चावहिल–बौद्ध–जोरपाटी सडकका ठेकेदारलाई कारवाही गर्ने तयारी

५ बर्ष अगाडि


    काठमाडौँ । चावहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजलको सडक बिस्तारका लागि ठेक्का भएको वर्षौँ बित्दासमेत काम सम्पन्न नभएपछि समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग गरिएको छ ।

    समता मानव अधिकार तथा नागरिक समाजले आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको ज्ञापनपत्रमा छिटो सडक बिस्तार नगर्दा वर्षामा पानीको दह जमी सवारी एवं पैदल यात्रुको आवागमनमा पनि असहज भएको जानकारी गरायो । घाम लागेका बेला धुलोले सडकमा हिँड्न नसकिने ज्ञापनपत्रमा उल्लेख छ ।

    यसले गर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पुगेको समाजले जनाएको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले सडक विस्तारका विषयमा अध्ययन गरी निर्माण व्यवसायी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाए । 

    ज्ञापनपत्रमा केही घर अझै नभत्किएको, विद्युत्, टेलिफोन र केवलको तार नहटाइएकाले छिटोभन्दा छिटो साइड क्लियर गरी बिस्तारको व्यवस्था मिलाउन माग गरिएको समाजका अध्यक्ष नोर्साङ शेर्पाले बताए । 

    तीन खण्डमा ठेक्का दिई यो सडक बिस्तारको काम भइरहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । तीनै खण्डका निर्माण व्यवसायीको समय सकिएकाले म्याद थप गरिएको आयोजना प्रमुख दीपक केसीले जानकारी दिए ।  

    साइड क्लियर गर्न अदालतमा मुद्दा परी अन्तरिम आदेश भएकाले काममा बाधा पुगेको उनको भनाइ छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया