मनलाग्दी गर्ने  विमान कम्पनीलाई कारबाहीको दायरामा ल्याइदै

५ बर्ष अगाडि

    
    काठमाडौँ । उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको दायरामा ल्याउने भएको छ । 

    अनुमति लिँदा कुनै एक विमानस्थललाई आधार बनाएर उडान गर्ने भनिए पनि अधिकांश विमान काठमाडौँमा नै केन्द्रित भएपछि प्राधिकरण कारबाहीका लागि अग्रसर भएको हो । 

    प्राधिकरणले यही असार १७ गतेभित्र तोकिएको शर्त पूरा नगर्ने विमान कम्पनीलाई कारबाही गर्ने आशयको पत्र पठाएको छ । 

    प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले वायु सेवा सञ्चालन प्रमाणपत्रमा उल्लेख भएअनुसारको शर्त पालना नगर्नेलाई कारबाही गरिने बताए ।  । 

    अधिकांश विमान कम्पनीले उपत्यका बाहिरका विमानस्थललाई बेस बनाएर उडाउने तथा बिसान गर्ने प्रतिबद्धता जनाएका छन् । तर सो प्रतिबद्धता पालना हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशानका लागि स्थान अभाव रहेको, जहाजको संख्या थपिँदै जाँदा उडान तथा अवतरणमा समेत समस्या पैदा भएको छ । 

    विमानस्थलमा आन्तरिकतर्फ ३० वटा जहाज पार्किङ गर्न सकिन्छ । यस्तै अन्तर्राष्ट्रियतर्फ छवटा मात्रै विमान पार्किङ गर्न सकिने अवस्था छ । 

    प्राधिकरणले उडान अनुमति लिँदा गर्छु भनेर जनाएको प्रतिबद्धता पालना गर्नुपर्ने र त्यसमा कुनै पनि तलमाथि हुन नसक्ने जनाएको छ । नयाँ नियमानुसार बुद्ध एयरले विराटनगर विमानस्थलमा पार्किङ गर्नुपर्नेछ । यस्तै श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा पार्किङ गर्नुपर्नेछ । 

    यस्तै उडान तथा अवतरणलाई व्यवस्थित बनाउन निजी वायुसेवा प्रदायकलाई जिम्मेवार बनाउन लागिएको प्राधिकरणले जनाएको छ । 

    उपमहानिर्देशक पोखरेलले भने एओसीप्राप्ति कुन सर्तमा छ र उनीहरुले त्यो पालना गरेका छन् की छैनन्, यदि नगरेका भए अब कारबाहीको भागिदार बन्नुपर्छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि यही असार १७ गतेदेखि लागू हुनेगरी सम्बन्धित विमान कम्पनीलाई परिपत्र गरेको छ । 

    परिपत्रलाई अटेरी गरे सम्बन्धित विमान कम्पनीको उडान रद्द गरिनेछ । जस्तो कुनै वायुसेवा कम्पनीले चार वटा विमानमध्ये दुई वटा उपत्यका बाहिर क्षेत्रीय बेस बनाउने भनेर अनुमति लिएको छ भने सोहीअनुसार नै नियम पालना गर्नुपर्छ । 

    निजी वायुसेवा प्रदायले पनि प्राधिकरणको नियमलाई भने कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले विमानस्थलको अवस्था, पार्किङ क्षमता र उडान तथा अवतरणको अवस्थालाई हरेर नै प्राधिकरणले परिपत्र गरेको भन्दै यसको पालना गर्ने जनाएका हुन् । 

    यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार अहिले आफूहरुको आठ विमान रहेको र ती सबै विमान सबै काठमाडौँमै पार्किङ गर्ने अनुमति लिएको बताए ।  

    सहजीकरणका लागि केही विमान उपत्यका बाहिर पनि पार्किङ गर्न सकिन्छ, त्यसमा कुनै पनि प्रकारको समस्या छैन”, व्यवस्थापक राईले भन्नुभयो । 

    यति एयरको छ वटा जेटस्ट्रिम र दुई एटीआर विमान छन् । थप विमानका सम्बन्धमा प्राधिकरणले जुन खालको स्वीकृति दिन्छ सोहीअनुसार व्यवस्थापन गरिने व्यवस्थापक राईको भनाइ छ ।

    बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले आफ्ना कम्पनीका सबै विमानको बेस काठमाडौँ नै रहेको बताए ।  आगामी दिनमा विमान थपिएको अवस्थामा एओसीको मापदण्डअनुसार विमान व्यवस्थापन गरिने उनेको  भनाइ छ । 

    बुद्ध एयरसँग हाल थपिन लागेको एक विमानसँगै नौ वटा एटीआर र दुई जेटस्ट्रीम विमान छन । यीमध्ये ६ एटीआर–७२ र दुई एटीआर–४२ विमान छन् । 

    श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले आफ्ना चार विमानमध्ये दुई वटा जहाजको बेस काठमाडौँ र दुईको उपत्यका बाहिर रहेको बताए । 

    उपत्यका  बाहिर बेस रहने गरी अनुमति लिएका दुई विमान सोही स्थानमा नै पार्किङ गरिने मानन्धरको भनाइ छ । 

    उहाँका अनुसार विराटनगर या नेपालगञ्जमध्ये एक गन्तब्यमा उडान बेस बनाइने र त्यसका लागि प्रक्रिया थालिएको छ । श्री एयरलाइन्ससँग ७० सिट क्षमताका दुई र ५० सिट क्षमताका दुई गरी चार जेट इञ्जिन विमान छन् । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालन विभागका प्रमुख सुरेशमान सिंहले पनि असार १७ गतेदेखि लागू हुने गरी विमान कम्पनीलाई पत्राचार गरिएको र बाध्यकारीरुपमा कार्यान्वयन गर्नैपर्ने बताए ।  

    अनुमति लिँदा जुन विधि र शर्त पालना गर्छौं भनेर प्रतिबद्धता जनाएका छन्, त्यो पालना हुनैपर्ने सिंहको भनाइ छ । उनले भने जुन विमान कम्पनीले जुन स्थानका लागि भनेर  स्वीकृति लिएको छ, सोही स्थानबाट उडान तथा अवतरण गर्ने नियम पालना गर्नैपर्छ, त्यसमा तलमाथि हुन सक्दैन ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया