पर्यटकीय पदमार्ग निर्माण

४ बर्ष अगाडि

जिल्लामा तीन वटा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा भीमाद, व्यास र भानु नगरपालिकामा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको हो ।

रु ४२ लाखको लागतमा तीन हजार ५४५ मिटर दूरीको पदमार्ग निर्माण गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो । पदमार्ग निर्माण सम्पन्न भएपछि स्थानीय जनता र पर्यटकलाई आवतजावतमा सुविधा पुगेको पौडेलले बताउनुभयो । पदमार्ग निर्माणका लागि प्रदेश सरकारले रु ३३ लाख सहयोग गरेको थियो भने स्थानीय उपभोक्ताले रु आठ लाख ९७ हजार लागत सहभागिता व्योहोरेका थिए ।

भीमाद नगरपालिका–९ स्थित धन्दुरदेखि इकोपार्कसम्मको तीन हजार मिटरको पदमार्ग रु १९ लाख १८ हजारको लागतमा निर्माण सम्पन्न भएको छ । पदमार्ग निर्माणका लागि प्रदेश सरकारको रु १४ लाख २९ हजार र स्थानीयवासीको रु चार लाख ८९ हजार लगानी भएको छ । उक्त पदमार्गबाट १३५ घरधुरी लाभान्वित भएका छन् ।

व्यास नगरपालिका–५ स्थित पराशर क्षेत्रमा २५० मिटरको पदमार्ग रु १० लाख ३४ हजारको लागतमा निर्माण गरिएको छ । पदमार्ग निर्माणका लागि प्रदेश सरकारको रु नौ लाख २९ हजार र स्थानीयको रु एक लाख पाँच हजार खर्च भएको छ । पदमार्गबाट ३५० घरधुरी लाभान्वित भएका छन् । भानु नगरपालिका–१२ र १३ स्थित बयापानी भञ्ज्याङदेखि कोटकाली भयरथान हुँदै मिर्लुङकोट जाने २९५ मिटर पदमार्ग रु १२ लाख ५५ हजारमा निर्माण सम्पन्न भएको छ । पदमार्गका लागि प्रदेश सरकारको रु नौ लाख ५२ हजार र स्थानीयवासीको रु तीन लाख तीन हजार लगानी भएको छ ।

भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले पदमार्ग निर्माण भएसँगै स्थानीयवासीलाई हिँडडुलमा सुविधा पुगेको जानकारी दिनुभयो । “पदमार्र्ग निर्माण नहुँदा आवातजावतमा समस्या हुन्थ्यो, अब भने सहज भएको छ,” थापाले भन्नुभयो ।

संविधान दिवसमा सरसफाइ

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज दमौलीमा बजार सरसफाइ गरिएको छ । संविधान दिवस मूल समारोह समितिको निर्णयबमोजिम तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको आयोजनामा बजार सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सबैलाई आह्वान गर्नुभयो । दिवसको अवसरमा जिल्लामा विविध कार्यक्रम आयोजना गरिएकाले यसलाई सफल पार्न सबै जिल्लावासीलाई वाग्लेले अनुरोध गर्नुभयो ।

सरसफाइ कार्यक्रममा समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायत सहभागी हुनुभएको थियो । संविधान दिवसको अवसरमा जिल्लामा रक्तदान, वक्तृत्वकला प्रतियोगिता, फलफूल वितरण, प्रभातफेरीलगायतका कार्यक्रम आयोजना गरिएको समन्वय अधिकारी प्रेमराज गिरीले जानकारी दिनुभयो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया