राष्ट्रपति सीसँग देउवा र दाहालले एक्लाएक्लै भेटवार्ता गर्ने

४ बर्ष अगाडि


दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक्लाएक्लै भेट्ने भएका छन्।

सभापति देउवाको सचिवालयले जनाएअनुसार सी र देउवाबीच आजै साँझ भेट हुनेछ।

‘बेलुकी सवा ७ बजे भेटवार्ता तय भएको छ,’ देउवाका सहयोगी भानु देउवाले सेतोपाटीसँग भने, ‘राष्ट्रपति सीसँगको भेटवार्तामा कांग्रेसका पदाधिकारी पनि सहभागी हुने कुरा थियो तर मिलेन। अब सभापतिले मात्र भेटवार्ता गर्नुहुन्छ।’

राष्ट्रपति सीको सम्मानमा  राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी छन्। रात्रीभोज सुरू हुनुअघि सोही होटलमा देउवासँग भेटवार्ता हुने कार्यक्रम तय भएको हो।

राष्ट्रपति सी र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री प्रचण्डबीच आइतबार बिहान भेटवार्ता हुनेछ।

प्रचण्डका प्रेस सहयोगी बिष्णु सापकोटा ‘जुगल’ का अनुसार  प्रचण्ड र सीबीच आइतबार बिहान सोल्टी होटलमा कुराकानी हुने गरी समय मिलाइएको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया