चुनाव आफ्नो पक्षमा पार्न मदिराको सहारा, नेकपा प्यानलबाट उम्मेदवार बनेर काँग्रेस नेताको समर्थन ?

४ बर्ष अगाडि

काठमाडौं । अहिले विश्वभरका गैरआवासीय नेपाली काठमाडौंमा भेला भएका छन् । मंगलबारदेखि गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन हुन लागेकाले विश्वभरका एनआरएन प्रतिनिधि काठमाडौंमा भेला भएका हुन् । 
मंगलबारदेखि तीन दिनसम्म चल्ने विश्व सम्मेलनबाट नेतृत्व चयन गरिने हुँदा उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन उपायहरु अबलम्बन गरिरहेका छन् ।  हुन पनि विश्वभरबाट छानिएर आएका २५०० प्रतिनिधिले जम्मा ४२ जनाको कार्यसमिति चयन गर्नुपर्ने हुन्छ । त्यसमा नेतृत्वमा दाबी गर्नेमात्रै दुई सयको हाराहारीमा छन् । यसरी चर्को प्रतिस्पर्धा भएको एनआरएनमा मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन प्रयास गर्नु नौलो होइन । त्यसमा मत किनबेचदेखि मतदाता रिझाउन अनेकन ‘फन्डा’ भइरहेको छ । 

यसैक्रममा कोषाध्यक्षमा उम्मेदवार महेश कुमार श्रेष्ठलेपनि मतदाता रिझाउन मदिराको सहारा लिएका छन् । उनले सोमबार राति ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा मदिरासहितको भव्य भोजको आयोजना गरेका हुन् । सो भोजमा एनआरएन प्रतिनिधिका साथै उम्मेदवारहरुलाई बोलाइएको थियो । करीब ५०० जनाको लागि निम्ता दिइएको भएपनि हजार जना भन्दा बढी सहभागि भएपछि आयोजकलाई

भीड व्यवस्थापन गर्नै हम्मेहम्मे परेको थियो । पेय पदार्थको रुपमा वियरदेखि महंगा ह्वीस्कीसम्मको व्यवस्था गरिएको पार्टीमा मदिराको अत्याधिक खपत भएको एक सहभागीले आजको अर्थलाई बताए । 

उनका अनुसार आयोजकले अनुमान गरेर ल्याएको मदिराले नपुगेपछि पटक पटक तनाव भएको थियो । एक  नेपाली व्यवसायी भन्दै थिए–एनआरएनको मदिरा पियाइ चै चकित पार्ने हुँदो रैछ । आयोजकलाई नै हायल कायल पार्ने गरी खाइदिए ।

पाहुनाका लागि तयार राखिएको बारमा अत्याधिक मदिरा खपत भएपछि आयोजकले पटक पटक बाहिरबाट मदिरा मगाउनु परेको थियो । सुरुमा ब्ल्याक लेबलसहितको महंगा मदिराको व्यवस्था गरिएको भएपनि माग धान्नै नसकिने गरी खपत भएपछि पछि अर्ल्ड दरबारदेखि सस्तो गुणस्तरको मदिरा ल्याएर काम चलाइएको स्रोतको भनाई छ । 

कोषाध्यक्षका उम्मेदवार श्रेष्ठ सिटी मनि एक्सप्रेस जापानका अध्यक्ष तथा प्रमुख कार्यकारी अध्यक्ष हुन् । काँग्रेस निकट मानिने उनी नेकपा निकट मानिने कुमार पन्त समूहबाट चुनाव लड्न लागेका हुन् । उनै श्रेष्ठको पक्षमा माहोल खडा गर्न सिटी एक्सप्रेसको संस्थागत सहयोगमा श्रेष्ठले भोज आयोजना गरेका हुन् । 

रोचक त के छ भने नेकपा प्यानलबाट कोषाध्यक्ष लडेपनि श्रेष्ठको मदिरामय पार्टीमा काँग्रेस नेताहरुको समेत बाक्लो उपस्थिति देखिन्थ्यो । सो पार्टीमा काँग्रेस नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशशरण महत, बालकृष्ण खाँड लगायतको सहभागिता रहेको थियो । 

कुमार पन्त टिमबाट औसत उम्मेदवार मानिने श्रेष्ठले मदिराले प्रतिनिधिलाई झम्म बनाइदिएपनि भोट भने आउला नआउला त्यो भने हेर्न बाँकी नै छ ।  
यद्यपि कुमार पन्त टीमलाई कडा टक्कर दिनेगरी कूल आचार्यले पनि प्यानल सहित उम्मेदवारी दिने घोषणा गरेपछि पन्त तनावमा रहेको बताइन्छ । एक महिनाअघि नै निकै तामझामका साथ उम्मेदवारी घोषणा गरेका पन्त अहिले आचार्य आक्रामक रुपमा मैदानमा आएपछि रक्षात्मक अवस्थामा पुगेको एनआरएनभित्र चर्चा छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया