काठमाडौँ उपत्यकामा सफाइ अभियान

४ बर्ष अगाडि

‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ बडादशैँका समयमा पनि काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी छ ।  

वाग्मती सफाइ महाअभियानको ३३५ औँ हप्तामा गुह्येश्वरीअघिको नदी किनारमा आज सफाइ गरियो । सफाइमा १० संस्थाका २०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन । 
 
सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ११ का वडाध्यक्ष हीरालाल तण्डुकारलगायत अभियानकर्मीको पनि सहभागिता थियो । 
 
रुद्रमती सफाइ अभियानको २८८ औँ हप्तामा रातोपुल क्षेत्रमा सफाइ गरियो । दशैँका कारण अभियानकर्मीको कमै सहभागिता रहेकाले साङ्केतिक रुपमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए । 
 
विष्णुमती सफाइ अभियानको २६२ औँ हप्तामा टोखा नगरपालिका वडा नं ९ को नदी र सडक क्षेत्रमा सफाइ गरियो । दशैँको समय भए पनि सफाइमा उल्लेख्य अभियानकर्मीको सक्रियता थियो । सफाइबाट दुई टन फोहर व्यवस्थापन गरिएको संयोजक शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए । 
 
तिलगङ्गास्थित वाग्मती सफाइको २३५ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी सात डोको फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले बताए । आलोकनगर सफाइको १३२ औँ हप्तामा वाग्मती नदी किनारको सिद्धिविनायक शोभाभगवती लोकेश्वर महादेव मन्दिरअघिको क्षेत्रमा सफाइ गरियो । जनचेतनामूलक अभियानसहित त्यस क्षेत्रमा सफाइ गरिएको संयोजक प्रमिला पौडेलले सुनाए । 
  
चक्रपथ– बाफल खण्ड सफाइको ११४ औँ हप्तामा बाफलबाट स्यूचाटारसम्म सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । सफाइमा ७० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

यसैगरी काठमाडौँ उपत्यकाका चक्रपथको उत्तरी खण्ड, गुह्येश्वरीमाथिको वाग्मती, सुन्दरीघाट, गोदावरीखोला, मनोहरालगायत स्थानमा पनि सफाइ भएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ अभियान शुरु भएपछि हाल देशभरका १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।  चाडपर्वलगायत महत्वपूर्ण दिन शनिबार परे पनि प्रत्येक हप्ताको सफाइ रोकिएको छैन । अभियानले देशव्यापी जागरणको स्वरुप लिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया