भारत भ्रमणबाट के सन्देश लिएर नेपाल आउँदैछन् सि ?

४ बर्ष अगाडि

काठमाडौँ–चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको भ्रमण सकेर शनिबार नेपाल आउँदैछन् ।  सीको शनिवारदेखि दुई दिनको भ्रमणमा नेपाल र चीनबीच बीचमा महत्वपूर्ण छलफल हुने बताइएको छ । 

भारत भ्रमण लगत्तै हुन लागेको सीको नेपाल भ्रमणलाई दुई देशको बीचमा भएको छलफलले केही प्रभावित पार्ने विश्लेषणहरु भइरहेको छ । तर नकारात्मक भन्दा सकारात्मक प्रभाव पर्ने विश्लेषण भइरहेको छ । 

भारतको भ्रमणपछि मात्र नेपालको भ्रमण गर्ने इच्छा चीनको नै थियो । नेपालले चिनियाँ राष्ट्रपति सीलाई भ्रमण गराउन धेरै पहिलादेखि पहल गरिरहेको थियो । तर सीले भारतको भ्रमण तय गरेपछि मात्र नेपालको भ्रमण तय भएको हो ।

यसले गर्दा नेपाल–चीन बीच हुने छलफलमा मोदी र सीको भेटघाटले केही प्रभाव पार्ने सम्भावना धेरै रहेको बताइन्छ । भारत र चीन नेपालको सबभन्दा नजिकको छिमेकी देश हुन् ।  भारत र चीनका लागि नेपाल निकै रणनीतिक महत्वका देश हो । दुवै देशले नेपालमा आआफ्नो प्रभाव देखाउने प्रयत्न बेलाबेलामा गरिरहेको देखिन्छ ।

दुवै देशको सीमा नेपालसँग जोडिएको छ । त्यसमा भारत र नेपालबीच खुल्ला सीमा रहेको छ । त्यसले गर्दा नेपालमा भारतको प्रभाव अलिकति बढी छ । तर पछिल्लो समय चीनले पनि नेपालमा बीआरआइमार्फत आफ्नो गतिविधिलाई तीब्रता दिएको छ । दुई देशबीचमा रहेको नेपालका लागि चीन–भारतको सम्बन्धले धेरै ठूलो महत्व राख्छ ।

विदेश मामिलाका जानकार एवं प्रतिनिधिसभा सदस्य डा।दिपक भट्टले चीन–भारतको राम्रो सम्बन्धले नेपाललाई फाइदा हुने बताए । उनले भने, चीन र भारतबीच जति राम्रो सम्बन्ध हुन्छ, त्यति फाइदा नेपाललाई हुन्छ, र यो भ्रमणले त्यो कुराको पुष्टि हुन्छ ।’

दक्षिण एसियामै चीन लिडिङ भूमिका छ, दक्षिण एसियामा संलग्न राष्ट्रसँग चीनले आफ्नो राम्रो सम्बन्ध बनाउन चाहेको बताउँदै उनले भारतपछि हुन लागेको नेपालको भ्रमणले चीन र नेपालबीच राम्रो सम्बन्ध बनाउन सक्छ भनि विश्वास गर्न सकिने बताए । 

नेपालले दुवै देशसँग राम्रो सम्बन्ध बनाउन चाहन्छ र त्यो अनुसारको प्रयासहरु पनि भइरहेको बताउँदै उनले भारत–चीनको बीचमा नेपालको बारेमा सकारात्मक छलफल हुने आशा गर्न सकिने बताए । तीन देशको बीचमा त्रिपक्षीय सहकार्य हुने उनले बताए ।

भारतमा थिंक ट्यांकको रुपमा कार्यरत इन्स्टिच्युट अफ पिस एण्ड कन्फिलिक्ट स्टडीका फेलो प्रमोद जयसवालले चिनियाँ राष्ट्रपति सीले भारतको भ्रमणपछि मात्र नेपालको भ्रमण गर्नु रणनीतिक महत्वको विषय रहेको बताए । उनले भने, ‘चिनियाँ राष्ट्रपति सीले पहिला भारतको अनि मात्र नेपालको भ्रमण गर्नु ठूलो अर्थ राख्छ । चीन र भारतको बीचमा नेपाल रहेको छ दुवै देशका लागि निकै महत्वपूर्ण देश रहेको छ त्यसैले दुवै देशले नेपालको बारेमा आवश्य छलफल गर्नेछ ।’

 व्यापारको दृष्टिले नेपालभन्दा चीनका लागि भारत ठूलो हो, व्यापार तथा लगानीको विषयमा नेपाल–चीनको विषयमा हुने छलफलमा भारतको चासो आवश्य हुने उनले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया