अब एक वर्षभित्रै मेलम्ची खानेपानी, चिनियाँ कम्पनीसँग भयो सम्झौता

४ बर्ष अगाडि

काठमाडौं । मेलम्ची खानेपानी आयोजना एक वर्षभित्र नै सम्पन्न गर्ने सहमती भएको छ । आइतबार नेपाल सरकार र चिनियाँ कम्पनी सिनो हाइड्रोबीच बाँकी सुरुङमार्गको काम सम्पन्न गर्न सम्झौता भएको हो । 

चिनियाँ कम्पनी सिना हाइड्रोले असोज २६ गतेबाट काम सुरु गर्ने र १२ महिनाभित्र नै सम्पन्न गर्ने बताइएको छ । आयोजनाले समय अगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने सम्झौतामा उल्लेख गरिएको छ । 

 छिटो काम सकेमा प्रतिदिन १२ लाख ७५ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताए । यदि काममा ढिलाई भए पनि सिनोले दिनमा १२ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्नेछ ।

सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ ।

आयोजनाका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्तका अनुसार सिनोसँग सम्भवतः केही दिनमै हेडवर्क्सतर्फको कामका लागि सम्झौता हुनेछ । कम्पनीले सुरुङतर्फ ८५ करोडमा ठेक्का सकारेको छ । हेडवक्सतर्फ पनि २९ प्रतिशत बिलोमा गएर सिनोले ९० करोडमा ठेक्का पाउँदैछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया