पुल बनेपछि आवागमनमा सहज

४ बर्ष अगाडि

चितवनको इच्छाकामना गाउँपालिका– ६ तुन्तेसका बलबहादुर घर्तीलाई बर्खा लागेपछि चिन्ताले सताउथ्यो । 

बिरामी पर्दा स्वास्थ्य चौकी, किनमेलका लागि बजार र आवश्यक सेवा लिन वडा कार्यालय कसरी जाने भन्ने चिन्ता हुन्थ्यो । बर्खामा पानी परेपछि ठाड खोला क्षणभरमै उर्लिन्छ, खोला तर्न सकिँदैन । बजार, वडा कार्यालय र स्वास्थ्यचौकी जानका लागि छोटो दूरीको बाटो नै ठाड खोला पार गरेर जानु हो । अब भने उनलाई त्यो चिन्ता हटेको छ । किनकी बाटो अवरोध गर्ने ठाड खोला पुलमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।

उनले भने, “जब बर्खा लागेपछि चिन्ताले सताउथ्यो, किनमेलका लागि बजार जान, वडा कार्यालय र बिरामी हँुदा स्वास्थ्य संस्थासम्म जाने बाटो ठाड खोलाले छेकिदिन्थ्यो, अब भने यी समस्याबाट मुक्ति मिलेको छ ।” अर्का स्थानीयकुमार घर्तीले पनि पुल निर्माणपछि खुशीको सीमा नै नरहेको बताए । पुल निर्माणका लागि सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिए ।
   
पुल निर्माणपछि वीरबहादुर र कुमार जस्तै २६५ घरका एक हजार ३२५ जना प्रत्यक्ष लाभान्वित भएका छन् । पुल निर्माण समितिका अध्यक्ष वीरबहादुर गुरुङका अनुसार २६५ घरधुरीका बासिन्दाबाहेक आसपासका वडा नं २ का हुस्ती, काउले र वडा नं ७ का दाहाखानीका बासिन्दा पनि यस पुलबाट लाभान्वित हुनेछन् । 

प्राविधिक कार्यालय चितवनबाट रु १७ लाख ६९ हजार ३० रुपैयाँ ६४ पैसा, गाउँपालिकाबाट रु एक लाख ९५ हजार हजार, स्थानीय श्रमदानबाट रु ६४ हजार ९ सय ७ पैसा, टिबिएसयु संस्थाबाट वस्तुगत सहयोग र सहभागी नेपाल संस्थाको सामाजिक तथा प्राविधिक सहयोग गरी कूल रु ३३ लाख २५ हजार ८८९ लागतमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पुलको लम्बाइ ६६ मिटर लामो रहेको छ ।

वडाध्यक्ष भूपेन्द्र चेपाङका अनुसार यसअघि यहाँका बासिन्दाले बर्खायाममा किनमेलका लागि बजार, बिरामी हुँदा स्वास्थ्य संस्था र वडा कार्यालयसम्म जान समस्या भोग्दै आएका थिए । गाउँपालिकाको विकट स्थानमा रहेको यहाँ चेपाङ, घर्ती र गुरुङ समुदायको बसोबास रहेका छन् । पुल निर्माण सम्पन्नपछि निर्माण समिति र सहयोगी संस्थाले वडाध्यक्ष भूपेन्द्र चेपाङ र स्थानीयको सहभागितामा सार्वजनिक सुनवाईसमेत सम्पन्न गरेको स्थानीय समाजसेवी तथा पुल निर्माणमा सहयोगी भूमिका निर्वाह गरेका यामबहादुर गुरुङले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया