फेवातालको बीचमा कोजाग्रत मेला

४ बर्ष अगाडि

पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ ।    प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा)का दिन सो मन्दिरमा पूजा गर्ने तथा दशैँमा प्रयोग गरिएको जमरा फेवाताल किनारामा सेलाउने प्रचलन छ । आजकै दिन मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलनसमेत छ ।

तालको बीचमा रहेका कारण दर्शनका लागि भक्तजनले डुङ्गा चढ्नु अनिवार्य भएकाले आज लाग्ने मेलामा डुङ्गा व्यवसायीलाई यात्रु ल्याउन लैजान भ्याइनभ्याइ भएको छ । आज मात्र सो मन्दिरमा लगभग एक लाख भक्तजनले दर्शन गर्ने तालबाराही मन्दिर संरक्षण तथा गुठी व्यवस्थापन समितिका सदस्य जुना अधिकारीले जानकारी दिए । कोजाग्रत पूर्णिमा भएका कारण बिहानैदेखि भक्तजनको अत्यधिक भीड लागेको उनले बताए। 

फेवाताल डुङ्गा व्यवसायी समितिले दुईवटा डुङ्गा जोडेर बनाएका ३५ वटा डुङ्गाका साथै अन्य डुङ्गाबाट भक्तजनलाई सेवा प्रदान गरिरहेको समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार फेवातालमा कूल ३६३ डुङ्गाले भक्तजनलाई सेवा दिइरहेका छन् । डुङ्गाबाट मन्दिर आवतजावतका लागि प्रतिव्यक्ति रु ६० तिनुपर्ने हुन्छ । पर्यटकीय नगरी पोखरामा आउने जो कोही पर्यटकले पनि यहाँको अवलोकन गर्न र देवीको दर्शन गर्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा तालबाराही मन्दिर रहेको होटल रानीवन अर्किड लेकसाइडका सञ्चालक एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए ।
    
माछापुच्छ«े हिमालको छाया देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडाशैलीको मन्दिर रहेका कारण यसको सौन्दर्य अत्यन्त मनमोहक छ । यो मन्दिर नेपालकै प्रमुख तीर्थस्थलमध्ये एक हो । अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण ग¥यो भन्ने यकिन तथ्य भने अmझै पनि अनुसन्धानको पर्खाइमा छ । विभिन्न तथ्यका आधारमा मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको पाइए पनि कतैकतै विसं १४४७ देखि नै यसको अस्तित्व रहेको अनुमानसमेत गरिएको छ ।

कास्कीका राजा कुलमण्डन शाहले उक्त मन्दिरमा खरको झुप्रो हालेर पहिलोपटक मन्दिर स्थापना गरेका थिए । किंवदन्तीअनुसार प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला रहेको र  त्यहाँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको हो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वास छ । तालबाराही देवी सन्यासीनीको भेषमा रातको समय मन्दिर वरपरको गाउँ पुग्दा कसैले पनि बास दिएनछन् तर एउटी बूढीआमाले बास बस्न दिएर रातमा आफूसँग भएको ढुटाको रोटी पनि खान दिइछन् ।

भोलिपल्ट आफू जाने बेलामा सन्यासीनीले बूढीआमालाई अब यहाँ जलमग्न हुन्छ सुरक्षित बस्नु भनिछन् । पछि ठूलो बाढी आएर  त्यहा जलमग्न भएछ र बीच भागमा ढिस्को मात्रै रहन गएछ । त्यही ढिस्कोमा ताल बाराही बसेको जनविश्वास छ । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । 

तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेकाले तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको अध्यक्ष  भुजेलले बताउनुभयो । तालमा देखिने माछापुच्छ्रे« हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेका छन् । तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै  तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया