यसरी सिँगारिएको छ काठमाडौँ

४ बर्ष अगाडि

‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मित्रता’, ‘नेपाल चीन मित्रता विशाल गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ ।’ चिटिक्क सिँगारिएको काठमाडौँको सडकमा बनाइएको विभिन्न स्वागत गेटमा उक्त नारा लेखिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको छ । ढकमक्क फुलेको फूलले विमानस्थलको शोभा नै बढाइदिएको छ । विमानस्थलकै मूल गेटमा उहाँको स्वागतका लागि स्वागत द्वार निर्माण गरिएको छ । 

तीनकुने पार्कलाई फूलको बगैँचाले सजाइएको छ । यहाँको स्वागत द्वारको दुई छेउमा नेपाल र चिनियाँ राष्ट्रपतिको फोटो राखिएको छ । माथिल्लो भागमा पशुपतिनाथ, स्वयम्भूको तस्वीर छ । यहाँ राखिएको डिस्प्ले बोर्डमा पाटे बाघ, गैँडा, पाण्डाका तस्वीर छिनछिनमा देख्न सकिन्छ । 

नेपालका राष्ट्रपति भण्डारी चीनको भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँग भएको भेटघाट, उहाँको स्वागत र सम्मान गरिएका सुन्दर तस्वीर प्रदर्शनमा छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीसँग हात मिलाउँदै गर्नुभएको फोटो पनि छ । ग्रेटवाल र चिनियाँ आकर्षक शैलीका संरचना यहाँ देख्न सकिन्छ । 

लुम्बिनीको मायादेवी मन्दिर, पशुपतिनाथ, स्वयम्भू, जानकी मन्दिर, सेतो मछिन्द्रनाथको जात्रा, कुमारी, फेवातालको तस्वीर प्रदर्शनमा राखिएको छ । सडकको दायाँबायाँ खम्बामा नेपाल र चीनका राष्ट्रपतिको तस्वीर लहरै राखिएको छ । ठाउँठाउँमा नेपाली र चिनियाँ झण्डा प्रदर्शन गरिएको छ । सडकका विभिन्न क्षेत्रमा फ्लेक्समा नेपालका सुन्दर ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय क्षेत्रको फोटो राखेर आकर्षक बनाइएको छ ।

काठमाडौँको माइतीघर झिलिमिली बनाइएको छ । माइतीघर मण्डल रङरोगन गरी सुन्दर बनाइएको छ । सडकहरु चिल्ला पारिएका छन् । ट्राफिक सङ्केतलाई दुरुस्त पारिएको छ । उहाँको स्वागतका लागि सरकारी कर्मचारी, विद्यार्थीदेखि आम नागरिक प्रतीक्षारत छन् । सरकारी कर्मचारीले राष्ट्रिय पोशाकमा सजिएर सीको स्वागतको तयारी गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया