सिमरामा खुल्यो बाइक/स्कूटर उद्योग, चीनको लगानी

४ बर्ष अगाडि

बाराको सिमरामा विद्युतीय सवारी साधन जोड्ने उद्योग (एसेम्बल प्लाण्ट) खुलेको छ । जितपुर सिमरा उपमहानगरपालिका २३, परवानीपुरमा चिनियाँ लगानीको प्लाण्ट खुलेको हो । 

चीनको ‘जिआन्ट कार इण्डष्ट्रिज प्रालि’को प्लान्ट सञ्चालन भएपछि जुलुन ब्रान्डको सवारीसाधन एसेम्बल गर्न शुरु भएको छ ।

गत वैशाखदेखि उद्योगको भौतिक पूर्वाधार विकास गरी जेठदेखि उद्योगले सवारी साधन एसेम्बल गर्ने काम सुरु गरेको उद्योगका लेखापाल गोविन्द कार्कीले बताए।

उनका अनुसार प्लान्टमा अहिले स्कुटर, बाइक र इ–रिक्सा एसेम्बल भइरहेको छ।

सरकारले इलेक्ट्रोनिक्स गाडीहरूको आयात र एसेम्बलमा सकारात्मक कदम चालेकोले विदेशी लगानीकर्ता नेपालमा इलेक्ट्रोनिक्स गाडीको कारोबारमा चासो देखाएका हुन्। 

उक्त उद्योगमा एसेम्बल भएको जुलुन ब्राण्डको स्कुटरको मोल एक लाख २५ हजार र मोटरसाइकलको मोल साढे दुई लाख पर्छ । सोही कम्पनीले ३ लाखदेखि साढे ४ लाख पर्ने विद्युतीय रिक्सा पनि तयार गरीरहेको छ । 

सो कम्पनीका स्कूटर, बाइक चार घण्टा चार्ज गरेपछि ८० किलोमिटर गुड्ने र विद्युतीय रिक्सा एकपटक चार्ज गरेपछि १ सय २० किलोमिटर गुडने कम्पनीले जनाएको छ। 

कम्पनीले वीरगंज, हेटौँडा, भरतपुर, भैरहवा, नेपालगञ्ज, इटहरी, काठमाडौँलगायतमा शोरुम पनि सञ्चालनमा ल्याइसकेको छ। 

४ करोड ९० लाख रुपैयाँको पुँजीमा सुरु गरिएको प्लान्टले चाँडै चार पांग्रे सवारीसाधन पनि एसेम्बल गर्नेगरी यातायात व्यवस्था विभागबाट स्वीकृति लिने प्रक्रिया थालेको कम्पनीका लेखापाल कार्कीको भनाई छ। उद्योगमा ४० जनाले रोजगारी पाएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया