत्रका बजार झिलीमिली भएका छन् ।

स्थानीय सरकार आएसँगै ग्रामीण क्षेत्रका बजारमा चहलपहल बढ्नाका साथै सडक बत्तीले व्यापारिक कारोवारका टेवा पुगेको व्यापारी राजु डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला निकै अँध्यारो हुन्थ्यो, अत्याआवश्यक सामान हुँदा पनि ग्राहक आउन मान्दैनथे तर हिजोआज बजार साँझपख झिलीमिली भएको देख्दा साँझसम्म मानिसको चहलपहल हुन्छ । यसैगरी तिल रावल, बिर्ख रावल, सर्पदल परियारलगायत व्यापारीले सडक बत्तीले राहत मिलेको बताए  । करीब रु सात लाखको लागतमा सडकमा सौर्य बत्ती जडान गरिएको हो । 

तातोपानी गाउँपालिकाको केन्द्र, प्रहरी अस्थायी विट, जनता बैंकको शाखा पनि बसेकाले  वडापालिकाको सहयोगमा डिजिटल सडक बत्तीको योजना ल्याइएको वडाध्यक्ष डिल्ली रावलले बताउनुभयो । सडक बत्तीले चोरीका घटना न्यूनीकरण हुनाका साथै बजारभित्र हुनसक्ने अप्रिय घटनालगायत सुरक्षा चुनौती कम भएको पनि उहाँको भनाइ थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया